शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

राप्रपा अध्यक्ष लिङ्देनलाई इतर पक्षको दोस्रो पत्र, कार्यकर्तालाई ‘गुन्डा’ भनेकोमा आपत्ति

बुधबार, ०४ भदौ २०८२, १७ : ४२
बुधबार, ०४ भदौ २०८२

सारांश

  • राप्रपाका असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको आन्तरिक समस्याबारे दोस्रो पत्र बुझाएका छन्।
  • उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवलशमशेर राणाले स्वेच्छाचारी गतिविधि, विधान मिचेको र कार्यकर्तालाई 'गुन्डा' भनेको भन्दै असन्तुष्टि जनाएका छन्।
  • पत्रमा पार्टी एकता र विधानको परिधिभित्र रहेर नेतृत्व बलियो बनाउनुपर्ने र लिङ्देनको नेतृत्वमा 'मन नपरेकालाई हटाउने' प्रवृत्ति बढेको आरोप लगाइएको छ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको आन्तरिक समस्याका विषयमा दोस्रो पत्र दिएको छ । 

पार्टीभित्र स्वेच्छाचारी गतिविधि गरेको, विधान मिचेर नेतामाथि कारबाही गरिएको तथा कार्यकर्तालाई ‘गुन्डा’ भनेको लगायत विषयमा उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री धवलशमशेर राणालगायतले असन्तुष्टि राख्दै पत्र बुझाएका हुन् । उक्त पत्र पार्टी कार्यालयमा बुधवार दर्ता गरिएको महामन्त्री राणाले बताए । 

यसअघि राणाले अध्यक्षको कार्यप्रति असन्तुष्टि प्रकट गर्दै साउन १८ गते पनि अध्यक्षलाई पत्र बुझाएका थिए । नयाँ पत्रमा पार्टी एकता र विधानको परिधिभित्र रहेर मात्रै नेतृत्व बलियो बन्न सक्ने उल्लेख गर्दै लिङ्देन नेतृत्वमा भने ’मन नपरेलाई हुकुमी शैलीमा हटाउने र अपमान गर्ने प्रवृत्ति’ मौलाएको आरोप लगाइएको छ।

पत्रमाका महामन्त्री राणाले २ हप्ता अघि लेखेको ध्यानाकर्षण पत्रमा कुनै प्रतिक्रिया नआएको उल्लेखसहित पार्टीभित्र स्वेच्छाचारी निर्णय र कारबाहीका कारण देशभर कार्यकर्तामा शङ्का र चिन्ता बढेको जिकिर गरिएको छ । 

यसैगरी राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठनको काठमाडौँ अधिवेशनमा गुटगत स्वार्थ देखिएको र ४० वर्षमुनिका युवालाई उद्घाटन सत्रमै ‘गुन्डा’ भन्ने अपमानजनक व्यवहार गरिएको पत्रमा उल्लेख छ । 

यसैगरी अनुशासन समितिको अध्यक्ष हटाउने वा नयाँ नियुक्त गर्ने निर्णय आधिकारिक तहबाट नभएको तर त्यसैबिच गलत निर्णयहरू गरिएको समेत उल्लेख गरिएको छ । 

पत्रमा भनिएको छ, ’स्वेच्छाचारिता र आतङ्कको परिवेशमा प्रजातन्त्र फस्टाउन सक्दैन। स्वतन्त्र सहभागिता सम्भव नभए महाधिवेशन निष्पक्ष र मर्यादित बन्न सक्दैन। गुटगत पक्षधरता र जथाभाबी विधि मिच्ने कार्यले राप्रपाको जनतामाझको छवि र राजनीतिक शक्तिलाई ठुलो क्षति पुगेको छ।’

पत्रमार्फत पार्टीलाई साझा प्रजातान्त्रिक संस्थाको रूपमा सञ्चालन गर्न, पार्टी एकतालाई सर्वोपरि राख्न, विधानअनुसार चार वर्षे अवधिमा महाधिवेशन सम्पन्न गर्न, महाधिवेशनमार्फत नेतृत्व चयन गरी विवाद समाधान गर्न माग गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप