बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अतीतबाट साभार

मेरो अभिव्यक्ति यात्रा— २

शनिबार, २४ साउन २०८२, १० : ०४
शनिबार, २४ साउन २०८२

आयो अब मेरो अभिव्यक्तिको यात्रामा एक अनपेक्षित आघातको विद्रूप प्रसङ्ग । समय संवत् २०३१ साल । अतीव उष्ण ग्रीष्म याम । स्थान काशीको एक विशाल धर्मशाला । विषय सन्दर्भ— नेपाल कम्निस्ट पार्टीको चौथो महाधिवेशनको आयोजन । अनुयायी जनहरूले भनेको सुनेअनुसार नेपाली माओको भूमिकामा मोहनविक्रम सिंह घर्ती थिए, नेपाली चाओको भूमिकामा थिए निर्मल लामा । ऊबेला यी दुई कमरेड थिए चिम्टाका दुई खुट्टीझैँ अभिन्न र हुनुसम्म अन्तरङ्ग ।

तिनताक नेपाली कम्निस्टका चारवटा परम्पर निषेधी हाँगा थिए । एउटा हाँगो थियो काशीबासी पुष्पलाल श्रेष्ठको । एउटा हाँगो पूर्वकोशीका मनमोहन अधिकारीको । एउटा हाँगो उदीयमान झापाली झिल्कोको । र, एउटा हाँगो यही चौथो महाधिवेशन उर्फ चौमको । मोहनविक्रमसँग मेरो एकाधपटक छोटो भेट भएको थियो । निर्मल लामा त मेरा नङ–मासुसरीका मित्र भइहाले । मोहनजीको निम्ता र लामाजीको आग्रहमा जाऊँ कि नजाऊँको दोमनबिच म काशी पुगेँ । नढाँटी भनुँ भने मलाई चौमको जम्बोरीमा नारिन कसोकसो असहज लागेको थियो, भित्र कताकता डर लागेको थियो । म पार्टीको स्रेस्तामा दरिएको कम्निस्ट थिइनँ । ममा उत्रो प्रतिबद्धता, उत्रो समर्पण भाव र उत्सर्गको उत्रो तत्परता थिएन । म एक सामान्य मनुवा, एक सामान्य मास्टर, एक सामान्य लाल वामपन्थी । लुकिछिपी काशी जानु र उग्रवादीको बात लागेको कम्निस्ट गुटको यज्ञमा सरिक हुनु ! त्यो किमार्थ ठट्टा थिएन । तैपनि सङ्गत, सद्भाव र आवेगले डोर्‍याएर मलाई काशी पुर्‍याए ।

शाही पञ्चायतको प्रभुत्वमा देश एक विशाल कारागारजस्तो थियो । लाल वामपन्थीका लागि त्यो चैनले सास फेर्ने ठाउँ कतै नभएको निसासलाग्दो कारागार थियो । विचार बन्धित थियो, अभिव्यक्ति बन्धित थियो । आफ्नै देशभित्र फुक्काफाल हलचल वर्जित थियो । चित्तको कुरो चित्तमै निसासिएर कुण्ठित हुन्थ्यो । यस्तोमा म चौथो महाधिवेशनमा चैनको सास फेर्न गएको थिएँ । भित्रभित्रै गुम्सिएका विचार व्यक्त गर्न, बहस गर्न, मनको तीतो पोख्न र भित्रभित्रै गुम्सिएको निसास विरोचन गर्न । पहिलो दिन सर्वोच्च नेता मोहनविक्रमको बोलीमा लोली मिलाउँदै केही कमरेडले झापालीहरूको गर्नु निन्दा गरे । निन्दकहरूको लाममा निर्मल लामा पनि खडा भए । कमरेडहरूले झापालीहरूलाई ब्ल्याङ्कीवादी भने, व्यक्तिहत्यावादी भने, अराजक भने, उच्छृङ्खल भने, भष्मासुर भने, के के हो के के भने । त्यो लामबन्दी निन्दासँग म सहमत गइनँ । र, मैले मुख खोलेर धाराप्रवाह बोलेँ । हो, झापालीहरूको खुकुरी प्रहारप्रति मेरो पनि सहमति छैन । तर ताता तन्नेरीहरूद्वारा त्यसो गर्नुको बाध्यताबारे मेरो केही भन्नु छ । बिरालालाई कोठामा थुनेर चुट्नोस् । नतिजा के हुन्छ, कमरेड ? बिरालाले घाँटीमा झम्टा मार्छ । बस्, झापाली अन्धवेगी तरुणहरूको खुकुरी प्रहार पनि त्यस्तै हो । हो, तिनले अवलम्बन गरेको साधन सर्वथा गलत छ, तर तिनको अभिप्राय ? ती खुकुरीधारी नौजवान मानवद्वेषी होइनन्, ती ब्ल्याङ्कीवादी होइनन् । बस् । भेलाले एकचित्तले मेरा कुरा सुन्यो । कामरेडहरूले विस्मयको भावमा मुखामुख गरे, खस्याक–खुसुक साउती गरे । वचनले तत्काल कसैले केही प्रतिक्रिया गरेन । 

कम्निस्टका लागि त मुखर रूपमै कांग्रेसभन्दा राजा प्यारो थियो । र नै त थेगोसरी भनिन्थ्यो— कांग्रेस दिल्लीको दलाल हो । बीपी कोइराला दिल्लीको दलाल हो, र हो यो खसोखास दिल्लीमुखी लेन्दुप दोर्जे ।

भोलि आयो र प्रतिक्रियास्वरूप ममाथि निषेधको तानाशाही तरबार सोझियो । कठोर मुद्रामा फर्मान जारी गरियो— पर्यवेक्षकको काम कर्तव्य केवल पर्यवेक्षण गर्नु हो । अर्थात् हेर्नु, सुन्नु, गुन्नु, मनमा धारण गर्नु र मौन रहनु । बोल्नु, प्रतिक्रिया गर्नु, विमति प्रकट गर्नु किमार्थ होइन । यो हो कम्निस्ट पार्टीको अकाट्य नीति–नियम । यो हो पर्यवेक्षकको काम कर्तव्य र अनुशासनको अकाट्य संहिता । त्यो फर्मान सुनेर म त्यसैत्यसै मर्माहत भएँ । अरे ! म के सोचेर कहाँ आएको थिएँ, म यो कहाँ के सुन्दै छु ? म हतप्रभ भएँ, र त्यसैत्यसै अवाक्–अवाक् भएँ म । मलाई लाग्यो— म त राजाको कारागारबाट लाल महामन्त्रीको कारागारमा पो पुगेँछु बा ! तावाबाट उफ्रेर आगाको ज्वालामा ! निर्बन्धरूपले बोल्न दिएको भए सायद म त्यो पार्टीको सदस्य हुन्थेँ । पार्टीको सदस्य भएको भए म कम्निस्ट हुन्थेँ । र, मेरो जीवनको बाटै बेग्लै हुन्थ्यो । म अर्कै हुन्थेँ । मेरो मुखमा ठेली ठोकियो । र, मलाई लाग्यो— लाल नोकरशाहीतन्त्रको त्यो कठोर संहिता मेरो अभिव्यक्ति स्वतन्त्रताविरुद्ध छ । त्यो असहिष्णुतन्त्रको पिन्जरामा थुनिन इन्कार गर्दै मैले काशीबाट टाप कसेँ । 
०००

बत्तीस सालमा म कीर्तिपुर डाँडामा सेवाकालीन एक वर्षे बीएड पढ्दै थिएँ । अन्धकारको आवरणमा लुकेर कसैले काठमाडौँमा एउटा पर्चा छर्‍यो । पर्चाको खबर उत्सुकता र भययुक्त सनसनीका लहर पैmलाउँदै काठमाडौँ खाल्डोभरि व्याप्त भयो । मेरो डेरा कीर्तिपुरमै थियो । साथमा अरु पाँचजना सहपाठी साथी थिए । हाम्रो डेराको उपद्रो खानतलासीपछि मध्यरातमा हाम्रो टोली एकमुष्ट पक्राउ पर्‍यो । केरकारपछि धिताल थरका एक विद्यार्थीलाई हनुमान ढोका खोरमा चलान गरियो । अरु साथीहरू फुकुवा भए । म दैनिक तारिखमा छाडिएँ । दैनिक केरकारको क्रममा मैले बुझेँ— मेरो पक्राउको कारण मेरो अभिव्यक्तिको शक्तिको प्रभाव रहेछ । कुटिलमति शाही केरकारेले भन्यो— इतिहासभरि शब्दका माध्यमले राजतन्त्रमाथि गरिएको सबैभन्दा चर्को आक्रमण थियो त्यो । केरकारेले बल्ड््याङ्ग्रे आँखाले मलाई सुलुक्क निल्न खोज्दै भन्यो— ‘हाम्रो शङ्का छ, यो भाषा तेरो हो । यस्तो कडा भाषा लेख्ने तँबाहेक अरु कोही छैन ।’ एकाध हप्तापछि पर्चा छरेकाहरू पक्राउ परे । खासमा त्यो झापाली प्रदीप नेपालहरूको सानो झुन्ड रहेछ । केरकारे शाही गुलामको बन्देजबाट म फुकुवा भएँ ।  कुटिन, थुनिन र सायद मारिनबाट म बचेँ । यो घटनाबाट मलाई चेत भयो— मेरो अभिव्यक्तिको शक्ति जोखिमरहित छैन !

छत्तीस सालमा शाही राजनीतिक रङ्गमञ्चमा कमलपित्ते जनमत संग्रहको कुटिल नाटकको मञ्चन भयो । कमलपित्ते खेलाडी जालझेलको गणीतीय खेलमा त विजयी भयो, तर घर्षणमय अस्तित्वको प्रतिस्पर्धी यथार्थमा त्यो पराजयउन्मुख भयो । र, अभिव्यक्तिको फाँटमा ‘प्र’को उदय भयो  ! यो ‘प्र’ को कथा बडो चाखलाग्दो छ । कमलपित्ते जनमत संंग्रहअघि छापामा कांग्रेस वा कम्निस्ट लेख्न वर्जित थियो । अटेर गरी कसैले लेखे ऊ पक्राउन पर्ने, कुटिने र थुनिने खतरा थियो । जागेको जनमतको निर्मम धक्काले कमलपित्ते पञ्चायत गल्यो । र, अब अगाडि ‘प्र’ उर्फ प्रतिबन्धित राखेर कांग्रेस वा कम्निस्ट लेख्न पाइने भयो । स्वयं आतङ्कित पञ्चायती राजमा अभिव्यक्तिको दायरा किञ्चत् फराकिलो भएको शुभ सङ्केत थियो त्यो । त्यही ‘प्र’लाई पछ्याउँदै सुषुप्त ‘प्रगतिशील लेखक संघ’ ब्युँझिन जुर्मुरायो । तिनताक म चितवनमा मास्टरीको आवरणमा थिएँ ।

काठमाडौँमा लेखकहरूको संघमा ‘प्रलेक’ उर्फ प्रगतिशील लेखक–कलाकार संघको तदर्थ समिति गठन गरिएछ । र, केन्द्रवासी लेखहरूका कृपाले म मोफसलवासी लेखक पनि त्यसमा राखिएँछु । प्रगतिशील लेखक संघको जन्म श्यामप्रसादको अगुवाइमा भएको थियो, २००९ सालमा ।  सत्र सालमा तानाशाह महेन्द्रको फौजी आखेटमा परी त्यो संघ अनस्तित्वमा विलीन भयो । साहित्यलाई जनमुखी, जनजागरणकारी र विप्लवी रङ दिन त्यो संघ चिन्तनशील, रचनाशील र उपयोगी होला भनी म ठान्थेँ ।  त्यसैले त पछि, छयालीस सालपछि म प्रलेकबाट फेरि पुरानै औतारमा फर्किएको प्रलेसको महासचिव भइटोपलेँ ।  श्यामजीको नेतृत्व प्राप्त प्रलेस चिन्तन, मन्थन र सिर्जनाको जीवन्त एवं स्पन्दशील मञ्च होला भन्ने मेरो भावुक अपेक्षा थियो । तर व्यवहारमा भयो त्यो कम्निस्ट पार्टीहरूका पोलिटब्युरोहरूको गोटी र गुटबन्दीको अखाडा । पहिले जुन कारणले चौथो महाधिवेशनबाट म भागेको थिएँ, त्यही कारणले प्रलेसबाट पनि म भागँे । जहाँ चिन्तन र सिर्जनशीलतामाथि नियन्त्रण, बन्धन र वर्जना हुन्छ, त्यहाँ स्वतन्त्र अभिव्यक्ति नोकरशाहीको कमारो बन्छ । त्यसैले त प्रलेसबाट मैले टाप कसेँ । अब लाल नोकरशाहीको प्रमाणपत्र प्राप्त प्रगतिशील लेखक म रहिनँ । 

राजतन्त्रलाई परालका त्यान्द्राले बाँधेर संवैधानिक बनाइयो । यतिसम्म त अपेक्षित नै थियो । अब उप्रान्त लेखिने शब्दमा कत्ति पनि सेन्सर हुनेछैन भनी संविधानमै उद्घोष गरियो । मेरो लागि त्यो उद्घोष बिल्कुल अकल्पनीय थियो ।

साहित्यिक अभिव्यक्तिको शैशवकालमा अलि दिन मैले कवि बन्ने अभिनय गरेँ । कविताले जीवनलाई बुझ्ने र जगत्लाई कवितामा राख्ने मेरो भावुक चेष्टा थियो त्यो । तर छिटै मलाई महसुस भयो— मेरो पाङदुरे कविताले गरिखाँदैन । त्यसपछि म रुन्चे कथाकार भएँ । आरम्भिक कालका मेरो कथामा गरिपगुरुबा र दीन–दुःखीप्रति अश्रुप्रवाह छ । ती कठैबराको भाकाका कथा हुन् । ती अनुसारकमार्गी (कन्फर्मिस्ट) साहित्यिक मार्काका कथा हुन् । पछि लाल विचारसँगको उठबससँगै मेरो अभिव्यक्तिमा रुमानी क्रान्तिचेत भरिँदै गयो । सार्थक लेखन प्रयोजनपरक हुन्छ भन्ने चेत ममा जब खुल्यो, मेरो अभिव्यक्तिले नयाँ औतार धारण गर्‍यो । यो विभेदकारी जगत् नारकीय छ, र यो जगत्मा आम जनजीवन दारुण दशामा छ । यो जगत्लई क्रान्तिको माध्यमले योभन्दा राम्रो र जिउन लायकको बनाउन सकिन्छ । मेरो अन्तर जगत्मा जब यो धारणा र विश्वास जागृत भयो, त्यसउप्रान्त मेरो अभिव्यक्ति यसै प्रयोजनप्रति समर्पित भयो । आख्यान पनि गैरआख्यान पनि । लालित्ययुक्त साहित्य पनि, अखबारी कोरा गर्जन पनि ।
०००

चालीस सालमा शाही सत्ताका श्वानहरूबाट लखेटिएर चितवनबाट म काठमाडौँ आएँ । र, पिपलपाते जममत संग्रहपछिको त्यो अपेक्षाकृत खुला परिवेशमा मेरो लेखनीले अखबारमा पाइला टेक्यो । तिनताक कम्निस्टहरूका स–साना वृत्त या कुण्डहरू थिए । कुण्डभित्रै नभए पनि म चौथो महाधिवेशन नामक कुण्डको नजिक थिएँ । काशीमा चौथो महाधिवेशनले मेरो अभिव्यक्तिमाथि कोर्रा लगाउनाले म त्यसको सदस्य भइनँ । तर हित्तचित्त मिलेका मेरा साथीसंगी त्यही कुण्डमा थिए । निर्मल लामा त्यहीँ थिए । निनु चापागाईं त्यहीँ थिए । पारिजात दिदी त्यतै थिइन् । चौथो महाधिवेशनको ओत लागेको ‘वेदना’ पत्रिका त्यही कुण्डको छातामुनि थियो । त्यसैले म निकै पछिसम्म त्यही कुण्डको सेरोफेरोमा घुमिरहेँ । त्रिचालीस सालमा होला, काठमाडौँमा ‘गर्जन’ भन्ने चौममुखी एउटा साप्ताहिक निस्कियो । म त्यसमा लेख्न थालेँ । त्यसपछि मैले ‘मूल्याङ्कन’ साप्ताहिकमा लेखेँ । त्यो बेला मेरो चिन्तन र लेखनको घेरा साँगुरो थियो । र, स्वभावतः मेरो दृष्टिक्षितिज पनि साँगुरै थियो । जगत् जान्दछ, त्यो बेला कांग्रेस र कम्निस्टको पानी बाराबारको तिक्त नाता थियो । चित्तको भित्री कुनामा कांग्रेसका लागि कम्निस्ट भन्दा राजा प्रिय हुँदो हो । कम्निस्टका लागि त मुखर रूपमै कांग्रेसभन्दा राजा प्यारो थियो । र नै त थेगोसरी भनिन्थ्यो— कांग्रेस दिल्लीको दलाल हो । बीपी कोइराला दिल्लीको दलाल हो, र हो यो खसोखास दिल्लीमुखी लेन्दुप दोर्जे । कांग्रेसलाई माटोको मायाँ छैन । तर राजा हुन माटो चाहिन्छ । त्यस हदसम्म राजा देशभक्त हो । त्यस हदसम्म ऊ राष्ट्रवादी हो । जस्तो झुन्ड, उस्तै त्यो झुन्डको एकल जीव । हो, म पनि त्यो बेला राष्ट्रवादी थिएँ । मेरा राष्ट्रवादका प्रेरणास्रोत दुईवटा थिए । एउटा, कम्निस्टको कांग्रेसप्रतिको घृणा र राजाप्रतिको मोह । अर्को, महेन्द्रीय शिक्षाले ठोकी–ठोकी मेरो दिमागमा कोचेको नश्लीय राष्ट्रवाद । ‘यो हाम्रा साना दुःखले आज्र्याको मुलुक होइन’को शाहवंशीय राष्ट्रवाद । ‘आकाशमा चन्द्र–सूर्य रहुन्जेल शाह वंश अजर–अमर रहनेछ’को मूढमति राष्ट्रवाद । तिनताकका मेरा कतिपय लेख–रचना पढेर मधेसका बागी मित्रहरू मलाई गिज्याउँछन्— त्यो बेला तिमी त गतिलै राष्ट्रवादी थियौ नि ! चलनतल्तीका खुँखार राष्ट्रवादीभन्दा करिब दुई इन्च तलका राष्ट्रवादी ! 

०००    

अभिव्यक्तिको अविच्छिन्न यात्रामा छयालीस सालमा मेरो जीवनमा विचित्रको घटना घट्यो । बिल्कुल अकल्पनीय र अनपेक्षित । राजतन्त्रलाई परालका त्यान्द्राले बाँधेर संवैधानिक बनाइयो । यतिसम्म त अपेक्षित नै थियो । अब उप्रान्त लेखिने शब्दमा कत्ति पनि सेन्सर हुनेछैन भनी संविधानमै उद्घोष गरियो । मेरो लागि त्यो उद्घोष बिल्कुल अकल्पनीय थियो । एकदम स्वप्नवत्, एकदम अद्भुत ! म कठोर परम्पराको अधीनमा, पितृसत्ताका उत्तराधिकारी बाको अधीनमा, गुरुकुल टाइपको विद्यालयको अधीनमा हुर्केको मानिस । यी अनेक अधीनस्थताको चार किल्लाभित्रको मानसिक कैदी म । म पञ्चायती नियन्त्रणको खोरमा हुर्किएको मानिस । मलाई बिनासेन्सर, बिनाकालो पोताइ, बिनाछेकथुनको अभिव्यक्ति पनि हुन्छ भन्ने नै लाग्दैनथ्यो । सत्ताको क्रूर छायामा जिन्दगीमा जेको कहिल्यै अनुभूति भएको छैन, त्यो यसरी होला भनेर मैले कसरी कल्पना गर्नु ? आनन्दमय विस्मयको भावमा मैले आफैँलाई सोधेँ— भाइ, यो जगत्मा सरकारी सेन्सरशून्य अभिव्यक्ति पनि हुन्छ ? तर त्यो भयो । त्यो पनि मेरै जीवनमा । त्यो उन्मुक्त परिवेशका मेरा अखबारी व्यङ्ग्य र कटाक्ष एवं क्रन्दन र गर्जनहरू ‘जनआन्दोलनका छर्राहरू’ नामक पुन्टे पुस्तिकामा सँगालिएका छन् । त्यो पुन्टे पुस्तिकामाथिका दुईवटा प्रतिक्रियाको मलाई अझै सम्झना छ । नेपालप्रेमी बेलायती विद्वान् माइकल हटले पारिजात दिदीसँग भनेछ्न्— संग्रौलाले त साह्रै कडा लेखेछन् नि दिदी । हैन, तिनले के लेखेछन्, माइकल ? तिनले त दिदी, ‘चाँदनी शाह र चाँदीका टुक्रा’ लेखेछन् । अलि वर्षपछि डाक्टर भनिन नरुचाउने डाक्टर प्रत्युष वन्तले ‘जनआन्दोलनका छर्राहरू’ समकालको पढ्नैपर्ने एउटा पुस्तिका हो भनेर छापामा मलाई फुर्क्याए । त्यो पुन्टे सँगालोमा कथनको नवीनता, चिन्तनको तीक्ष्णता, अभिव्यक्तिको परिष्कार वा सिर्जनाको आकर्षण वास्तवमा केही नै छैन । तथापि त्यसमा एउटा चिज अवश्य छ । बन्धित अभिव्यक्ति निर्बन्ध, सेन्सरमुक्त भएपछि बन्धनमुक्त मानिसमा जुन उमङ्ग पैदा हुन्छ, त्यसमा त्यसको छनक पाइन्छ । मलाई लाग्छ, त्यो पुन्टे सँगालोको थोरै महत्ता त्यसैमा छ । 
 
(जेबी पुनद्वारा सञ्चालित फ्री प्रेसद्वारा २०६९ सालमा पाटन गेटमा आयोजित विचार मन्थन कार्यक्रममा प्रस्तुत अनुभवको गोडमेल संस्करण ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप