सर्वोच्चको फैसला कार्यान्वयन : महानगरको घर बहाल कर अब वडामै
सारांश
- काठमाडौँ महानगरपालिकाले घर बहाल कर आफैँ सङ्कलन गर्ने निर्णय गरेको छ।
- सर्वोच्च अदालतले स्थानीय तहको अधिकारको पक्षमा फैसला गरेपछि महानगरले परिपत्र गरेको हो।
- अब काठमाडौँका घरधनी र संस्थाहरूले घर बहाल कर वडा कार्यालयमा बुझाउनुपर्नेछ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले घर बहाल कर (संस्थागत समेत) आफैँले सङ्कलन गर्ने भएको छ । लामो समयदेखिको अन्योल र कानुनी विवादलाई अन्त्य गर्दै सर्वोच्च अदालतले स्थानीय तहको अधिकारको पक्षमा फैसला गरेपछि महानगरपालिकाले सो निर्णय कार्यान्वयन गर्न आफ्ना सबै वडा कार्यालयहरूलाई परिपत्र गरेको हो ।
महानगरको राजस्व विभागका प्रमुख दीपक अधिकारीले सर्वोच्च अदालतको संयुक्त इजलासको फैसलाअनुसार बहाल कर सङ्कलन गर्न/गराउन सम्पूर्ण वडाहरूलाई निर्देशन दिँदै वडालाई पत्र पठाएका हुन् ।
नेपालको संविधानको धारा २२१ र अनुसूची–८ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले घर बहाल कर उठाउने अधिकार स्थानीय तहलाई प्रदान गरेको छ। तर, नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७४/१२/१२ को निर्णयले संस्थागत बहाल कर आन्तरिक राजस्व कार्यालयमार्फत उठाउने व्यवस्था गरेपछि विवाद उत्पन्न भएको थियो । एउटै कर दुई फरक सरकारी निकायले उठाउन खोज्दा करदाताहरूमा अन्योल छाएको थियो भने स्थानीय तहको अधिकारमाथि हस्तक्षेप भएको भन्दै यो विषय अदालतसम्म पुगेको थियो ।
यसै विवादमा मोरङको विराटनगर महानगरेको रिट निवेदन माथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको संयुक्त इजलासले मिति २०८२/०२/२० मा परमादेश जारी गरेको थियो ।
फैसलामा संविधान र कानुनबमोजिम घर बहाल कर सङ्कलन गर्ने अधिकार स्थानीय तहमा नै निहित रहेको स्पष्ट पार्दै यसमा कुनै पनि अवरोध नगर्न/नगराउन विपक्षीका नाममा आदेश दिएको थियो ।
महानगरको निर्देशन
सोही फैसलालाई आधार मान्दै महानगरपालिकाले मंगलबार नै सबै वडाहरूलाई परिपत्र गरेको हो । पत्रमा भनिएको छ, ‘सम्मानित अदालतको संयुक्त इजलासको फैसला बमोजिम त्यहाँ वडा अन्तर्गत करदाताहरूले तिर्नु/बुझाउनु पर्ने बहाल कर (संस्थागत बहाल कर समेत) सम्बन्धित वडा कार्यालयबाट सङ्कलन गर्नु/गराउनु हुन अनुरोध गरिन्छ ।’
यो निर्णयसँगै अब काठमाडौँ महानगरभित्रका सम्पूर्ण घरधनी तथा संस्थाहरूले घर बहाल कर सम्बन्धित वडा कार्यालयमा नै बुझाउनुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले संसदमा जवाफ नदिई पार्टी महाधिवेशनमा प्रतिक्रिया दिएको भन्दै आपत्ति
-
पर्सा र बाराका सीमा नाकामा गृहमन्त्रीको छड्के
-
रास्वपाले बालबालिकालाई पार्टी सदस्य बनाउने प्रस्ताव पारित गरेको भन्दै कांग्रेसको आपत्ति
-
विष्णु पौडेललाई तुरुन्त रिहाइ गर्न संसदबाट एमालेको माग
-
घरजग्गा कर, टहरा र सम्पत्तिलाई लिएर पूर्वसचिव खनाल विवादमा
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण