शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमालेको शुद्धीकरण र सुदृढीकरण कसरी गर्ने ?

मङ्गलबार, ३१ भदौ २०८२, १२ : १८
मङ्गलबार, ३१ भदौ २०८२

नेकपा एमाले अध्यक्ष खड्गप्रसाद ओलीलाई सर्वशक्तिमान् बनाएर तामझामका साथ दोस्रो विधान महाधिवेशन गोदावरीमा सम्पन्न भएको भोलिपल्टैदेखि सुरु भएको जेन–जी आन्दोलनले नेपालको राजनीतिमा कायापलट ल्याएको छ । नेपालको इतिहासमा कुनै पनि दलले पारित गरेका प्रस्ताव र नेतृत्व यति छिटै असान्दर्भिक भएको सायद यो पहिलो घटना हो । भदौ २२ गते विधान महाधिवेशनबाट पारित गरिएका एजेन्डा भदौ २३ गते नै असान्दर्भिक हुनु भनेको त्यो दलले जनमतको वैधता गुमाउनु हो । 

पछिल्ला दिनमा दल र जनताबिच बढ्दै गएको तर दलहरूले हमेसा नजरअन्दाज गरेकोको दूरीको स्पष्ट प्रमाण हो यो घटना; आफूले प्रस्तुत गरेका कुशासनका नमुनालाई सही ठान्दै जनतामाथि गरेको अपराधको नमुना पनि हो । गोदावरीमा फरक विचार प्रस्तुत गर्न समेत नदिई शक्तिशाली बनेर फर्केका ओलीको राजनीतिक पतन भोलिपल्टै सुरु भयो । आफ्नो सम्पूर्ण राजनीतिक जीवनलाई दाउमा राखेर पार्टी र सत्तालाई व्यक्तिगत स्वार्थको खेलमैदान बनाउँदा आज उनको शिरमा कलङ्कको टीका लागेको छ । दिग्विजय हासिल गरी सबै विरोधीलाई समाप्त पारेर आगामी ११औँ महाधिवेशनबाट अश्वमेध यज्ञ गरी आफूलाई चक्रवर्ती सम्राट बनाउने उनको सपना चकनाचुर भएको छ । 
पार्टीको लोकतान्त्रीकरणका लागि महत्त्वपूर्ण कोसेढुङ्गा साबित भएको दुई कार्यकाल र ७० वर्षे उमेर हदलाई स्विकारेको भए आज उनको यो दुःखद अवसान सायद हुने थिएन । विभिन्न कालखण्डमा आफैँ प्रस्तावक रहेको पार्टीको लोकतान्त्रीकरणलाई उनले पूर्णतः अस्वीकार गरे । परिणामस्वरूप पार्टीको आन्तरिक शक्ति क्षीण भयो र उनले कमाएको राष्ट्रवादी छवि समेत धुमिल हुन पुग्यो । 

अहङ्कारी, दम्भी त ओलीलाई लाग्दै आएका आरोप हुन् । अब असफल पनि भए तर इतिहासले ओलीलाई केवल असफल शासकको रूपमा करार नगर्न सक्छ । हिजो उषाकिरण र विन्दा पाण्डेलाई सोधिएका स्पष्टीकरण; पार्टी बैठकमा उपाध्यक्ष सुरेन्द्र पाण्डेले स्टालिनको जस्तो व्यवहार भनी टिप्पणी गर्दा ओलीले बदलाको भावले हेर्नु— आदि घटनाले पनि कतै समाजले ओलीलाई स्टालिनभन्दा पनि ठुलो क्रूर करार गरेको त छैन ? भदौ २३ गतेको नरसंहार पार्टी र उनका लागि कठोर यथार्थ साबित भएको छ तर यो अपराधमा ओली मात्र दोषी छैनन् । ‘स्वामीविना अस्तित्व असम्भव छ’ भनी लम्पसार पर्ने र ओलीकै स्वार्थको रक्षा गर्ने उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेल पनि उत्तिकै जिम्मेवार छन् ।

अब पार्टीले अविलम्ब समीक्षा बैठक बोलाउनुपर्छ तर त्यो बैठक कमसे कम ओलीको अध्यक्षतामा हुनुहुँदैन । ईश्वर पोखरेल, युवराज ज्ञवाली, रामबहादुर थापा ‘बादल’ र अष्टलक्ष्मी शाक्य उमेर हदका कारण पार्टीमा सक्रिय हुनु उचित हुँदैन । विष्णु पौडेल त अध्यक्षका खातिर विधान तोडमोड गर्ने पात्र नै हुन्, तिनको वैधानिकता बाँकी छैन ।

पोखरेलजस्ता बौद्धिक छवि भएका नेताले पनि जब दासत्व स्वीकार गर्छन्, तब राजनीतिक नैतिकता र मूल्य–मान्यताको पतन निश्चित हुन्छ । इतिहासको दुःखद यथार्थ यही हो कि यी दुवैले ‘अबको अध्यक्ष ओली’ भनेर आफूसँग पार्टी नेतृत्व गर्ने क्षमता नभएको प्रमाण बारम्बार दिइरहे । गोदावरीमा ओलीलाई तेस्रो कार्यकाल सुम्पेर ‘ओली पछि मेरो पालो’ भनी कुरिरहेका थिए भने पनि तिनले यो सोचे हुन्छ कि समयले तिनको पतनको कथा लेखिसकेको छ । इतिहासले दासत्व स्वीकार गर्ने व्यक्तिलाई कहिल्यै माफ गर्दैन । हिजो पोखरेल र पौडेलले जुन बाटो रोजे, त्यसको दाग मेटाउन भविष्यमा धेरै महँगो पर्नेछ । 

बानेश्वर संसद् भवनको गेटमा सरकारले गरेको बर्बर दमनको जवाफ त एमाले नेतृत्वले इतिहासमा दिनैपर्नेछ । यसले आम नेता–कार्यकर्तामा ग्लानि र हतासाको भावना पलाएको देखिन्छ । सत्तामा हुँदा ओलीले गरेका कमजोरीले पार्टी कमजोर र छियाछिया भएकै थियो, यसमा एउटा कलङ्क थप भएको छ । 

अब विगत सम्झेर रोएर नयाँ बाटो हिँड्न सकिँदैन । यी तमाम कमजोरीका बाबजुद पार्टी माथि उठ्नुपर्छ । पार्टी जीवनमा नयाँ ऊर्जा दिनुपर्छ तर के ओलीलाई पार्टी बैठकमा प्रश्न गर्न समेत नसक्नेहरूले यो समस्याबाट वा यो अवस्थाबाट पार पाउन सक्छन् ? सक्दैनन् । किनभने ती कायर हुन्छन् र आफ्नै कायरता र अपराध लुकाउन व्यस्त हुन्छन् । उदाहरण खोज्न अन्त जानैपर्दैन । सत्ताको चरम दुरुपयोग गरेर जिताइएका अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले कायरतापूर्वक दिएको राजीनामाबाटै यस्ता कठपुतली र कठपुतली बनाउनेबाट पार्टी चल्दैन भन्ने पुष्टि हुन्छ । 

अब पार्टीले अविलम्ब समीक्षा बैठक बोलाउनुपर्छ तर त्यो बैठक कमसे कम ओलीको अध्यक्षतामा हुनुहुँदैन । ईश्वर पोखरेल, युवराज ज्ञवाली, रामबहादुर थापा ‘बादल’ र अष्टलक्ष्मी शाक्य उमेर हदका कारण पार्टीमा सक्रिय हुनु उचित हुँदैन । विष्णु पौडेल त अध्यक्षका खातिर विधान तोडमोड गर्ने पात्र नै हुन्, तिनको वैधानिकता बाँकी छैन । यसरी हेर्दा आजको दिनमा बैठक बोलाउने वैधानिकता केवल सुरेन्द्र पाण्डेसँग बाँकी छ । उनैले भए पनि बैठक बोलाएर पार्टीको कमजोरीको निर्मम समीक्षा र आगामी दिशा तय गर्दै नयाँ सन्देश दिन सक्नुपर्छ । पार्टीले राज्यसत्तामा वा पार्टी सत्तामा गरेका हरेक कर्तुतको सामूहिक जिम्मेवारी लिने हिम्मत गर्नुपर्छ र आम कार्यकर्ता तथा जनतासँग माफी माग्नुपर्छ । पार्टीको सङ्गठित सदस्यको हैसियतले हामीजस्ता कार्यकर्ताले पार्टीका तर्फबाट माफी माग्दै आ–आफ्नो स्थानबाट घरदैलो गरौँला । आजको स्थिति आउनुमा ‘विभिन्न षड्यन्त्रको तानाबानाले हो’ भन्दै नेतृत्वले गल्ती नस्विकार्ने र गल्तीमाथि गल्ती दोहोर्‍याउने छुट अब दिनु हुन्न । ‘षडयन्त्र’ नै रहेछ भने पनि राज्यसत्ताको समेत नेतृत्व गर्नेले ‘षडयन्त्र’ विफल पार्न नाकाम रहेको ठहर गर्नुपर्छ र उसलाई अर्को ‘षडयन्त्र’को सिकार हुन दिनुहुँदैन, छुट्टी दिनुपर्छ । 

पार्टीको सङ्गठित सदस्यको हैसियतले हामीजस्ता कार्यकर्ताले पार्टीका तर्फबाट माफी माग्दै आ–आफ्नो स्थानबाट घरदैलो गरौँला । आजको स्थिति आउनुमा ‘विभिन्न षड्यन्त्रको तानाबानाले हो’ भन्दै नेतृत्वले गल्ती नस्विकार्ने र गल्तीमाथि गल्ती दोहोर्‍याउने छुट अब दिनु हुन्न ।


 

  • वामपन्थी आन्दोलनको पुनर्गठन

दलविरोधी भावना व्यापक भएको आजको समयमा वामपन्थी दलमाथि झन् तीव्र आक्रमण हुन सक्छ । आजको चुनौती सामना गर्न विचार मिल्नेहरू सङ्गठित हुन जरुरी छ । एमालेले आफ्नो नेतृत्वमा पार्टीभित्रका योगेश भट्टराई, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, महेश बर्तौलाहरू; एकीकृत समाजवादीमा रहेका घनश्याम भुसाल र रामकुमारी झाँक्रीहरू; माओवादीमा रहेका जनार्दन शर्माहरू तथा टुटफुटका कारण पार्टीबाट अलग पारिएका तारा जोशीहरूलाई मिलाएर जेन–जी पुस्तादेखिका युवालाई समेट्दै वामपन्थी आन्दोलनको पुनर्गठनको यात्रा सुरु गर्न सक्छ । हुन त हिजो नेकपा हुँदा यिनै नेताले ओली, माधव वा प्रचण्डको फेर समातेर गुटपरस्त नभई पार्टी एकता जोगाएको भए आज इतिहास फरक हुने थियो । तथापि इतिहासले फेरि एकपटक मौका दिएको छ । 

सामूहिक प्रयासले मात्र एमाले र वामपन्थी आन्दोलनलाई पुरानो गौरव फर्काउन र फेरि एउटा शक्तिको रूपमा स्थापित गर्न मद्दत गर्नेछ । एमालेले आफ्नो शक्ति पुनर्गठन गर्ने हो भने नेतृत्वको आत्मकेन्द्रित सोचमा मलजल गर्नेहरूबाट मुक्त भएर नयाँ बाटो पहिल्याउनु जरुरी छ । पार्टीलाई शुद्ध बनाउन एक व्यक्ति विशेषको कठपुतलीबाट मुक्त गरेर सामूहिक नेतृत्व र लोकतान्त्रिक मूल्यमा आधारित बनाउनु नै आजको आवश्यकता हो । यसले पार्टीभित्र गुमेको विश्वासलाई पुनःस्थापित गर्न र नयाँ पुस्तालाई आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ । एमालेलाई जनताको एमाले, सुदृढ एमाले बनाउनेछ ।  

(अनेरास्ववियु पूर्वकेन्द्रीय सदस्य हाल वैदेशिक रोजगारका निम्ति यूएई) ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विदुर गिरी
विदुर गिरी
लेखकबाट थप