बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
माधवराज खरेलको करिअर यात्रा

अभिनयको बाटो हिँडे, गन्तव्य बनिदियो निर्देशन

बिहीबार, १९ भदौ २०८२, १३ : ३०
बिहीबार, १९ भदौ २०८२

सारांश

  • माधवराज खरेलको नयाँ फिल्म 'चिट्ठी' रिलिज हुँदैछ, जसमा चिठीले महत्वपूर्ण सन्देश दिन्छ।
  • फिल्म 'चिट्ठी' हरर र कमेडी विधामा बनेको छ, जसले देशको परिस्थिति र सञ्चार क्षेत्रलाई देखाउँछ।
  • खरेलले यसअघि 'बिरानो माया', 'ढुङ्गेयुग' र भोजपुरी फिल्म 'दुर्गामाण्डु' जस्ता फिल्म निर्देशन गरिसकेका छन्।
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । सञ्चार सम्पर्कका लागि इमेल पनि अब औपचारिक मात्रै भइसकेको छ । व्यक्तिगत सञ्चार सम्पर्कको स्थान मेसेन्जर, ह्वाट्सअप, भाइबरले लिइसकेका छन् । 

यस्तो बेला चिठीको कुरा गर्नु एकादेशको कथाजस्तै लाग्छ । तर जेन जी भन्दा अघिल्लो पुस्ता मिलेनियलले यो सब देखेरै आएको छ । 

यो पृष्ठभूमि किन बाँधिएको हो भने आगामी शुक्रबार ‘चिट्ठी’ नामको फिल्म रिलिज हुँदैछ । अनि यसका निर्देशक हुन् माधवराज खरेल । अहिलेको समयमा चिठी नाम राखेर कसैले फिल्म बनाउँछ भने त्यसको खास उद्देश्य पक्कै हुन्छ । 

‘फिल्मभित्र चिट्ठीले ठुलो सन्देश बोकेको छ । फिल्मभित्र हरेक पात्रको उतारचढाव गराउने काम चिठीले गर्छ,’ निर्देशक खरेल रातोपाटीसँग भन्छन्, ‘फिल्ममा फिजिकल र डिजिटल दुवै कुराको प्रयोग गरिएको छ ।‘

‘चिट्ठी’ हरर र कमेडी जनराको फिल्म हो । ‘देशका विषम परिस्थिति र सञ्चार क्षेत्रका विविध पाटोहरूलाई पनि फिल्मले देखाउँछ । सञ्चार क्षेत्र भड्किनु हुँदैन भन्ने सन्देश फिल्ममा छ,’ खरेल भन्छन् ।

madav raj kharal (5)

फिल्मको कुरा यति नै गरौँ । निर्देशक खरेलको करिअर र उतारचढावलाई खोतलौँ । निर्देशकको हिसाबमा उनको यो सातौँ र प्रदर्शनको हिसाबले चौथो फिल्म हो । यसअघि ‘बिरानो माया’, ‘ढुङ्गेयुग’ र भोजपुरीमा ‘दुर्गामाण्डु’ रिलिज भएका थिए । करिब सात वर्षपछि उनको नयाँ फिल्म आउन लागेको हो । 

लामो ग्यापपछि फिल्म आउँदै गर्दा सबैलाई स्वाभाविक अपेक्षा र डर हुन्छ ।  ‘फिल्मको कन्टेन्ट बलियो भएकाले अपेक्षा स्वाभाविक छ । डर चाहिँ ठुलो लगानी भएको कारणले हुन्छ । दर्शकहरू हलसम्म जानुहुन्छ कि हुन्न, कस्तो प्रतिक्रिया पाइन्छ भन्ने कुरामा,’ खरेल भन्छन् । 

अचेल स्टारले भरिएका फिल्मको व्यवसाय त भन्न सकिन्न भने खरेलको फिल्ममा त कोही पनि स्टार छैनन् । 

‘अहिले बजारमा सुनिने सबैभन्दा ठुलो समस्या हो यो । तर त्यस्तो होइन । कलाकारहरू हिजो र आज जति पनि छन्, उनीहरू पनि निकै सङ्घर्षशील अवस्थाबाटै आएका हुन् । आज उहाँहरू धेरै स्टार हुनुभएको छ,’ उनी भन्छन्, ‘अब उहाँहरूको नामले सिनेमा बिक्न थालेको छ । फलानोले खेल्ने बित्तिकै कन्टेन्ट मतलब भएन, फलानोले खेलेको फिल्ममा हो भन्ने भएको छ ।’ 

तर पछिल्लो समय यो ट्रेन्ड ब्रेक भएको खरेल बताउँछन् । ‘कन्टेन्ट’ बलियो छ भने फिल्म चल्ने, नत्र नचल्ने उनको तर्क छ ।  कन्टेन्टले नै स्टार जन्माउने कुरामा विश्वास राख्ने उनी आफ्नो फिल्मबाट पनि कोही स्टार जन्मिन सक्ने बताउँछन् । 

‘मैले पुरानो कलाकार राखेको भए पुरानो कलाकारलाई किन खेलाएको, बरु नयाँलाई ल्याएको भए हुन्थ्यो भनेर दर्शकले भन्नुहुन्थ्यो,’ उनी भन्छन्, ‘किनकि फिल्मको सिचुएसन र स्टोरीको माग त्यस्तै थियो ।’ 

केही फरक गर्नकै लागि नयाँ कलाकार लिएको उनी बताउँछन् ।

madav raj kharal (3)

  • निर्देशन यात्रा 

२०५५ सालदेखि खरेल नियमित रुपमै फिल्म क्षेत्रमा काम गरिरहेका छन् । कोरस डान्सरको रुपमा प्रवेश गरेका उनी त्यसपछि एसोसिएट निर्देशक भए । त्यसपछि डान्स, एक्टिङ, भोकलका इन्स्टिच्युटहरू पनि सञ्चालन गरे । उनले सोही क्रममा ‘कस्तो यो जीवन’ र ‘कसुर’ जस्ता टेलिसिरियल निर्देशन गरे । 

त्यसपछि केही समय सम्पादन र टेलिभिजन कार्यक्रममा रमाएका खरेलले सन् २००८ देखि ‘ढुङ्गेयुग’बाट फिचर फिल्म निर्देशनमा डेब्यु गरे । यो नेपालको पहिलो मौन फिल्म थियो । ‘ढुङ्गेयुग’को चर्चा राम्रो भएपछि उनलाई फिल्म निर्देशन गर्न सक्छु भन्ने आँट पलायो । त्यसपछि ‘बिरानो माया’ र ‘कुइनेटो’ बनाए । 

त्यसपछि छाउपडी प्रथामा आधारित डोटेली भाषाको ‘दुर्गामाण्डु’ बनाए । केही भोजपुरी र मैथिली भाषाका पनि फिल्म गरे । यही क्रममा उनले नेपाल सरकारका विभिन्न संघसंस्थासँग जोडिएर करिब ५०० डकुमेन्ट्री फिल्म बनाए । 

‘अहिले पनि वर्षको तीन–चार वटा डकुमेन्ट्री फिल्म गर्छु,’ उनी सुनाउँछन्, ‘यो मेरो व्यावसायिक अर्को पाटो हो । यसले मलाई नाम र माम दिएको छ । फिल्म मेरो सौख हो ।‘ 

फिल्म निर्देशन गर्ने हुटहुटी उनमा यति बढेको छ कि ‘चिट्ठी’ प्रदर्शनमा नआउँदै अर्को फिल्म पनि तयार गरिसकेका छन् । फिल्मको नाम हो- ‘मृत्युकोष’ । मानिसको मृत्युसँग जोडिएको विषयमा यो फिल्म बनाएको उनी बताउँछन् । 

‘मृत्युकोष फिल्म होइन, एउटा नयाँ अभियान हो । यो सबै नेपालीका लागि आवश्यक छ,’ खरेल भन्छन्, ‘फिल्मले उठाएको विषय सरकारले पूरा गर्‍यो भने नेपालीका लागि ठुलो राहत हुनेछ ।’ 

मानिसका इच्छा त कहाँ सकिन्छन् र ? खरेलले सामाजिक, कमेडी र प्रेमकथाको फिल्म बनाइसके अब एक्सन फिल्म गर्ने इच्छा छ । 

‘पूरै मार्सल आर्ट, बक्सिङ र मुवा थाई जस्ता खेलहरूसँग सम्बन्धित एक्सन फिल्म बनाउने मन छ,’ उनी सुनाउँछन्, ‘एक्सन फिल्मको नाम लिँदा मेरो पहिला आओस् न ।’ यसका लागि कम्तीमा पनि पाँच वर्ष खर्चिन उनको सोच छ । 

  • सञ्चारकर्मी पनि 

खरेल सञ्चारकर्मी समेत हुन् । २०५६ सालमा ‘मेट्रो पोस्ट’ सन्ध्याकालीन पत्रिकाबाट सुरु भएको उनको सञ्चारकर्म ‘डेमोक्रेसी साप्ताहिक’, एचबीसी एफएम हुँदै रेडियो नेपालका नाटकहरूसम्म पुग्यो । उनी एक समय मदनदास श्रेष्ठ, सुनिल गर्तौलासँग रेडियो नाटकमा पनि बोल्थे । त्यसपछि कर्णाली फिल्म्समा अभिनय पढाए । सोही समय नेपाल टेलिभिजनमा सिनेमा सम्बन्धी कार्यक्रम समेत सञ्चालन गरे । अहिले उनी ‘पावर न्युज डट कम’ र ‘पावर न्युज एसिया अनलाइन’ नामका दुई पोर्टल चलाउँछन् । त्यसमा नेपाली कला क्षेत्रकै समाचार र समाचारमूलक सामग्री पस्किन्छन् । 

सञ्चारकर्ममा रहेका खरेललाई अभिनय गर्ने सपना चाहिँ सानैदेखि थियो । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा जन्मेका उनी बच्चा बेलामा फिल्म हेर्दा आफैँलाई कलाकारको रूपमा महसुस गर्थे । त्यही सपनाले उनलाई फिल्म यात्रामा डोर्‍यायो । 

‘अभिनय गर्दै जाँदा अभिनय भन्दा पनि निर्देशनतिर बढी झुकाव बढ्यो,’ खरेल भन्छन्, ‘कसैले गर्नुपर्छ भनेर होइन, आफैँले बुझेर, सिकेर, जानेर गरेँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप