साउनदेखि ट्राफिक कारबाहीमा कडाइ
काठमाडौँ । काठमाडौँ उपत्यकाको चोक चोकमा आजभोलि प्रचार सामग्री सहितका विद्यार्थी, स्वयंसेवक र ट्राफिक प्रहरीहरू भेटिन्छन् । काठमाडौँ, भक्तपुर र ललितपुरमा सड्क सुरक्षा सम्बन्धी अभियानमा उनीहरू खटिएका हुन् । उनीहरुले सडकमा चालकलाई नियम नतोड्न आग्रह गर्दै तोडे कडा कारबाही हुनेतर्फ सचेत गराउँदै आएका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विमान परिचारिका अर्थात एयर होस्टेसलाई पनि सचेतना कार्यक्रममा परिचालन गरिरहेको छ । एयर होस्टेस परिचालनमा गिता एभिएसन सँग ट्राफिक प्रहरीले सहकार्य गरेको छ ।
रोबोटिक प्रविधिबाट पनि सचेतना गराउन ट्राफिक प्रहरीले एउटा निजी कम्पनीसँग सहकार्य गरिरहेको छ । ‘युनिट्री नेपाल’सँगको समन्वयमा रोबोटलाई ‘प्रोग्रामिङ’ गर्ने काम भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । उनले भने, ‘रोबोटिक प्रविधिबाट जेब्रा क्रसिङ्गमा बाटो काट्न र रातो बत्तीको पालना गराउन यात्रु र चालकलाई सिकाउने हाम्रो योजना छ ।’
सुधन गुरुङ गृहमन्त्रीमा पुनर्बहाली भएसँगै उनकै निर्देशनमा ट्राफिक प्रहरीले अभियान सुरु गरेको हो । गुरुङ जेठ २६ मा पुनर्बहाली भएका थिए । सचेतना अभियान असार महिनाभर चल्ने एसपी सुवेदीले जानकारी दिए । उनले भने, ‘काठमाडौँ उपत्यकाको हरेक घरमा ट्राफिक नियम पालना गर्नुपर्ने सन्देश पुग्ने गरी योजना बनाएर लागु गरेका छौँ ।’
घर घरमा सड्क सुरक्षा सम्बन्धी सन्देश पुर्याएसँगै ट्राफिक प्रहरीले साउन महिनादेखि ट्राफिक कारबाहीलाई कडाइपूर्वक लागु गर्ने भएको छ ।
सचेतना अभियान सफल बनाउन ट्राफिक प्रहरीले चलचित्रकर्मी, विद्यालय, स्वयंसेवक र नागरिक समाजसँग सहकार्य गरेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ, भक्तपुर र ललितपुरका विद्यालयहरूमा मुलगेटमा राख्न आग्रह गर्दै सड्क सुरक्षा सम्बन्धी २२ वटा बुँदा तयार गरेर पठाएको छ । एसपी सुवेदी भन्छन्, ‘ती बुँदाहरूमा सड्क प्रयोगकर्ताले कस्ता काम गर्नुपर्छ भनेर उल्लेख गरेका छौँ ।’
ट्राफिक प्रहरीले गीतको माध्यमबाट पनि सचेतना फैलाइरहेको छ । त्यस्तै, सामाजिक सञ्जाल मार्फत पनि सचेतना सामग्री उत्पादन र प्रसारण गरिएको एसपी सुवेदीले बताए ।
साउन महिनादेखि ट्राफिक कारबाहीलाई कडाइ पूर्वक लागु गर्ने योजना उपत्यका ट्राफिक प्रहरी कार्यालयले बनाएको छ । जरिवाना र कारबाहीमा कडाइ नगर्दा थप दुर्घटना बढ्न सक्ने निष्कर्ष निकालिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेले बताए । उनले भने, ‘हामी कारबाहीमा निर्मम हुनैपर्छ ।’
सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ अनुसार ट्राफिकले अहिले सवारी नियम उल्लङ्घन गर्ने सवारी र सवारी धनीलाई ५ सय देखी ५ हजार रुपैयाँसम्म मात्रै जरिवानाको व्यवस्था छ । त्यसलाई परिमार्जन गर्दै न्यूनतम ५ हजार देखी ५० हजार सम्म बनाउनुपर्ने एसएसपी काफ्लेले बताए ।
यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ संशोधन गर्दै जरिवाना बढाउने गरी कानुन बनाउन मस्यौदा तयार गरेको छ । मस्यौदा अघि बढाउने गरी छलफल भइरहेको विभागका अधिकृतहरू बताउँछन् ।
एसएसपी काफ्ले पनि सवारी नियम उल्लङ्घन गर्नेहरूसँग ‘हेभी फाइन’ लिने गरी कानुन संशोधन गर्नुपर्ने बताउँछन् । रातोपाटीसँग काफ्लेले भने, ‘थोरै जरिवाना हुँदा नियम उल्लङ्घन बढेको छ, त्यसमा ५ देखी ५० हजार राख्नुपर्ने गरी ऐनमा नै परिवर्तन गर्नुपर्छ ।’
अहिले नियम उल्लङ्घन गर्दा एकछिन सचेतना कक्षा लिएर ५ सय तिरे भइहाल्छ भन्ने मानसिकता रहेको काफ्लेले बताए । उनले भने, ‘त्यस्तो मानसिकता परिवर्तन गर्नुपर्ने देखिन्छ ।’ अन्तर्राष्ट्रिय अभ्यास पनि धेरै जरिवाना लिने नै रहेको काफ्लेले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
-
मधेसमा आँप खेतीकाे क्षेत्रफल बढे पनि उत्पादन घट्यो
-
रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित
-
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको अपिल, प्रधानमन्त्रीसँग सार्वजनिक जवाफको माग
-
बैंकिङ कसुर मुद्दामा १ करोड ४३ लाख बिगो भएका आरोपी पक्राउ
-
रास्वपा महाधिवेशन प्रतिनिधि धर्नामा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण