गोलरक्षकका लागि टाउको दुखाइ बन्दै विश्वकपको नयाँ बल ‘ट्रिओन्डा’
न्युयोर्क । यस विश्वकपमा उत्कृष्ट गोलरक्षकहरूले बारम्बार आफ्नो प्रभाव छाडेका छन्।
आफ्नो देशको डेब्यु खेलमा केप भर्डेका नम्बर एक गोलरक्षक भोजीन्हाले उत्कृष्ट प्रदर्शन गर्दा स्पेनले उनलाई छक्याएर गोल गर्न सकेन।
कुराकाओका गोलरक्षक एलोय रुमले १५ वटा प्रहार बचाउँदै कीर्तिमानको बराबरी गरे र उनको टोलीले विश्वकपमा आफ्नो पहिलो अङ्क जोड्न सफल भयो। इरानका अलिरेजा बेइरानभान्डले लगातार उत्कृष्ट बचाउ गर्दै बेल्जियमलाई गोलरहित बराबरीमा रोके।
यद्यपि, केही अन्तर्राष्ट्रिय गोलरक्षकहरू एउटै प्रकृतिका गल्ती गर्दै चुकेका धेरै उदाहरण पनि देखिएका छन्। इंग्ल्याण्डका जोर्डन पिकफोर्ड र सेनेगलका एडुआर्ड मेन्डी जस्ता चर्चित गोलरक्षकहरूले प्रहार गरिएको बलमा हात त पुर्याए, तर गोल हुनबाट रोक्न भने सकेनन्।
अल्जेरियाका लुका जिदानले अर्जेन्टिना र जोर्डनविरुद्धका छुट्टाछुट्टै खेलमा यसै गरी दुई पटक गोल खाइसकेका छन्।

इराकका गोलरक्षक अहमद बासिलले किलियन एम्बाप्पेको लामो दुरीको प्रहारलाई छोए तापनि रोक्न सकेनन्। यसै विषयलाई लिएर इंग्ल्याण्डका पूर्वगोलरक्षक जो हार्टले एउटा स्पष्टीकरण अघि सारेका छन्।
उनले भने, ‘विश्वकपमा यस्ता प्रकृतिका गोलहरू मैले निकै धेरै पटक देखिरहेको छु, त्यसैले पक्कै पनि यो फुटबलमा केही न केही गडबडी छ।’
के ‘ट्रिओन्डा’ फुटबलले साँच्चै त्यति धेरै फरक पार्न सक्छ त?
- ‘उनीहरू गोल होस् भनेरै बल बनाउँछन्’
क्यास्पर स्माइकलको बुझाइ पनि यस्तै छ। डेनमार्कका यी पूर्वगोलरक्षकले कुनै जोखिम नलिई प्रतियोगिता सुरु हुनुभन्दा धेरै अघिदेखि नै यो एडिडास बलसँग आफूलाई अभ्यस्त बनाएका थिए।
अक्टोबर २०२५ मा ‘ट्रिओन्डा’ सार्वजनिक भएपछि स्माइकलले यसै बलबाट अभ्यास गरेका थिए, यद्यपि उनको टोली चेक रिपब्लिकसँगको प्ले-अफ फाइनलमा पराजित भयो।
हाल सन्न्यास लिइसकेका स्माइकल बलहरूबिचको गम्भीर भिन्नताबारे जानकारी दिन सक्ने उपयुक्त व्यक्ति हुन्।
बीबीसी फुटबल डेली पोडकास्टमा बोल्दै उनले भने, ‘यस पटक यो बल निर्माण गर्दा जम्मा चारवटा प्यानल प्रयोग गरिएको छ। यसमा कुनै सिलाइ छैन, सबै प्यानललाई एकै ठाउँमा टाँसिएको छ।’
‘विभिन्न मौसम र हावाको चापसँग यसलाई जोडेर हेर्दा बलमा हावाको घर्षण कम हुन्छ। यसको अर्थ यो बल धेरै घुम्दैन, तर मैले यो बललाई केही सेकेन्डको सानो अंशले भए पनि छिटो भएको महसुस गरेको छु। सायद हामीले खेलमा त्यही कुरा देखिरहेका छौँ।’
‘केही गोलहरू यस्ता छन् जहाँ गोलरक्षकहरू बलको नजिक पुगेको तपाईंले देख्न सक्नुहुन्छ। जस्तै: क्रोएसियाले गरेको पहिलो गोलमा पिकफोर्ड, लियोनल मेस्सीविरुद्ध लुका जिदान र एम्बाप्पेविरुद्ध एडुआर्ड मेन्डीको अवस्थालाई लिन सकिन्छ।’
‘यस बलको मुख्य कुरा भनेकै हामी धेरै गोल भएको हेर्न चाहन्छौँ, त्यसैले उनीहरू गोल होस् भनेरै यस्तो बल बनाउँछन्।’
पक्कै पनि अहिलेसम्म धेरै गोलहरू भइसकेका छन्।
वास्तवमा, सन् २०२२ को विश्वकपको सम्पूर्ण समूह चरणमा पेनाल्टी बक्स बाहिरबाट जति गोल भएका थिए, अहिले त्यसको दोब्बर (२० वटा) गोल भइसकेका छन्।
ओप्टाको तथ्याङ्क अनुसार, गल्तीका कारण गोल हुने सङ्ख्या पनि बढ्दै गइरहेको छ।

संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा जारी यस विश्वकपमा अहिलेसम्म त्यस्ता ११ वटा गल्ती भइसकेका छन्। यो सङ्ख्या विगतका सातवटा विश्वकपको समूह चरणमा भएका गल्तीभन्दा धेरै हो।
प्रतियोगितामा टोलीको सङ्ख्या बढेसँगै अहिलेसम्म थप ६ वटा खेल खेलिएका भए तापनि गल्तीको यो सङ्ख्या निकै ठूलो वृद्धि हो।
‘उच्च स्तरको खेलमा गोलरक्षकले बल छुँदाछुँदै पनि गोल भएको तपाईंले कति पटक देख्नुभएको छ?’ हार्टले भने।
‘धेरै कमै मात्र, किनभने उनीहरू यति उत्कृष्ट हुन्छन्, एक पटक बलमा हात पुगिसकेपछि उनीहरू त्यसलाई बाहिर फालिदिन्छन्।’
‘यस प्रतियोगितामा मैले के देखेको छु भने, गोलरक्षकहरू काँधभन्दा माथिको उचाइमा बललाई छुइरहेका छन् तर रोक्न सकिरहेका छैनन्। त्यसैले यहाँ पक्कै केही गडबडी छ।’
- ‘गोलरक्षा सामान्य अन्तरको खेल हो’
एडिडासले यो बल तयार पार्न करिब साढे तीन वर्ष समय बिताएको थियो र अनुमानित ३०० वटा प्रयोगशाला परीक्षण गरेको थियो।
डिजाइनरहरूले हरेक परिस्थितिमा यसले राम्रो काम गरोस् भनेर विश्वकप आयोजना हुने १६ मध्ये सातवटा सहरमा यसको परीक्षण समेत गरेका थिए।
सार्वजनिक गर्ने क्रममा एडिडासले विश्वकपकै इतिहासमा सबैभन्दा कम अर्थात् चारवटा प्यानल प्रयोग गरेर यो बल निर्माण गरिएको कुरामा जोड दिएको थियो। यसलाई ‘जानीबुझी गहिरा सिलाइ लाइन’ र ‘देशका इम्बोस्ड सङ्केतहरूसँगै रणनीतिक रूपमा दबिएका रेखाहरू’ राखेर डिजाइन गरिएको एडिडासले जनाएको थियो।
एडिडासले भन्यो, ‘यसले बलको बाहिरी सतहलाई यस्तो बनाउँछ, जसले हावामा उड्दा हावाको घर्षणलाई समान रूपमा वितरण गरी बललाई हावामा स्थिर राख्न मद्दत गर्छ।’
‘भिजेको वा ओसिलो अवस्थामा बललाई ड्रिबल गर्दा वा प्रहार गर्दा यसमा भएका इम्बोस्ड सङ्केतहरूले बलियो पकड प्रदान गरी प्रदर्शनमा थप फाइदा पुर्याउँछन्।’
केही गोलरक्षकहरूले आफूलाई यस बलसँग छिट्टै ढालेको स्पष्ट देखिन्छ। तर, बल नघुमेको अवस्थामा धेरै गोलरक्षकहरूलाई सही समय र बलको दिशा बुझ्न कति गाह्रो भइरहेको छ भन्ने कुरालाई हार्टले प्रकाश पारेका छन्।
त्यसै गरी, स्माइकलको अनुभवमा ‘यस बलको मुख्य कुरा यसको गति नै हो’।
लेस्टर सिटी र सेल्टिकका पूर्वगोलरक्षकले भने, ‘यो बल धेरै हल्लिँदैन, तर प्रहार गर्दा यसको गति भने अलिकति फरक हुन्छ।’
‘यो अन्तर निकै सानो छ, तर यति नै पर्याप्त हुन्छ। गोलरक्षा भनेकै स-साना अन्तरहरूको खेल हो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : पदाधिकारीको मतदान सकिएपछि विवाद, मत हाल्न पाउनुपर्ने भन्दै प्रतिनिधिको दबाब
-
४८ टोली सहभागी विश्वकपका कमजोरी देखाउने खेलहरू
-
कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते
-
पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते
-
रास्वपा पदाधिकारी छान्ने मतदान सकियो, केहीबेरमा नतिजा
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण