मेरो अभिव्यक्ति यात्रा— १
मेरो अभिव्यक्तिको दीर्घयात्राका झिनामसिना अनुभवहरूको क्रमागत वृत्तान्त हो यो । सत्तरी वर्षको मेरो नितान्त निजी अनुभवको कथा । सत्तरी वर्षअघि चार वर्षको थिएँ म । बाल्यकालीन भाषा सिकेको थिएँ । भाषाको माध्यमले सुरु भएको थियो मेरो टुकुटुकु अभिव्यक्ति । व्यक्ति, समाज र जगत्सँग संसर्ग र आदानप्रदानसँगै मेरो अभिव्यक्ति यात्रा प्रारम्भ भयो । यो यात्राको प्रस्थान विन्दु थियो कालिदास साइजको मेरो कपुरी ‘क’ । मैले पहिले धुलौटामा बाँसको डिकोले उल्टो ‘क’ लेखेँ । त्यो थियो अभिव्यक्ति यात्राको मेरो पहिलो पाइलो । त्यसपछि मैले भालुबाँसका खबटामा घिरौँलाका पातको मसीले मालबाँसको कलमले सुल्टो ‘क’ लेखेँ । त्यो थियो अभिव्यक्ति यात्रामा मेरो दोस्रो पाइलो । त्यसपछि मैले मालबाँसको कलमले पहाडे कागतमा ‘लिखितम’ लेखेँ । त्यो थियो अभिव्यक्ति यात्रामा मेरो तेस्रो पाइलो । अलिपछि मैले सोह्र पन्ने कापीको सिरानमा फुल्टिनले ‘श्री गणेशाय नमः’ लेखेँ । त्यो थियो अभिव्यक्ति यात्रामा छलाङ टाइपको मेरो चौथो पाइलो ।
मानवजातिको अभिव्यक्ति यात्राको इतिहास हजारौँ वर्ष लामो छ । बर्बर अवस्थाबाट क्रमिक रूपमा विकसित हुँदै जाँदा आदिम मानिसका क्रियाकलाप जब बढे, तिनलाई व्यक्त गर्न इसारा र ध्वनि अरु पर्याप्त हुन छाडे । त्यसैले अब भाषाको खाँचो पर्यो । मानिसले शनैःशनैः ध्वनिलाई शब्दमा ढाल्न सिक्यो, मसिना वाक्यांश सिक्यो र वाक्यांशहरू उनेर वाक्य बनाउन सिक्यो । पशुजगत्देखि पृथक् हुने क्रममा भाषागत अभिव्यक्तिको थालनी भएको वास्तवमा त्यहीँबाट हो । मानवको अभिव्यक्ति स्वतन्त्रताको प्रारम्भविन्दु पनि त्यही हो । प्रारम्भिक अभिव्यक्तिको आविष्कार मानव जातिको अज्ञानता, सीमा र प्रकृतिमाथिको पूर्ण निर्भरताविरुद्धको पहिलो पाइलो थियो ।
०००
मेरो थर संग्रौला । जन्म र हुर्काइले म परेँ पूर्वेली पान्थरे कुमाई । मेरो जन्मताका संग्रौलाहरू त्यो दुर्गम ग्रामीण भेगका अघोषित राजा थिए । त्यसैले म भएँ रैथाने राजखलकका छोटे मुखियाको छोरो । मेरा बाहरू दश भाइ थिए । ती थिए कोभन्दा को कम टाइपका तामसी मुखिया । तामसी दश भाइको जुवा, फुर्मासी खर्च र दम्भी तडकभडकमा धेरैजसो सम्पत्ति स्वाहा भइसकेको थियो । त्यसैले अंशबन्डामा मेरा बालाई नाम मात्रको सम्पत्ति भाग लाग्यो । बाको भागमा पाखोबारी जति पनि थियो, खेत एक गरो थिएन । तर सम्पत्ति कम भएर के भो, मनोवृत्ति र संस्कारमा, बोलीवचन र दम्भ प्रदर्शनमा, तामसी हैकम र गर्जनतर्जनमा मेरा बा खसोखास मुखिया थिए । सेरोफेरोको आर्थिक एवं सांस्कृतिक सत्ताका छोटे राजा ।
मेरो थर संग्रौला । जन्म र हुर्काइले म परेँ पूर्वेली पान्थरे कुमाई । मेरो जन्मताका संग्रौलाहरू त्यो दुर्गम ग्रामीण भेगका अघोषित राजा थिए । त्यसैले म भएँ रैथाने राजखलकका छोटे मुखियाको छोरो ।
मेरो परिवारमा वाणीमाथि मुखिया बाको पूर्ण एकाधिकार थियो । घरमा नित्य बा मात्र बोल्थे । छोराछोरीलाई अरनखटन गर्दा, अर्ती दिँदा अथवा हप्काीदप्की गर्दा बाका मुखबाट ध्वनि प्रकट हुन्थ्यो । बाँकी समय घरमा हरदम मुर्दा सन्नाटा व्याप्त हुन्थ्यो । बाको एउटा सानो घोडा थियो, टट्टु घोडा । त्यो टट्टुमा चढ्दा पुड्के बाका छोटा खुट्टाले झन्डै भुइँ छुन्थे । तथापि बाको घोडा त थियो ! ठुलो होस् वा सानो, घोडा भनेको घोडै हो । तडकभडकको प्रतीक, सान–सौकातको निशानी र सामन्ती हुँकारको दृष्टान्त हो त्यो । घोडाको घन्टी बज्थ्यो र घरको अत्यासलाग्दो सन्नाटा भंग हुन्थ्यो । बा पञ्चायन नामक बाटुला काला ढुङ्गाहरूको सभक्ति पूजा गर्थे । शंख, घन्ट, डमरु र गीता पाठको ध्वनिद्वारा पनि घरको सघन सन्नाटा भंग हुन्थ्यो । आमाले बासँग कहिल्यै दोहोरो कुरा गरेको मलाई सम्झना छैन । सवाल–जवाफका त कुरै नगरुँ ! वाणीमाथि छ परिवारका राजातुल्य बाको एकछत्र अधिकार, परिवारका बाँकी हामी छौँ बक्विहीन माटाका मूर्तिसरह । हामी मूर्तिहरू छौँ नित्य निसासलाग्दो सन्नाटामा । अत्यासलाग्दो त्यो निःसासलाई अभिव्यक्तिको बाटो दिन होला सायद, ठुलाले सानालाई कुट्थ्यो । वाणीमाथि बाको एकाधिकार, त्यसबाट उत्पन्न प्रताडना र त्यसबाट उत्पन्न निःसास व्यक्त गर्न होला भन्ठान्छु, जेठो दाजु, माइला दाजुलाई कुट्थ्यो । माइलो दाजु साइँलो दाजुलाई कुट्थ्यो । साइँलो दाजु मलाई कुट्थ्यो । म बहिनीहरूलाई कुट्थेँ । चिचिलो बयमै नबितेकी भए सबैभन्दा सानी बहिनीले कुट्न आफूभन्दा सानो कोही नपाएर साङ्लाले बाँधिएको भुस्याहा कुकुरलाई कुट्दी हो सायद । बाल्यकालमा मेरो घरमा अभिव्यक्तिमाथिको एकल एकाधिकार, अभिव्यक्तिको प्रकृति र वाणीविहीनहरूको दुरवस्थाको कारुणिक कथा हो यो ।
अलिपछि म स्कुल गएँ । हाम्रो शिक्षा प्रणालीमा ऊबेलादेखि अहिलेसम्म विद्यार्थी भनेको बोरा हो । बलात् सूचना र तथ्य नामक भुस कोच्ने बोरा । शिक्षक त्यो बोरामा सूचना ठेल्छ, तथ्य कोच्छ, वृत्तान्त भर्छ । कक्षामा शिक्षक एक्लै बोल्छ, विद्यार्थी मौन रहन्छ । विद्यार्थी सबै कुरा कण्ठ गर्छ । र, सुगा शैलीमा कण्ठ गरेको पाठ सुगै शैलीमा गुरुलाई बुझाउँछ । मेरो बाल्यकालीन शिक्षाको कथा पनि यही हो । पहिलोपटक अलि मुखर रूपले, अलि ठुलो स्वरमा जगत्सँग मेरो सम्पर्क भएको २०१५ सालमा हो । राजाको गाउँबाट मेरो सुदूर गाउँमा पहिलो आम चुनाव आयो । मेरो जीवनमा ज्यादै उल्लासमय घटना थियो त्यो । ज्यादै प्रेरणादायी र अविस्मरणीय घटना । डाँडापारि भारपा गाउँको रिजाल थरको कांग्रेस बडेमाको ढ्वाङ लिएर दलबलसहित हाम्रो गाउँमा आयो । त्यो विचित्रको लकिरधारी ढ्वाङको नाम माइक थियो । त्यो बज्यो कि एकतमासले रनवनै घन्किन्थ्यो । मैले त्यो ढ्वाङमा गीत गाएँ । मेरा बा कांग्रेसको झन्डा बोकेर हिँडेका थिए । कांग्रेस माने के बुझेर कता पुग्ने र के गर्ने सुरले बा हिँडेका हुँदा हुन् म जान्दिनँ । हाम्रो भेगका उम्मेदवार लिम्बु समुदायका पे्रमराज आङदेम्बे थिए । गेवरा उखुको गिँडजस्ता मानिस । पुटुस्स उठेको ट्याम्के भुँडी भएका रमितलाग्दा डल्ले । मेरा बा भए ती भुँडेका खतरा फ्याँन । म थिएँ बाका पाइला पछ्याउँदै हिँडेको सुझ न बुझको बाल कांगे्रस । चुनावमा मैले जमाएर गीत गाएँ —
भोट खसाउने भोट र बक्सको
रुखको चिनो नेपाली कांग्रेसको ।
भाका हालेर त्यो गीत गाएबापत म पटकैपिच्छे एउटा मिठाइ पाउँथे । त्यो थियो पुवाँलोजस्तो लालगेडे मिठाई । गीत गाउन पाएर म एकातिर दङ्ग, आफ्नो गलोको फल मिठाई पाएर अर्कातिर म मखलेल । बाका मुखेन्जी पहिलोपटक सारा जगत्ले सुन्ने गरी बोल्न पाएर म झनै पुलकित । गजप छ बा ! मेरो बोली मानिसले सुनेको छ । रनवनले सुनेको छ । आकाश–बतासले सुनेको छ । त्यो थियो मेरो जीवनको पहिलो मुखर, आनन्दमय एवं अविष्मरणीय अभिव्यक्ति । निर्बन्ध तसर्थ मुक्त अभिव्यक्ति ।
०००
किशोर वयमा म गाउँको पुछारको तमोर नदी तरेर पारि तेह्रथुमको आठराई गएँ, हाईस्कुल पढ्न । मुलुकमा शाही पञ्चायतको जगजगी सुरु भएको थियो । नागरिकहरूका मुखमा बलात् खुनी सत्ताका ठेडी ठोकिएका थिए तर सत्य बोल्न आँट गर्ने विरल वीर–वीराङ्गनाहरूका मुख थुन्ने कसले ? कतिपय मानिस सङ्केतमै भए पनि चित्तको ताप पोख्थे । ताप पोख्ने कोही कांग्रेस थिए, कोही थिए कम्निस्ट । खुबै चनाखो भई इसाराले भनिन्थ्यो— ऊ त्यो कांग्रेस हो, र ऊ त्यो अर्कोचाहिँ कम्निस्ट हो । इसारै–इसाराको भाकामा ती बागी हुन् भन्ने बुझिन्थ्यो । पञ्चभन्दा ती फरक थिए ।
सायद अन्धकारका पनि आँखा हुन्छन् । त्यसैले होला, मेरा निशाचरी क्रियाकलापहरू के गोप्य रहन्थे ? मलाई जिल्लाको राजा र माथिका राजाको गुलाम भनिने सीडीओ घरीघरी सम्झिरहन्थ्यो ।
एकान्त–दोकान्त, साउती, खेलकुद, वादविवाद, साहित्य गोष्ठी आदि तिनका आपसी सम्पर्क र विमर्शका माध्यम थिए । बालविवाहविरुद्ध ती बोल्थे, छुवाछुतविरुद्ध ती बोल्थे, बोक्सीप्रथाविरुद्ध ती बोल्थे, हेलाहोँचोविरुद्ध ती बोल्थे, शोषण–पीडनविरुद्ध ती बोल्थे । ती नारी शिक्षाको पैरवी गर्थे । शाही सत्तासँग आँखा जुधाउने र आफ्नो आस्थालाई परोक्ष रूपले अभिव्यक्ति दिने तिनका माध्यम यिनै थिए । ती स्वतन्त्र अभिव्यक्तिको पाठशालाका मेरा किशोर वयका गुरु थिए । अभिव्यक्तिको घर्षण र ठक्करकारी यात्रामा म तिनका पाइला पछ्याउँदै तिनैको अनुकरण गर्दै हिँड्थेँ ।
०००
युवावयमा म बीए पढ्न काठमान्डु आएँ । परिवेशको रङ र संगतको प्रभावले म लाल वामपन्थी भएँ । पाट्टपुट्ट लेख्न सिकेको थिएँ, म लाल साहित्य गोष्ठीहरू धाउँथेँ । त्यो बेला पञ्चलाई ठोकेजस्तो गरी घुमाएर राजालाई ठोकिन्थ्यो । समय क्रममा पञ्चलाई पनि केही भन्न नपाइने भयो । अब चित्तको निसास अभिव्यक्त गर्ने कसरी ? मलाई पर्यो सङ्कट । सरकारी ‘गोरखापत्र’ र ‘मधुपर्क’मा कथाको आवरणमा म आफूलाई अभिव्यक्त गर्न खोज्थेँ । अनुदार सरकारी पत्रिकाकाको सङ्कचित दायरामा म अब अटाउन छाडेँ । लाल वामपन्थी यसै पनि अलि चर्को बोल्छ नै । अब बोल्ने कहाँ ? लेख्ने कहाँ ? ‘गोरखापत्र’ र ‘मधुपर्क’मा रुन्चे साहित्य छापेर मेरो अभिव्यक्तिको धीत मर्न छाड्यो । म लाल विद्यार्थीका सामयिक सङ्कलनमा लेख्न थालेँ । लेख्यो, पञ्चायती सेन्सरसिपले आधाजसो कालो पोतेर लेखलाई विकलाङ्ग, विरूप र कुरूप बनाउँछ । त्यो झोँकमा कहिलेकाहीँ नारा टाइपका चर्का लाल कविता लेखेर औँसीको रातमा गोबरले सडकका भित्ताभित्तामा टाँसेको याद ताजै छ । सत्ताले जब अभिव्यक्तिका सबै निकासमा बन्देज लगाउँछ, त्यो बेला आम मानिसको भागमा सडकका भित्ता मात्र बाँकी रहन्छन् । जनजनका अभिव्यक्तिका यी शाश्वत माध्यम हुन् । यी भित्तालाई अरुका त के कुरा, हिटलरले पनि निषेध गर्न सकेन । न पिता महेन्द्र शाहले सके, न निजका पुत्र ज्ञानेन्द्र शाहले सके ।
०००
कीर्तिपुरको जाडोमा अंग्रेजीमा एमए पढ्दै के थिएँ, चित्तमा क्रान्तिको उत्ताल ज्वार चढ्यो । लाल चीनले उद्घोष गर्यो— शेक्सपियर बुज्र्वा हुन् ! बुज्र्वा बन्न बुज्र्वा शेक्सपियर के पढिरहने ? म परे अब नैतिक सङ्कटमा । लाल उत्तेजनाले उद्घोष गर्यो— दश वर्षभित्रमा लाल जनवाद आइसक्छ । बुज्र्वा शिक्षा बहिष्कार गरेर म क्रान्ति गर्न गाउँतिर लागेँ । आवरण हाई स्कुलको हेडमास्टर थियो, अन्तर्यमा दाउ थियो झ्याप्प लाल क्रान्ति गर्नु । बस्, हिँड्यो ठिटो गाउँ ताकेर, झोलाभरि माओकृत रेड बुक बोकेर ।
किशोर वयमा म गाउँको पुछारको तमोर नदी तरेर पारि तेह्रथुमको आठराई गएँ, हाईस्कुल पढ्न । मुलुकमा शाही पञ्चायतको जगजगी सुरु भएको थियो । नागरिकहरूका मुखमा बलात् खुनी सत्ताका ठेडी ठोकिएका थिए तर सत्य बोल्न आँट गर्ने विरल वीर–वीराङ्गनाहरूका मुख थुन्ने कसले ?
मैले मास्टरीको भेषमा लमजुङ, तनहुँ र चितवनमा क्रान्तिका अनेक मनचिन्ते चेष्टाहरू गरेँ । गाउँ बिरानो, म बाहिरको मानिस । जता गए पनि म देखिने, मैले जति सानो स्वरमा बोले पनि सुनिने । मेरो पहिचान नै मेरो राजनीतिक अभिव्यक्तिको बाधक बन्यो । मेरा राजनीतिक कार्यकलाप खास केही थिएननन् तर किन हो थाहा छैन, म जहाँ जाऊँ, त्यहाँका माटो, ढुङ्गा, नदी, आकाश, बतास जम्मै लाल हुन्छन् भन्ने हौवा सिर्जना गरिन्थ्यो । झन्डैजसो हप्तैपिच्छे सीडीओ नामक जिल्लाको राजा पुलिसमार्फत मलाई डाकी पठाउँथ्यो । घरीघरी मेरो डेराको खानतलासी गरियो । मैले खाईनखाइ किनेका मेरो भएभरका किताब लुटेर कहिल्यै फिर्ता नगर्ने गरी लगियो । त्यो पनि एकपटक होइन, पटक–पटक । एक ठाउँमा होइन, ठाउँठाउँमा ।
शाही नयाँ शिक्षा योजना लागु भयो । अब अभिव्यक्तिको गर्धनमाथि निरङ्कुशतन्त्रको झनै खतरनाक तरबार उठ्यो । परिस्थिति भयो अब झनै साँगुरो । र अभिव्यक्ति झनै सङ्कटमा पर्यो । नयाँ शिक्षाको काइते आवरणभित्र उही पुरानो, उही पत्रु प्रयोजन छिपेको थियो । त्यो हो, केजाति देशभक्त र राजभक्त नागरिकको निर्माण गर्नु । बागी मास्टरको चियो गर्ने तीन थान जासुस थिए । गाउँको प्रधानपञ्च, स्कुलको स्काउट मास्टर र जिल्ला शिक्षा कार्यालयको सुपरभाइजर तर खाने मुखलाई नाथे जुँगाले के छेक्थ्यो ? म लाल मास्टर केही न केही खत्र्याकखुत्रुक गरिरहन्थेँ । म दिउँसो राजाको स्कुलमा ‘किङ महेन्द्र ब्रिङ्स हिज कन्ट्री टु लाइट’ अर्थात् राजा महेन्द्रद्वारा अँध्यारो देशमा उज्यालो झलमल भन्ने दासता र चाटुकारिताले टनाटन भरिएको पाठ पढाउँथे । राति विद्यालयका अलि चतुर र इतिहास, समाज तथा जीवनबारे धेरथोर चाख राख्ने विद्यार्थीलाई लाल क्रान्तिको प्रारम्भिक शिक्षा दिन्थेँ । कहिले खोलाको एकलासे बगरमा, कहिले सुनसान चिहानघारीमा, कहिले शान्त चौतारीमा, कहिले उच्च देउरालीमा । दोहोरो क्रियाकलाप, दोहोरो चरित्र । दिउँसो एउटा औतार, राति अर्कै औतार । मेरो जीवन असङ्गतिले भरिपूर्ण थियो । र, थियो त्यो अन्तर्द्वन्द्वले टनाटन पनि । सायद अन्धकारका पनि आँखा हुन्छन् । त्यसैले होला, मेरा निशाचरी क्रियाकलापहरू के गोप्य रहन्थे ? मलाई जिल्लाको राजा र माथिका राजाको गुलाम भनिने सीडीओ घरीघरी सम्झिरहन्थ्यो ।
सीडीओ मसँग यसरी केरकार गर्थ्यो
— माड्साप, केही गरिँदै छ रे नि ?
— हो गरिँदै छ, पढाइँदै छ ।
— होइन, केही क्रान्ति–स्रान्ति, केही खत्र्याकखुत्रुक गरिँदै छ रे नि !
— खोइ, मैले त्यस्तो केही गरेजस्तो लाग्दैन त सीडीओ साप् ।
— ख्याल गर्नुहोला माड्साप् ! यहाँनेर भित्ताको राजाको तस्बिरतिर चोर औँलो ठड्याउँदै ऊ ध्वाँस दिन्थ्यो— विष्णुमाथि जल्ले औँलो ठड्याउँछ, त्यल्लाई यो कुर्सीले बाँकी राख्न मिल्दैन । ल जानुस् । घरीघरी डाकिरहनु नपरोस् नि ।
पक्राउ गरिहाल्ने होइन, कुटिहाल्ने पनि होइन । खासै अपमानजनक भाषा प्रयोग गर्ने पनि होइन । राजाका गुलामको मलाई खालि डाक्ने र हैरान पार्ने दाउ । नूर गिराउने र पङ्गु बनाउने कुटिल क्रीडा । गाँठ्ठे ! कहिले हप्ता–हप्तामा डाक्या छ, कहिले महिना–महिनामा डाक्या छ । हैरानीमाथि हैरानी थप्या छ । डन्ठे पुलिस आ’छ, पुस्तक जफत गर्या छ, दमपच पार्या छ ! यो सब अन्तहीन कथाजस्तो । तर यो ज्याद्रो ज्यानले कहिल्यै आफ्नो जिद्दी छाडेन । डराउँदै भए पनि आस्थाको चौतारीबाट यो कहिल्यै भागेन । सत्य र न्यायको संघर्षप्रति सततः समर्पित जिन्दगीभन्दा सुन्दर र सार्थक जिन्दगी अरु के नै पो हुन्छ र ब्रो !
(जेबी पुनद्वारा सञ्चालित फ्री प्रेसद्वारा २०६९ सालमा पाटन गेटमा आयोजित विचारमन्थन कार्यक्रममा प्रस्तुत अनुभवको गोडमेल संस्करण ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण