शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
भलिबल

एभरेस्ट महिला भलिबल : कुन टिममा कस्ता विदेशी खेलाडी ?

बुधबार, १८ भदौ २०८२, १९ : ४४
बुधबार, १८ भदौ २०८२

काठमाडौँ । पर्यटकीय नगरी पोखरा अनि भलिबल प्रतियोगिता, आकर्षण दुईगुना बढ्ने नै भयो । यही भदौ २० देखि २८ गतेसम्म हुने एभरेस्ट महिला भलिबल लिग (ईडब्ल्यूभीएल) प्रतियोगिताले पोखराको सरगर्मी अरु बढाएको छ । 

पहिलोपटक राजधानी भन्दा बाहिर सञ्चालन हुन लागेको प्रतियोगिताले नेपाली महिला भलिबल खेलाडीमा उत्साह थपेको छ । पछिल्लो समय विदेशी खेलाडी समेत नेपालमा भलिबल खेल्न आकर्षित भइरहेका छन् । 

प्रतियोगितामा सहभागी ६ फ्रेन्चाइजी टोलीले १८ जना विदेशी खेलाडीलाई टिममा भित्र्याएका छन् । फ्रेन्चाइजी टिमले नेदरल्याण्ड्स, ब्राजिल, रसिया, थाइल्याण्ड लगायत देशबाट खेलाडी भित्र्याएका छन् । 

गत सिजनको च्याम्पियन टोली कर्णाली यशभिसले ग्रिसका एक र ब्राजिलका दुई महिला खेलाडीलाई अनुबन्ध गरेको छ । ग्रिसकी इभान्जेलिया चान्टाभा, ब्राजिलकी आना फ्लाभिया र मायरा भिटोरियालाई कर्णालीले टिममा राखेको छ । सन् २००५ देखि व्यावसायिक खेल जीवन सुरु गरेकी चान्टाभाले ग्रिसका साथै इटाली, टर्की, थाइल्याण्ड, रोमानिया, ब्राजिल, इण्डोनेसिया, जापान लगायत देशका क्लबमा आबद्ध भएर खेलिसकेकी छिन् । मायरा भिटोरिया पनि अनुभवी खेलाडी हुन् ।  

यता गत सिजनको उपविजेता ललितपुर क्विन्सले पुरानै दुई र थाइल्याण्डकी एक नयाँ खेलाडीलाई स्थान दिएको छ । पुरानै खेलाडी टिममा राख्दा टिमको माहोल झनै राम्रो हुने ललितपुरको अपेक्षा छ । ललितपुरले थाइल्याण्ड राष्ट्रिय महिला भलिबल टोलीकी आउटसाइड हिटर दारिन पिन्सुवानलाई आबद्ध गरेको छ । 

LALITPUR QUEEENS

३० वर्षकी दारिनसँग थाइल्याण्ड, दक्षिण कोरिया, चाइनिज ताइपेई जस्ता मुलुकमा खेलेको अनुभव छ । उनी आवद्ध थाइल्याण्ड राष्ट्रिय महिला भलिबल टिमले सन् २०१४ मा दक्षिण कोरियाको इन्चोन सहरमा आयोजना भएको एसियन गेम्समा कास्य पदक जितेको थियो ।

ललितपुरले थाइल्याण्डकै वारन्या श्रिलाओङ र पट्राथिप सान्त्रकुनलाई अनुबन्ध गरिसकेको छ । ललितपुरले पहिलो संस्करणमा टिममा रहेकी वारन्यालाई दोस्रो संस्करणमा पनि निरन्तरता दिएको हो । पहिलो संस्करणमा ललितपुर उपविजेता हुँदा वारन्या टोलीको महत्वपूर्ण सदस्य थिइन् ।

थाइल्याण्डकै सेटर पट्राथिप सान्त्रकुनलै अनुबन्ध पनि दोस्रो संस्करणमा ललितपुरमा हुनेछन् । सान्त्रकुनले पनि पहिलो संस्करण ललितपुरबाटै खेलेकी थिइन् ।

लुम्बिनी लाभाजले रसियाकी केसेनीय तिसिना र किर्गिस्तानकी ओगुलाई कुडाई कुलोभालाई टिममा अनुबन्धन गरेको छ । प्रतियोगिताको नयाँ टिमको रुपमा रहेको लुम्बिनी लाभाजले आफ्नो टोलीलाई थप बलियो बनाउन रसिया र किर्गिस्तानबाट दुई खेलाडीलाई टिममा राखेको छ ।  

LUMBENI LAVAS

केसेनिया रुसी राष्ट्रिय लिगमा लामो अनुभव बटुलेकी कुशल आउटसाइड हिटर हुन् । उनको शक्तिशाली स्पाइक, बलियो ब्लकिङ र स्थिर डिफेन्सले टोलीलाई महत्त्वपूर्ण लाभ पुग्ने विश्वास गरिएको छ ।

यस्तै किर्गिस्तानको राष्ट्रिय टोलीकी सदस्य भइसकेकी कुलोभा पनि आउटसाइड हिटर पोजिसनमा खेल्छिन् । उनको प्रभावशाली प्रहार क्षमता र निरन्तर ऊर्जा भर्ने शैलीले टोलीलाई थप गतिशीलता दिने विश्वास टिमको छ । लुम्बिनी लाभाजले पहिलो विदेशी खेलाडीको रुपमा रसियाकी ब्लकर भेरोनिका जुवरेभालाई सार्वजनिक गरिसकेको थियो ।

नयाँ टोली पोखरा निन्जाजले सर्बियाकी ३१ वर्षीया आउटसाइड हिटर ल्युबिका केकमानलाई टिममा राखेको छ । उनले यसअघि टर्की, फ्रान्स (लिग र कप), ग्रीस, पोल्याण्ड, जर्मन बुन्डेसलिगा, रोमानिया लगायतका शीर्ष लिगमा खेलिसकेकी छन् । साथै, उनी सर्बियाको यू–२० र यू–२१ राष्ट्रिय टिमबाट समेत खेलिसकेकी छिन् । 

POKHARA NINJAS

पोखराले अमेरिकाको २५ वर्षीया अपोजिट हिटर ईडेओला ओवोकोनिरानलाई पनि टिममा अनुबन्ध गरेको छ । उनले अमेरिकाको यू–२१ राष्ट्रिय टोली, साथै संयुक्त राज्य अमेरिकामा  एनसिसिए टुर्नामेन्ट, एनसीसीए–एसीसी टुर्नामेन्ट, फिनल्याण्ड लिग कप खेलेको अनुभव छ । 

टोलीले रोमानियाको ३२ वर्षीय एनामारिया बेरडिल्ला आउटसाइड हिटर पोजिसनमा खेल्ने खेलाडीलाई टिममा राखेको छ । रोमानियाली यू–१८ , यू–२० र राष्ट्रिय टोलीबाट पनि खेलिसकेकी छिन् । 

काठमाडौँले इटालियन खेलाडी ओउमाया कोडिएललाई अनुबन्ध गर्दै तेस्रो विदेशी खेलाडी टिममा भित्र्याएको थियो । लिगको नियमअनुसार हरेक फ्रेन्चाइज टोलीले तीनजना विदेशी खेलाडी अनुबन्ध गर्न पाउँछ । काठमाडौँले आफ्नो तेस्रो विदेशी खेलाडीका रूपमा मिडल ब्लकर र अपोजिट ओउमायालाई अनुबन्ध गर्दै टिमलाई बलियो बनाएको छ । यसअघि काठमाडौँले बुल्गेरियन सेटर नेकोभा निकोलाएभा र काजकिस्तानकी अपोजिट हिटर अलेना कोलोतिजिनालाई भित्र्याएको थियो । तीन फरक पोजिसनका खेलाडीलाई आउँदा काठमाडौँले आफ्नो टिमको सन्तुलन बलियो बनाएको छ ।

Kathmandu Spikers

यता गत सिजन कमजोर मानिएको मधेस युनाइटेडले बलियो रुपमा नेदरल्याण्ड्सका खेलाडी अनुबन्ध गरेको छ । नेदरल्याण्ड्सकी डानिक आर्डेमा, कस्ट्रेन वेसेल्स र रोमी भिनस्ट्रा टिममा छन् । 

मधेसले आर्डेमा एउटा अनुभवी सेटर हुन्, जसले नेदरल्याण्ड्सको शीर्ष स्तरीय क्लबहरूमा खेल्दै उल्लेखनीय प्रदर्शन गरिरहेकी छिन् । आर्डेमाले आफ्नो करिअरमा नेदरल्याण्ड्स, स्पेन र जर्मनीका विविध क्लबहरूमा खेलेर अनुभव समेटेकी छन् । 

अर्की खेलाडी २६ वर्षीय वेसेल्स दमदार आक्रमण र स्थिर बचाउका कारण विश्वभर चर्चित हुँदैछिन् । हाल उनी सुडोसा–डेस्टो क्लबमा खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन् । 

मधेसकी खेलाडी भिनस्ट्रा आउट साइड हिटर हुन् । उनी सन् २०२१ र २२ सिजनदेखि नेदरल्याण्ड्सकै शीर्ष डिभिजन अन्तर्गतको क्लब सुडोसा–डेस्टोका लागि खेल्दै उत्कृष्ट प्रदर्शन गरिरहेकी छिन् । उनी टोलीको आक्रमण र रक्षा दुवै क्षेत्रमा भरोसायोग्य खेलाडी मानिन्छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप