पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
कास्की । अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको बसाइ अवधि लम्ब्याउने उद्देश्य सहित चक्रीय पदमार्ग निर्माण गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा पर्ने घान्द्रुक गाउँ अन्नपूर्ण आधार शिविर र घोरेपानी–पुनहिल पदयात्राको प्रवेशद्वारका रूपमा परिचित छ ।
प्राकृतिक सौन्दर्य, हिमाली दृश्य र गुरुङ समुदायको मौलिक संस्कृति एकै ठाउँबाट अनुभव गर्न सकिने गरी निर्माण गरिएको पाँच किमी ५०० मिटर लामो पदमार्गले घान्द्रुकलाई थप आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र अन्नपूर्ण गाउँपालिकाको संयुक्त रु २५ लाख लगानीमा निर्माण गरिएको पदमार्ग पुरानो चौपाया हिँड्ने बाटोलाई स्तरोन्नति गर्दै ढुङ्गा छापेर तयार गरिएको हो । पदमार्ग निर्माणसँगै पर्यटकले वरपरका प्राकृतिक तथा सांस्कृतिक सम्पदासम्म पुग्ने नयाँ अवसर पाउनेछन् ।
समुद्री सतहबाट करिब एक हजार नौ सय ४० मिटर उचाइमा रहेको घान्द्रुक अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने नेपालको चर्चित पर्यटकीय गाउँ हो। यहाँबाट अन्नपूर्ण दक्षिण, हिमचुली, माछापुच्छ्रे लगायतका हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।नवनिर्मित चक्रीय पदमार्ग खोलोभ्रों बसपार्कबाट सुरु भएर वडा कार्यालय, कोटगाउँ, पधेरो, घट्टेखोला, बलाचे पार्क, देउराली, बुद्ध पार्क, मेश्रम बराह, नेगु, चिया बगान र गैरीगाउँ हुँदै पुनः बसपार्कमै आएर टुङ्गिन्छ ।
रोधी क्लब घान्द्रुकका वरिष्ठ उपाध्यक्ष अमृत गुरुङका अनुसार पदमार्ग निर्माणको अवधारणा चार वर्षअघि तयार गरिएको थियो । पछिल्ला वर्षमा घान्द्रुक आउने पर्यटकको सङ्ख्या बढ्दै गए पनि अधिकांशले एक रात मात्र बिताएर फर्किने गरेकाले उनीहरूको बसाइ अवधि बढाउने उद्देश्यले योजना अघि बढाइएको उनले बताए । उनले भने,“घान्द्रुकमा पछिल्ला वर्षमा पर्यटकको संख्या उल्लेख्य बढेको छ। यहाँ आएका पर्यटकले गाउँ वरपर हाइकिङ गर्दै प्राकृतिक र सांस्कृतिक सम्पदाको अनुभव गर्न सकुन् भन्ने सोचका साथ चक्रीय पदमार्ग निर्माण गरेका हौँ। चार वर्षअघि सुरु भएको योजना अहिले पूरा भएको छ । यसले पर्यटकको बसाइ बढाउनुका साथै स्थानीय पर्यटन व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने विश्वास गरेका छौँ । ”
उनका अनुसार पदमार्गले पर्यटकलाई घान्द्रुकको प्राकृतिक सम्पदा मात्र होइन, ग्रामीण जीवनशैली, स्थानीय संस्कृति, चिया बगान, धार्मिक तथा ऐतिहासिक स्थल र वन क्षेत्रसँग पनि परिचित गराउनेछ । यसले हाइकिङ, प्रकृति अवलोकन, फोटोग्राफी तथा ग्रामीण पर्यटनका नयाँ सम्भावना विस्तार गर्ने अपेक्षा गरिएको छ ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले पर्यटन पूर्वाधार विस्तारलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउँदै घान्द्रुक चक्रीय पदमार्ग त्यसैको महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरे । उनले भने “पर्यटन क्षेत्रको दिगो विकास र स्थानीय आर्थिक समृद्धिलाई केन्द्रमा राखेर गाउँपालिकाले पर्यटन पूर्वाधार निर्माणलाई निरन्तरता दिएको छ । घान्द्रुक चक्रीय पदमार्गले यहाँको पर्यटनमा नयाँ आयाम थप्ने विश्वास गरेका छौँ। यसजस्तै अन्य महत्त्वपूर्ण पदमार्ग तथा पर्यटन पूर्वाधार निर्माणका लागि सङ्घीय सरकार, प्रदेश सरकार र सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिरहेका छौँ ।”
अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले पदमार्ग निर्माणमा स्थानीयवासीको उल्लेखनीय सहयोग प्राप्त भएको जनाउँदै योजनाको गुणस्तर र दिगोपनामा विशेष ध्यान दिइएको जानकारी दिए । उनले भने ,“घान्द्रुकमाथिको जंगल क्षेत्रमा पदमार्ग निर्माण भएपछि पर्यटकको बसाइ कम्तीमा एक दिन थप लम्ब्याउन सकिने अपेक्षा गरेका छौँ। अहिले पदमार्ग तयार भएको छ । अब शौचालय, चौतारी, सूचना बोर्ड, विश्रामस्थल र अन्य आवश्यक पूर्वाधार थप्दै लैजाने योजना छ । ”
घान्द्रुकमा वार्षिक रूपमा हजारौँ स्वदेशी तथा विदेशी पर्यटक आउने भए पनि उनीहरूको बसाइ छोटो हुने गरेको पर्यटन व्यवसायीको अनुभव छ । यहाँ आउने मध्ये केही पर्यटक पदयात्राका लागि जाने गर्छन् भने अधिकांश एक रात बसेर फर्किने गरेका छन् । नयाँ चक्रीय पदमार्ग सञ्चालनमा आएपछि पर्यटकले हिमालको दृश्य, गुरुङ संस्कृति, ग्रामीण परिवेश र प्राकृतिक सम्पदाको अनुभव लिन सक्ने भएकाले बसाइ अवधि लम्बिने अपेक्षा गरिएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण