आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
अतीतबाट साभार

मेरो अभिव्यक्ति यात्रा– ३

शनिबार, ०७ भदौ २०८२, १० : २७
शनिबार, ०७ भदौ २०८२

राजतन्त्र संवैधानिक भयो त भनियो, तैपनि मलाई त्यससँग डर लाग्न छाडेन । डन्ठे पुलिस देख्यो कि मलाई डर लाग्थ्यो । शाही सैनिक देख्दा त झन्डैजसो मेरो सातै जान्थ्यो । ती सत्ताका दमनकारी उपरकरण थिए । तीसँग डराउँदै भए पनि मैले सत्य बोल्ने यत्न गरिरहेँ । म एक आवेगी जीव हुँ— आफ्नो चित्तले खाएको निष्ठाप्रति समर्पित । हस्तक्षेपकारी क्षणमा म प्रायः उत्ताल आवेगद्वारा वशिभूत हुन्थेँ । त्यसो त अहिले पनि हुन्छु । त्यसैले लेख्दा र बोल्दाको घडीमा म परिणामको किञ्चित् पर्बाह गर्दिनथेँ । अहिले पनि गर्दिनँ । तर मेरो अभिव्यक्ति जब छापिएर आउँछ, कहिलेकाहीँ त आफ्नै शब्दवाणको निसानासँग आफूलाई डर लाग्छ । तर त्यो मेरो क्षणभङ्गुर डर हो । त्यो हठात् आउँछ, र त्यो खुरुक्क जान्छ । लेख्दाको घडीमा फेरि उही कुरा दोहोरिन्छ । उही उत्ताल आवेग, परिणामप्रति उही बिल्कुल बेपर्बाह । पहिले, मेरो अभिव्यक्ति बाहिर सार्वजनिक भएपछि शान्त मनोदशामा श्रीमतीका अनुहारको आतङ्कित भाव पढ्दा म भित्रभित्रै हल्लिन्थे । भावुक हुँदै म सोच्थेँ— ममाथि आश्रित दुई कलिला चिचिला छन् । कदाचित् मेरो जीवन बिचैमा तलमाथि पर्‍यो भने तिनको भविष्य के होला ? म श्रीमतीको अनुहारमा यही चिन्तातुर भाव पढ्थेँ । तर लेख्दा र बोल्दाको घडीमा पुनः उही पुरानै कुरा दोहोरिन्थ्यो । उही उत्ताल आवेग, उही परिणामको बिल्कल बेपर्बाह । 

०००

परम्परा वा सत्ताद्वारा थोपरिने सेन्सरसिप लेखकको विवेकमाथि बाह्य शक्तिको क्रीडा हो । त्यो देखिन्छ, त्यो बुझिन्छ । आफ्नो निष्ठाप्रति दृढ विश्वास छ र मृत्युको भय भयावह छैन भने डराउँदै भए पनि त्योसँग लड्न र आफ्नो निष्ठामा अड्न सकिन्छ । तर सेल्फ सेन्सरसिप ? यो भने औधी खतरनाक छ । कारण मूलतः दुईवटा छन् । ती हुन्—  भय र प्रलोभन । जहाँ भय हुन्छ, त्यहाँ प्रलोभन हुन्छ । जहाँ यी दुई तत्त्वले आलोचनात्मक विवेकलाई दमित तुल्याउँछन्, त्यहाँ मानिस कुरा चपाउन र कुरा लुकाउन थाल्छ । ऊ आफ्नो तुच्छ स्वार्थको तुलोमा शब्दहरू तौलिएर लेख्न थाल्छ । उसका दुईवटा जिब्रा हुन्छन्, एउटा राख्ने, अर्को फार्ने । उसको चिन्तन र चरित्रमा ढोङका पत्रपत्र हुन्छन् । र, अरुलाईसँगै ऊ आफैँलाई ढाँट्दै हिँड्छ ।

०००

बाउन्न साल आयो र नेकपा माओवादीको जनयुद्ध सुरु भयो । माओवादी जनयुद्ध सत्ताका लागि प्रेसको घाँटीमा सुर्काने कस्ने अलिकता कारण बन्यो, अलिकता निहुँ बन्यो । र, मुक्त अभिव्यक्तिको शैशवकालीन उमङ्गमाथि सत्ताको तरबार नाच्न थाल्यो । माओवादी विद्रोहलाई सत्ताले झर्रो प्रशासनिक समस्या ठान्यो । त्यसको सामाजिक, आर्थिक र सांस्कृतिक आधार र कारण होला कि भनी त्यसले रतिभर सोचेन । मूलधारे ढ्याके मिडिया जसोजसो बाहुन बाजे उसैउसै स्वाहाको बाटोमा लहसियो । स्वतन्त्र भनिने मिडिया झन्डैजसो सत्ताको अविवेक र अन्धवेगमा विलीन भयो । सत्ताका नजरमा माओवादी गतिविधिलाई असामाजिक अतिवाद मानियो । मिडियाले आँखा चिम्लेर सोही रागको रटना गर्‍यो । र, जालझेल, कपट, षड्यन्त्र र बन्दुकको बलले माओवादी विद्रोहलाई ठिक पार्ने लुते धन्दा सुरु भयो । यथास्थितिवादी सत्ताले माओवादीलाई आतङ्ककारी घोषित गर्नु बुझिने कुरा हो । त्यो सत्ताद्वारा गैरन्यायिक हत्याको शृङ्खलाको मञ्चन गरिनु पनि बुझिने कुरा हो । पक्राउ, यातना र बेपत्ताको निर्मम सिलसिला पनि बुझिने कुरा नै हो तर मिडियाले सत्ताका यी सबै आततायी कृत्यको मौन वा मुखर समर्थन गर्नुचाहिँ उसको घोषित प्रतिबद्धता र धर्मविपरीत कर्म हो तर जे नहुनु थियो, भयो त्यही नै ।

मिडियाले आफ्नो प्रतिबद्धता बिस्र्यो र आफ्नो धर्म छाड्यो । माओवादीको आरोपमा वा बहानामा फौजी शिविरद्वारा मानिस पक्राउ पर्छ ।  मिडिया त्यो देख्छ तर बोल्दैन । फौजी शिविरमा दारुण यातनाको हल्ला चल्छ । मिडिया त्यो हल्ला सुन्छ, तर बोल्दैन । बन्दी बेपत्ता पारिएको समाचारले सिङ्गो सहर काम्छ, तर मिडिया प्रायः सोधखोज गर्दैन, हस्तक्षेप गर्दैन । मिडियाका दृष्टिमा मानौँ माओवादी सरासर आतङ्ककारी हो— असामाजिक र मानवद्रोही । त्यसैले न्यायिक विधिले होस् या गैरन्यायिक विधिले, त्यो मारिन लायक छ । स्वतन्त्र अभिव्यक्तिका लागि भयानक सकसको याम थियो त्यो । मूलधारे मिडिया नै आततायी सत्ताको उन्मादमा विलीन भएपछि सत्ता नामक भीमकाय अजिङ्गरविरुद्ध कोे बोल्न सक्छ ? यदाकदा कन्दै कान्तिपुर बोल्यो, तर त्यो बोली केवल अरण्य रोदनतुल्य भयो । कान्तिपुरका पातामा जो बोले, ती सत्ताको आखेटमा परे । ती कोही भूमिगत भए, कोही विदेश भागे । सत्तापक्ष त यसै पनि निरङ्कुश र आतताती हुने नै भयो । संकटकालमा जनताका आँखा, कान र जिब्रो बन्ने धर्म थाम्नुपर्ने प्रतिपक्ष एमालेले सत्तासामु लम्पसार परेर देउवाकृत सङ्कटकाललाई घरीघरी काँध थाप्यो । अनि धन्दाजीवी मानव अधिकारवादीहरू नि ? तिनले पनि मौन भावमा र सभक्ति दमनकारी सत्ताका पाइला पछ्याए । झोलामा आतङ्ककारीको टाउको लिएर आउनु र त्यही झोलाभरि रकमको बिटो लिएर जानु— सत्ताले यसरी फर्मान जारी गर्‍यो । कुनै पनि धन्दावाल मानव अधिकारवादीले यो फर्मान गैरन्यायिक हो भनेन, यो अमानवीय हो भनेन । 

मेरो उपन्यास ‘जूनकीरीको सङ्गीत’मा जनजादी हुँ भन्ने माओवादीको जनपीडक कार्यशैलीमाथि स्यानो कटाक्ष गरिएको छ । माओवादी नेतागणलाई त्यो असह्य भयो । कमरेड किरणले ‘जूनकीरीको सङ्गीत’लाई ‘लामखुट्टेको भुनभुन’को संज्ञा दिए । त्यहाँसम्म कुरो ठिकै थियो । कमसेकम शब्दको प्रतिवाद शब्दले गरिएको थियो । तर कमरेड अध्यक्ष प्रचण्डले आफैँ लेखेर वा कुनै भक्तलाई लेख्न अह्राएर ममाथि भौतिक काराबाही समेत हुनसक्ने फर्मान जारी गरे ।

माओवादी र सत्ताबिचको भीषण घर्षणकालमा स्वतन्त्र अभिव्यक्तिप्रतिको चरम असहिष्णुतामा माओवादी राज्यको कडा प्रतिस्पर्धी बन्यो । मेरो चिन्तन र कर्मको तारिफ गर, मेरो जयगान गर, मेरो महिमा मण्डन गर— त्यो सब ठिक छ । तर मेरो चिन्तन र कर्मप्रतिको आलोचना, व्यङ्ग्य र कटाक्ष सर्वथा बेठिक छ । जो त्यो गर्छ, त्यसको चर्म छेदन हुन्छ । यो विद्रोही माओवादीको अकथित फर्मान हो । माओवादीले धेरैको त चर्म छेदन गरेरै छाड्यो । थाहा छैन मेरो चर्मचाहिँ कसरी जोगियो । मेरो उपन्यास ‘जूनकीरीको सङ्गीत’मा जनजादी हुँ भन्ने माओवादीको जनपीडक कार्यशैलीमाथि स्यानो कटाक्ष गरिएको छ । माओवादी नेतागणलाई त्यो असह्य भयो । कमरेड किरणले ‘जूनकीरीको सङ्गीत’लाई ‘लामखुट्टेको भुनभुन’को संज्ञा दिए । त्यहाँसम्म कुरो ठिकै थियो । कमसेकम शब्दको प्रतिवाद शब्दले गरिएको थियो । तर कमरेड अध्यक्ष प्रचण्डले आफैँ लेखेर वा कुनै भक्तलाई लेख्न अह्राएर ममाथि भौतिक काराबाही समेत हुनसक्ने फर्मान जारी गरे । ‘जूनकीरीको सङ्गीत’ शब्दमा लेखिन सक्ने सबैभन्दा कुरूप चिज हो भन्ने उनको निचोड थियो । अहिले पुष्पकमलमा रूपान्तरित तिनै प्रचण्ड र तिनको गण सत्तामा छन् । र, स्वतन्त्र अभिव्यक्तिमाथि निषेधको विषाक्त तरबार चलाउने ओलीको बोलीमा सुगा शैलीमा ती लोली मिलाइरहेका छन् ।

०००

ज्ञानशाही दमनकालमा भने मूलधारे मिडियाको भूमिका फरक भयो । प्रारम्भमा जब सम्पादकीय टेबुल मिसिनगनधारी फौजीको कब्जामा पर्‍यो, मिडिया किंकर्तव्यविमूढ भयो । तर शनैःशनैः पहिले प्रतीकात्मक भाकामा, पछि मुखर स्वरमा मिडिया बोल्न थाल्यो । अलि दिनपछि त मिडिया ज्ञानशाहीतन्त्रमाथि अरिङ्गालको बिच्केको गोलोझैँ झ्वाम्मै खनियो । देउवाकृत सङ्कटकाल र ज्ञानशाहीकृत फौजीतन्त्र मेरो अभिव्यक्तिका अविस्मरणीय क्षणहरू हुन् । स्वतन्त्र अभिव्यक्तिमाथि जब निरङ्कुश तरबार उठ्यो, व्यङ्ग्य र कटाक्षका माध्यमले प्रतीकात्मक अभिव्यक्ति दिन कुन्साङ काकाको जन्म भयो । समयको कथा कहन खोज्ने काकाले डराउँदै भए पनि बेलाको बोली बोल्ने चेष्टा गर्‍यो । जब ती दिन सम्झन्छु, भय र उमङ्गमिश्रित विचित्र भावले म त्यसैत्यसै द्रवित र पुलकित हुन्छु । 

०००

सुरु भयो अब संविधान लेखनको छलकारी एवं अन्तरिम संविधान प्रदत्त हकहरूको हरणकारी प्रक्रिया । भूकम्पको थर्कोले जनगण भयभीत थियो । यो मौका छोपेर यो छलकारी प्रक्रियाको नाम राखियो फास्ट ट्र्याक । संविधान लेखन प्रक्रियामा फास्ट ट्र्याकको अप्रकट अर्थ हो, चोरबाटोको कुटिल चलखेल । चोरबाटोका चटकशील अभिनयकर्मीहरू राष्ट्रवादको अन्धवेगी नशामा लट्ठ भएर फास्ट ट्र्याकमा हल्लिँदै संविधान लेख्न थाले । बलात् विधि मिच्दै, जनमतलाई ठाडै तिरष्कार गर्दै र विमतिका स्वरहरूलाई निर्ममता साथ कुल्चिँदै । संविधान लेख्ने कलम षड्यन्त्रको क्रीडामा पोख्त सनातनी शासकका हातमा थियो । निजहजुरहरूका एकाधिकारी एवं स्वेच्छाचारी हातमा । संविधान लेखनको कपटयुक्त हतारविरुद्ध उत्ताल आवेगसाथ मधेस आन्दोलन उठ्यो । यसबिच टीकापुर घटना घटित भयो, जहाँ अतिशय आक्रोशित भीडद्वारा केही प्रहरी अधिकारी र जबान मारिए । दुर्भाग्यवश, एउटा अबोध बालकको पनि वध भयो । र, आश्चर्य भयो— यथार्थ धरातलमा घटित घटनाक्रम जस्ताको तस्तै देख्ने र जो देखेको रिट्ठो नबिराई लेख्ने मिडियाको धर्म संविधान लेखनको व्यासासनमा बसेका सत्ताधारीहरूका निहित स्वार्थको झोलीमा विलुप्त भयो । र, पत्रकारिताको न्यूनतम आदर्श र संहिताबाट च्यूत भई मूलधारे मिडियाले टीकापुर घटनालाई सनातनी राष्ट्रवादको रूढ चस्माले हेर्‍यो । त्यो मूढाग्रही एवं संकीर्ण कोणबाट हेर्दा भीडद्वारा मारिएका पहाडी प्रहरीहरू र बालक देखिए । तर प्रतिशोधकारी भिडसँगै प्रहरी र सैनिक धुरिएर तोडफोड गरिएका, लुटिएका र आगलागी गरिएका रैथाने थारुहरूका ध्वस्त घर, पसल र एफएम रेडियो देखिएनन् । प्रहरी र सैनिकका आँखैअगाडि थारु महिलामाथि भएको अकल्पनीय हुर्मत र अपमान त मिडियाका दृष्टिमा टिप्न र लेख्न लायकको घटनै ठहरिएन । मानौँ पहाडी जो मारिए, तिनका जीवनको मूल्य उच्च थियो । थारुहरू जो दमित भए, प्रताडीत भए, अपमानित भए, लुटिए, आतङ्कित भए र आफ्नो घरआँगनबाट लखेटिए, मानौँ ती सबै तुच्छ थिए । यसरी शासनाधीशहरूको आज्ञाकारी भरियातुल्य मिडियाले हाकाहाकी शासक खलकका सन्ततिको उत्पात देवत्वकरण र सीमान्तकृत थारुहरूको उग्र दानवीकरण गर्‍यो । 

आखिर सारमा के थियो टीकापुर घटना ? त्यो पृष्ठभूमिमा निहित कुन गुप्त प्रेरक र कुन दृश्यवान् कारकद्वारा घटित भयो ? नितान्त तात्कालिक दृष्टिले हेर्दा टीकापुर घटना अखण्डमार्गीहरूद्वारा भइरहेको उत्पीडन र अपमानविरुद्ध थारु समुदायको अन्धवेगी प्रतिक्रिया थियो । तर ऐतिहासिक सन्दर्भमा हेर्दा त्यो घटनाको प्रेरक र कारक तत्त्व बिल्कुल फरक दृष्टिगोचर हुन्छ । जो पहाडी प्रहरी र बालक मारिए, ती बबुराहरू त दुर्योगवश घानमा परेका थिए । निकट अतीतमा थारु समुदायको थातबास र भूमि लुटिएको थियो । लुटेराहरू पहाडबाट झरेका थिए । थारुहरू लुब्ध लुटेराहरूद्वारा आफ्नै घर–आँगनमा पशुझैँ बँधुवा बनाइएका थिए । चरम प्रताडीत थारुहरूले अन्धवेगी उत्तेजनाको क्षणमा सायद प्रहरीहरूका अनुहारमा सिंहदरबारका शासकहरूका क्रूर अनुहार देखे । विडम्वनावश, घानमा परेका प्रहरीहरू माध्यम बने, वास्तवमा आक्रोशित र अराजक भिडको प्रहारको निसाना सिंहदरबारको आततायी शासक थियो । अति सरलीकृत दृष्टिले जीवनलाई केवल कालो–सेतोको अर्थमा बुझ्ने र जीवनलाई नित्य सरल रेखामा लुखुर–लुखुर हिँडिरहेको देख्ने बुद्धु मिडियाले जीवनको यो जेलिएको जटिलता के दख्थ्यो ! यो अन्धमति मिडिया त केवल शासकहरूको पुरेत्याइँ कर्ममा लिप्त भयो । यो पुरेत्याइँको अन्तर्यमा राष्ट्रवाद नामक नश्लीय अहंकारको ताण्डव क्रियाशील थियो । 

ज्ञानशाही दमनकालमा भने मूलधारे मिडियाको भूमिका फरक भयो । प्रारम्भमा जब सम्पादकीय टेबुल मिसिनगनधारी फौजीको कब्जामा पर्‍यो, मिडिया किंकर्तव्यविमूढ भयो । तर शनैःशनैः पहिले प्रतीकात्मक भाकामा, पछि मुखर स्वरमा मिडिया बोल्न थाल्यो ।

टीकापुरको प्रतिशोधी दमनका बिचमा मधेस आन्दोलनमा लहान घटना घट्यो । प्रमाण भन्छ— लहानमा आन्दोलनकारीलाई गोली हान्ने हात माओवादीको थियो । लहान घटनापछि मधेसी आन्दोलन झनै उग्र भयो । नागरिक आन्दोलनको टोलीसँग म मधेस झरेँ । झर्नुको अभिप्राय थियो, थलैमा गएर आन्दोलनको अवलोकन गर्नु, देखेको कुरा टिप्नु र टिपेको यथातथ्य लोकलाई सुनाउनु । काठमाडौँका हस्तिहाडे बुर्जाबाट सिंहदरबारका राष्ट्रवादी नजरले हेर्दा मधेस आन्दोलन कतैका कसैको उक्साहटो नतिजा थियो । र, त्यो उही कतैका कसैको निहित स्वार्थद्वारा सञ्चालित थियो । त्यो रैथाने प्रेरणा, उत्पीडित जनको स्वस्फूर्त संलग्नता र समानता एवं न्यायको न्यायोचित आग्रहको अभिव्यक्ति थिएन । तर थलैमा गएर, बारुदको धुवाँ र गोलीको पर्राको बिचबाट हेर्दा जे देखियो, सिंहदरबारको राष्ट्रवादी चस्माले देखेको भन्दा सर्वथा पृथक् देखियो । आन्दोलनमा भुइँमानिसहरू दूर देहातदेखि कमिलाको गोलोसरी ओइरिएका थिए । ती सीमान्तकृत, वञ्चित, बहिष्कृत, अपमानित र आक्रोशित  तन्नमहरू थिए । ती सिंहदरबारले सधैँ अमानव, अनेपाली र अराष्ट्रवादी भनी हेपेका, हेलाँ गरेका र ठगेका अकिञ्चन जन थिए । ती कोहीले रबरका स्यान्डल लगाएका थिए ।

कोहीले चप्पल लगाएका थिए । कोही खाली खुट्टै आएका थिए । प्रायः पुरुष जतिले हातहातमा लट्ठी बोकेका थिए । आफ्नै घरको सातु–सामल बोकेर आएका थिए ती । कति त आन्दोलनको यज्ञमा चरु थप्न भनी आनासुकी दाम समेत लिएर आएका थिए । तर मधेसमा, यथार्थ धरातलमा, आन्दोलनको स्वरूप, शैली र सहभागिताको प्रकृति र आयाम जस्तो थियो, आन्दोलनको थलोमा उभिएर माथि हेर्दा पहाडी मिडियामा त्यो एकरत्ती प्रतिविम्बित भएन । जे प्रतिविम्बित भयो, सर्वथा उल्टो भयो । एउटा विद्रूप प्रसङ्ग छ, जसमा दुराग्रही पहाडी मिडियाको चरित्र गज्जपले मुखरित भएको छ । आन्दोलनको रिपोर्टिङ गर्न काठमाडौंबाट खटिएका एक पहाडी पत्रकारले गुनासो गरे— ‘मधेसमा उभिएर मधेसी आन्दोलनलाई हेर्ने आँखा र राजधानी काठमाडौँबाट मधेसी आन्दोलनलाई हेर्ने आँखा कति फरक ! घटनाजन्य यथार्थ उही हो, प्रक्रिया उही हो, दृश्य उही हो । तर मूलधारे मिडियामा प्रकट हुँदा त्यो कति फरक !’ 

‘यस्तो किन बन्धु ?’ व्यग्र खुलदुलीसाथ मैले सोधेँ । जवाफमा बन्धुले भने— ‘यहाँबाट नाङ्गा आँखाले देखेको र नढाँटी टिपेको समाचार लेखेर पठायो, छापिएर आउँदा त्यसको रूप अर्कै हुन्छ ।’ यति भनेर उनी अकमकाए । भित्ताका पनि कान हुन्छन् भन्ने डरले होला सायद । मैले ठट्टा गरेँ— ‘कुटिल सम्पादन, निर्मम काटकुट र घोर विरूपीकरण !  नतिजास्वरूप, समाचारको रूप हदै विकृत र विद्रूप ! कि कसो बन्धु ?’

 बन्धु अतालिए र मौन व्रतमा लीन भए ।

(जेबी पुनद्वारा सञ्चालित फ्रि प्रेसद्वारा २०६९ सालमा पाटन गेटमा आयोजित विचार मन्थन कार्यक्रममा प्रस्तुत अनुभवको गोडमेल संस्करण ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप