एमाले सहभागी नभई बलियो वामपन्थी शक्ति निर्माण हुन सक्दैन : जगन्नाथ खतिवडा
नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा नेकपा एकीकृत समाजवादीभित्र असन्सन्तुष्टि बढ्दै गएको छ ।
पछिल्लो समय माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल दुवै पार्टीका प्रदेशस्तरीय छलफलमा निरन्तर सहभागी छन् ।
उनीहरू एक्लाएक्लै भेटेर पनि एकताको माहोल बनाउने काम गरिरहेका छन् ।माओवादीको बिहीबार सम्पन्न पदाधिकारी बैठकले पनि वामपन्थी शक्तिबिच एकताका लागि पहल गर्ने निर्णय गरेको थियो, तर दुवै पक्षले अहिलेसम्म पार्टी एकताको ठोस निष्कर्षमा नपुगेको दाबी गर्दै आएका छन् ।
वास्तवमा माओवादी र एकीकृत समाजवादीबिच हुने भनिएको एकता कहाँ पुग्यो ? यसै विषयमा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडासँग रातोपाटीकर्मी गणेश पाण्डेले कुराकानी गरेका छन् । प्रस्तुत छ, खतिवडासँग गरिएको कुराकानीको सम्पादित अंश :
वामपन्थीहरूबिच एकताको विषय कहाँ पुग्यो ?
यो निरन्तर प्रयास गरिरहने विषय हो । वामपन्थी एकता वा कसैको पनि एकताको प्रश्न सामान्य ढंगले भइहाल्ने कुरा होइन । धेरै विषय मिल्नुपर्छ । हाम्रो प्रयास जारी छ ।
पछिल्लो समय पार्टी एकताका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल हतारिएजस्तो देखिन्छ नि ?
अहिले हाम्रो पार्टी र नेकपा माओवादी केन्द्रको बिचमा बिग्रेका आन्तरिक सम्बन्ध सुधार्ने विषयमा मात्रै छलफल भइराखेको छ । बिचमा धेरै कारणले हाम्रो सम्बन्ध विश्वासयोग्य थिएन ।
सहकार्यमा थियौँ तर आन्तरिक विश्वास कमजोर थियो । किन कमजोर भयो र के गल्ती भयो भन्ने कुराको समीक्षा गर्ने विषयमै छलफल धेरै भइरहेका छन् । यही कुरालाई पार्टी एकता नै गर्न लागियो भनेर प्रचार गरेजस्तो पनि छ । हामीचाहिँ सम्बन्ध सुधारको प्रक्रियामा छौँ ।
आइतबार बानेश्वरमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल समूहका नेताहरू भेला भएर माओवादीसँग मात्र एकता गरिए आत्महत्या गरेसरह हुन्छ भनेर जुन खालको निष्कर्ष निकालियो, त्यसकै प्रतिक्रिया होइन ?
समयभन्दा अगाडि बोलेको कुरा हो यो । समय त्यो ठाउँमा पुग्ने गरी न कुनै प्रस्तावमाथि छलफल भएको छ, न त राजनीतिक, सैद्धान्तिक, संगठनात्मक, व्यावहारिक विषयहरूमाथि नै आधारित छ ।
कुनै एजेण्डा नै छैन अहिले । एकता भनेको त एजेण्डामा गर्ने हो, आधार पत्र तयार गरेर गर्ने हो । यो आधारमा हामी मिल्छाैँ, यो आधारमा नभई मिल्दैनौँ भनेर दृष्टिकोण राख्ने हो नि । त्यसरी छलफल नै नगरिएको कन्डिसन भएको हुनाले अरु कुनै पनि कुरा गर्नु हतारो हुन्छ । अहिले हाम्रो पार्टी त्यो ठाउँमा पुगेकै छैन ।
२०७४ सालमा तत्कालीन एमाले र माओवादीबिच भएको एकता घोषणाजस्तै अहिले पनि गर्न खोजिएको त होइन ?
यतिखेर त्यस्तो कुनै गुञ्जायसै देख्दिनँ । हामीले त्यो ढंगले कुरै गरेको छैन । विनाआधारपत्र छलफल नै हुँदैन । हामीले आधारपत्र कुनै पार्टीलाई पेस गरेका छैनौँ । अन्य पार्टीले पनि त्यसरी पेस गरेका छैनन् ।
मौखिक रूपमा वामपन्थी एकताका कुरा आज होइन, पहिलेदेखि नै भइराखेको छ । त्यसकारण आधारपत्र, दृष्टिकोण तथा स्वार्थहरू राखेर आजसम्म कुनै छलफल भएका छैन ।
दुवै पार्टीभित्र अन्तरसंघर्ष चर्किएको वेला तुरुन्तै पार्टी एकता गरेर बलियो शक्ति निर्माण गर्न प्रचण्ड र माधवबिच भद्र सहमति भएको हुन सक्ने नेताहरूले आशंका गरेका छन् नि ?
भद्र छलफल भइराख्छ तर भद्र सहमति भएको छैन ।
त्यसो भए एकताका लागि कहाँ–कहाँ समस्या छन् ?
हामी दुई/तीन वर्षमात्र टिक्ने एकताको पक्षमा छैनौँ । लामो समयसम्म यो अगाडि बढोस् । विगतका एकता टुट्नुका आधार, कारण, समस्या, कमजोरी के–के थिए भन्ने कुराको राम्रो समीक्षा नै गर्नुपर्ने जरुरी छ । दुई वटा पार्टीका मनोविज्ञान, संगठनात्मक संरचना, पार्टीका राजनीतिक, सैद्धान्तिक विषयमा एकरुपता नआइकन अरु कुरा अगाडि बढ्दैन ।
पछिल्लो समय दोस्रो पुस्ताका नेता भनिएका घनश्याम भुसाल, जनार्दन शर्मा र विप्लवले फरक मञ्चबाट लगातार बहस र छलफल गरिरहेका छन्, किन ?
जनार्दनले ‘माओवादीसँग एकता नगरौँ’ पक्कै भन्नुहुन्न होला । घनश्यामजी जति दोस्रो पुस्ता हुन्, त्योभन्दा अलि बढी दोस्रो पुस्ता म हुँ । त्यसकारण दोस्रो पुस्ताले कहीँ बहस गरिराखेका छैनन् । व्यक्तिले कोहीसँग कतै छलफल गर्यो होला, त्यो छुट्टै कुरा हो ।

पार्टीको नीति अनुसार नै यी बहस भइरहेको छ कि पार्टीलाई नै अप्ठ्यारो पार्नेगरी भइराखेको छ ?
उहाँहरूको व्यक्तिगत छलफल होला । कसरी वाम आन्दोलन अगाडि बढ्छ ? कम्युनिस्टहरूलाई कसरी नयाँ उचाइमा लैजाने भन्ने विषयमा विचार विमर्श भएको होला, तर हामीचाहिँ मिलिहालौँ, अन्यलाई छोडेर हिँडिहालौँ, हामी मिलेपछि सबैथोक बनिहाल्छ भन्ने खालको छलफल भएजस्तो मलाई लाग्दैन ।
सार्वजनिक मञ्चबाटै घनश्यामले नेतृत्वबाट कम्युनिस्ट आन्दोलन अगाडि बढ्दैन भनेर विश्राम लिन सुझाव दिइराख्नुभएको छ त ?
त्यो त म हुन्छु भनेको होइन नि । अरु कोही भए पनि जेनेरेसन चेन्ज होस् भनेर उहाँहरूले भन्नुभएको हो कि ! त्यसलाई तार्किक रूपले पनि गलत भन्न मिलेन नि । यो एक प्रकारले सिद्धान्तको कुरा पनि हो । बुढो पात झर्ने र नयाँ पात पलाउने प्राकृतिक कुरा हो ।
नयाँ पनि फेरि परिपक्व हुन्छ र त्यो पनि झर्छ । राजनीतिमा नेतृत्व परिवर्तनका लागि नयाँ–नयाँ खालको परिवर्तन कहीँ स्थानान्तरण, कहीँ रुपान्तरण, कहीँ पुस्तान्तरण लगायतका कुराले प्रभाव पारिराखेको हुन्छ । त्यो एउटा तर्क हो– पुस्तान्तरण गरौँ भन्ने ।
कहिलेकाहीँ पुस्तान्तरणले मात्र होइन, व्यक्तिले पनि ठुलो प्रभाव पार्छ । एउटै पदमा एउटै व्यक्ति बस्दा र अर्को बस्दा फरक पर्छ । त्यसकारण सैद्धान्तिक ढंगले गरिएका बहसलाई व्यक्तिसँग मात्रै जोडेर हेर्न सकिँदैन ।
एक डेढ महिनाभित्र समाजवादी मोर्चामा रहेका दलहरूसँग एकता हुने सम्भावना छ कि छैन ?
एकीकृत समाजवादीको समग्र मनोविज्ञान एकता गर्नतिर छैन । कतिपय व्यक्तिलाई एकता गर्नुपर्छ जस्तो लागेको होला । छलफल पनि चलिरहेकै छ । व्यक्तिगत, कार्यकर्ताको तहमा छलफल भइराखेकै छन्, तर संस्थागत रूपमा सचिवालय, स्थायी समिति वा केन्द्रीय समिति बैठकमा छलफल नगरी कहीँ कोहीसँग अगाडि जाँदैन ।
एकीकृत समाजवादीले कोहीसँग एकता गर्नुपर्यो भने पहिलो आफ्नो बटमलाइनलाई सुनिश्चित गर्छ । आधारपत्र तयार गर्छ । त्यसमा आफूले छोड्ने र छोड्न नहुने विषयमा लचकताका साथ उसले आधारपत्र तयार गर्छ । उसले जे–जे बाहिर सार्वजनिक गर्नुपर्ने हो, गर्छ । नहुने कुरा सार्वजनिक गर्दैन । भित्र आफूले गर्न सक्ने सहमतिमा पुगेपछि मात्र एकताको कुरा अगाडि बढ्ला ।
त्यसकारण यो कुनै गृहकार्यमा हामी छैनौँ । यदाकदा माओवादीका साथीहरूले एकता गरौँ भनेर भनिराखेका छन्, तर उसले पनि एकताका ठोस प्रस्ताव अगाडि सारेको छैन । हामीले पनि प्रस्ताव अगाडि सारेका छैनौँ । सहकार्य र एकतामा हामी माओवादीसँगै नजिक छौँ । उसले पनि व्यवस्थित प्रस्ताव अगाडि सारेको छैन । प्रचारात्मक कुरामात्र गरिराखेको छ । हामीले प्रचारात्मक कुरा पनि गरिराखेका छैनौँ । हामी ठुला वामपन्थी शक्ति बनाउनका निम्ति सबै वाम शक्तिहरूलाई एउटै मूल प्रवाहमा ल्याउन एकीकरण गर्न सकिन्छ कि भनेर बढी छलफलमा छौँ । त्यसकारण माओवादीमात्र हाम्रो मिसन होइन । हाम्रो मिसनमा विप्लवजी पनि हुन सक्नु हुन्छ । महिन्द्रराय यादव, सीपी गजुरेलजी पनि हुन सक्नु हुन्छ । धेरै वामहरूलाई एकठाउँमा जोडेर एउटा शक्ति बनाउन सकिन्छ कि भन्ने हाम्रो कोसिस छ ।
तपाईंहरूले एमालेबाहेक कि एमालेसहितको वामपन्थी शक्ति निर्माण गर्न खोजेको हो ?
आज एमालेसँग तितो सम्बन्ध भएको हुनाले ऊसँग कुरा गर्न नसकेको मात्रै हो । अन्ततः एमालेसहित नभई बलियो वामपन्थी शक्ति निर्माण हुन सक्दैन, तर एमाले यति ठुलो विचलनमा छ कि ऊ वामपन्थी शक्ति बनाउनेभन्दा पनि आफ्नै शक्ति बनाउने होडमा छ ।
उसको नेतृत्व वामपन्थी वा कम्युनिस्टभन्दा पनि गैरकम्युनिस्ट बन्दै गरेको देखिन्छ । त्यसलाई पनि हामीले ठिक ठाउँमा नल्याइकन देशमा ठुलो र सुदृढ वामपन्थी शक्ति निर्माण हुन सक्दैन । त्यसले एमालेसँग कुराकानी गर्न केही समय पर्खनुपर्छ ।
एमालेको भदौ २०–२२ सम्म विधान महाधिवेशनले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता नवीकरणमा रोक लगाउने तयारी गरेको छ । यदि उहाँलाई रोक लगाएको खण्डमा भण्डारीसँग तपाईंहरूको सहकार्य हुन सक्छ ?
यसमा तीन वटा कुरा म प्रस्ट पार्न चाहन्छु । पहिलो विद्या भण्डारीमाथि एमालेको नेतृत्वले जे व्यवहार गर्यो, त्यो चरम अत्याचार हो ।
दोस्रो, यो अत्याचार गर्नुमा केपी ओलीमा रहेको सत्ता मोह पहिलो कारण बनेको छ । उहाँको अध्यक्ष पद नै विद्या भण्डारीले ताक्नुभयो । त्यसकारण ओलीले भण्डारीको राजनीतिक भविष्य नै समाप्त गर्नेगरी यो तिकडम गर्नुभयो ।
तेस्रो, एमालेभित्र नेतृत्व पंक्तिका अरु व्यक्ति कति निरीह, कति शब्दहीन, कति स्वाभिमान समाप्त भएका पात्र रहेछन् भन्ने कुरा यसले देखाउँछ । जसले गर्दा यसले कम्युनिस्ट पार्टीको चरित्र नै देखाउन सकेको छैन ।
केपी ओलीका छायाका रूपमा मात्रै अन्य नेताहरू बनेका छन् । ओलीका मतहतमा आवाजविहीन भएर बस्न तिनलाई खुसी लागेको हो कि यसै गर्दा मेरो आत्मसम्मान छ भनेर भक्तिभाव देखाएका हुन्, बुझ्न सकिँदैन । तर यी तीन कुरा सँगै जाहेर भएको छ । अब परिणामको हिसाबले सम्झिनुहुन्छ भने विद्या भण्डारीमाथि गरिएको अत्याचार उनलाई मात्र होइन, आम वाम आन्दोलनलाई कमजोर बनाउने घटनाक्रम भएको छ ।
त्यहाँभित्र विद्या भण्डारीको पक्षमा लागिरहेका नेता तथा कार्यकर्ताहरू जो–जो छन्, उहाँँहरू कतिको अडानका साथ निरन्तरता दिएर हिँड्नुहुन्छ, यसलाई कतिको न्यायको आवाजका साथ अगाडि बढाउनुहुन्छ ? अन्यायको न्यारेटिभभित्र यो घटनाक्रम र अघिल्ला घटनाक्रमलाई कसरी नयाँ न्यारेटिभ बनाएर उहाँहरू जान सक्नुहुन्छ, त्यसमा भर पर्छ ।
त्यसकारण अहिले असन्तोष छ भन्दैमा त्यो पार्टी अप्ठ्यारोमा परिहाल्छ भन्ने पनि म सम्झन्नँ, तर यो असन्तोष, योभित्र भएका ज्यादतिका विरुद्धमा कति संगठित भएर उत्रन सक्नुहुन्छ, त्यसका आधारमा मात्रै निर्धारण गर्छ ।
सबै पीडित मिलेर नयाँ पार्टी पुनर्गठन हुने सम्भावना छ कि छैन ?
विद्या भण्डारीको आफ्नो अडान के हो भन्ने प्रस्ट छैन । सबैभन्दा पहिला त्यसमा प्रस्ट गर्न जरुरी छ । उहाँ एमालेभित्रै संघर्ष गरिराख्ने हो कि ! सूर्य चिह्न, मदन भण्डारीको नामबाट एमालेको ब्यानरमा कार्यक्रम गरिराख्ने उहाँको आन्तरिक विषय हो ।
उहाँले खुला ढंगले विद्रोह गरेर आउँछु भन्नुभयो भनेमात्र हामीले सोच्ने ठाउँमा आइपुग्छ । त्यो विद्रोह गर्ने क्षमता उहाँले राख्नुहुन्छ वा राख्नुहुन्न, त्यसमा निर्भर रहन्छ । त्यसकारण उहाँले चाल्ने सम्भावित कदम सुनिश्चित नभएसम्म विकल्पमा सोच्न आवश्यक छैन ।
यही महिनाको अन्तिममा तपाईंको पार्टीको केन्द्रीय समिति बैठक बस्ने तयारी छ । अध्यक्षले पार्टी एकताका लागि ठोस प्रस्ताव ल्याउनुभयो भने के गर्नुहुन्छ ?
यो व्यक्तिले ल्याउने विषय नै होइन । त्यो प्रस्तावमा आइपुग्नका लागि धेरै आन्तरिक छलफल, बहस, दृष्टिकोणमा एकरुपता हुनपर्छ । व्यक्तिले ल्याएर बनिहाल्ने कुरा पनि होइन ।
आम कार्यकर्ताको रुचि र अधिकारको कुरा हो । सर्वभौम कार्यकर्ताको दृष्टिको कुरा हो । उनीहरूको राजनीतिक भविष्यसँग जोडिएको कुरा हो । त्यसकारण यो प्रस्ताव आउनु अगाडि धेरै वटा औपचारिक तथा अनौपचारिक प्रस्तावमाथि छलफल, बहस र सम्वाद नभई यस्तो प्रस्ताव आउँदैन । अहिले त्यो ठाउँमा हामी छैनौँ ।
यसको मतलब तत्काल पार्टी एकता सम्भव छैन ?
त्यसो पनि होइन । किनकि कुनै घोषणा गरेर यो मितिमा एकता गर्छु या यो मितिमा गर्दिनँ भनेर भन्नुपर्ने विषय नै होइन । वामपन्थीहरू भोलि चुनाव लड्लान् । कसैले सहकार्य गर्लान् । कसैले एकता गर्लान् ।
यहाँ कांग्रेससँग त चुनाव चिह्न साटासाट गरेर चुनाव लडेका छन् भने वामपन्थीहरू बिचमा सहकार्य हुँदैन भन्ने कुरा सोच्न हुँदैन । एकता भन्ने कुरा आज नमिलेका कुरा निश्चित समयमा गएर मिल्न सक्छ, तर त्यो ठाउँ अहिले बनिसकेको छैन । राजनीतिमा पनि अपवाद हुन्छ ।
अपवादकै कारण कांग्रेस र एमालेबिच सत्ता सहकार्य भइराखेको छ । एउटा कुरामा छ्याङ्ग छ– सहकार्यमा कुनै समस्या छैन, तर पार्टी एकीकरण सामान्य अवस्थामा हुने कुरा होइन । त्यसकारण एकताकै लेबलमा केही भएकै छैन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण