शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

एमाले विधान महाधिवेशन : १२ मिनेटमा उद्घाटन, ३ दिनसम्म के हुन्छ ?

शुक्रबार, २० भदौ २०८२, ०८ : २६
शुक्रबार, २० भदौ २०८२

सारांश

  • नेकपा एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीमा सुरु भयो, प्रधानमन्त्री ओलीले उद्घाटन गरे।
  • महाधिवेशनमा २ हजार ३ सय ४१ जना प्रतिनिधि सहभागी हुनेछन् र कार्यक्रम डिजिटल प्रविधिबाट सञ्चालन हुनेछ।
  • महाधिवेशनमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र विभिन्न आयोगका प्रतिवेदनहरू प्रस्तुत हुनेछन्।

काठमाडौँ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । तीनदिन सम्म ललितपुरको गोदावरी स्थित सनराइज हलमा आयोजना गरिएको महाधिवेशन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे उद्घाटन गर्दैछन् ।

महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि आयोजकका हैसियतमा ३ सय १५ जना  २ हजार ३ सय ४१ जना सहभागी हुने पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका सदस्य राजेन्द्र गौतमले जानकारी दिए । महाधिवेशनमा सहभागी हुन अधिकांश प्रतिनिधिहरू काठमाडौँ आइपुगिसकेका छन् ।

महाधिवेशन स्थलमा पुग्ने सातदोबाटो देखि गोदावरी सम्मको १० किलोमिटर क्षेत्रमा १८ वटा स्वागतद्वार निर्माण गरिएको छ । एमालेले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प,सुखी नेपाली समृद्ध नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने मूल नारा तय गरेको छ । 

गौतमका अनुसार उद्घाटन सत्र डिजिटल प्रविधिको प्रयोगबाट हुनेछ ।

प्रतिनिधि परिचय स्क्यान गर्ने ६ वटा कम्प्युटरका बुथ छन् । त्यही बुथबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकहरुले प्रवेश पाउने छन् । प्रतिनिधिहरू चारवटा डिजिटल ढोकाबाट सनराइज हलमा प्रवेश गर्ने व्यवस्था गरिएको छ । महाधिवेशन स्थललाई झकिझकाउ बनाउन प्रवेश द्वारबाट महाधिवेशन हल छिर्दासाथ दायाँतिर प्रधानमन्त्री ओलीको पूर्ण कदसहित हात उठाएको तस्बिर, दोस्रो विधान महाधिवेशनको लोगो राखिएको छ । 

हलको भित्तामा महाधिवेशनको लोगो, नेकपा एमाले र अंग्रेजीमा ‘सीपीएन यूएमल’ले स्वागत गरिएको छ । पानी फोहोराका साना पोखरीमा सेता हाँसका जोडी खेलिरहेका हुनेछन् । महाधिवेशन स्थल परिसरमा नेकपा संस्थापक  पुष्पलाल, पूर्वप्रधानमन्त्री मनमोहन र जननेता मदन भण्डारीका पूर्ण कदका तस्बिर छन् । यसैगरी कार्लमाक्र्स,फ्रेडरिक एंगेल्स र लेनिनका पनि पूर्ण कदका तस्बिरहरू राखिएका छन् । 

करिब १२ मिनेटमा उद्घाटन कार्यक्रम सक्ने तयारी गरिएको छ । त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन हिजोको सचिवालय बैठकले पास गरेको छ । अध्यक्ष ओलीको प्रतिवेदन पछि करिब एक बजे एक घण्टाका लागि  ‘खाजा ब्रेक’ को कार्यक्रम रहेको छ । त्यसपछि उपाध्यक्ष विष्णु प्रसाद पौडेलले विधान संशोधन प्रस्ताव,महासचिव शंकर पोखरेलको राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । यसैगरी निर्वाचन आयोग,लेखा आयोग र अनुशासन आयोगका प्रतिवेदन पनि आजै पेस गरिनेछ । साँझ पाँच बजे आजका कार्यसूची सकिने गौतमले बताए । 

मञ्च व्यवस्थापन समिति संयोजक एवं पार्टी पोलिटब्युरो सदस्य विनोद श्रेष्ठका अनुसार हल बाहिर निरन्तर विभिन्न जात,जाती र समुदायका झाँकीहरू प्रस्तुत गरिनेछ । उक्त दृश्य हल भित्रका प्रतिनिधीहरुले डिजिटल बोर्ड मार्फत हेर्नेछन् । 

भोली प्रतिवेदनहरू माथि नौ वटा समूहमा छलफल हुने र पर्सी समूहले पेस गरेका प्रतिवेदन प्रस्तुति सहित अध्यक्ष ओलीले सम्बोधन गरेर महाधिवेशन अन्त्य गरिने एमालेले जनाएको छ । 

एमालेले २०७८ सालमा पहिलो विधान महाधिवेशन पनि यसै हलमा आयोजना गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप