शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिममा संविधान दिवस : सुशासन र समृद्धिको प्रतिबद्धतासहित जेनजी आन्दोलनलाई सम्बोधन

शुक्रबार, ०३ असोज २०८२, १४ : ४४
शुक्रबार, ०३ असोज २०८२

धनगढी। संविधान दिवस २०८२ को अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा विशेष कार्यक्रम आयोजना गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कमल बहादुर शाहले शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सुशासन र समृद्धिको मार्गमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री शाहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले दिगो शान्ति र विकासको मार्गचित्र प्रदान गरेको बताए। उनले लोकतन्त्र प्राप्तिका लागि जीवन उत्सर्ग गर्ने शहीद, बेपत्ता र घाइते योद्धाप्रति उच्च सम्मान व्यक्त गरे। 

हालैको जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शाहले शोकसन्तप्त परिवारलाई समवेदना दिए। उनले प्रदर्शनका क्रममा घाइते भएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा लगायत सबै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे।

मुख्यमन्त्री शाहले युवाहरूले उठाएका भ्रष्टाचारमुक्त शासन, समान अवसर, पारदर्शिता र जवाफदेहिताका मागहरू संविधानको मूल मर्मसँग सम्बन्धित रहेको स्पष्ट पारे। उनले भने, ‘संविधान कागजको दस्तावेज मात्र नभएर यसको प्रभावकारी कार्यान्वयनबाटै समृद्ध नेपाल निर्माण सम्भव छ।’ उनले युवा पुस्ताको मागअनुसार सुशासन, चुस्त सेवा प्रवाह र समान अवसर सुनिश्चित गर्न सरकार थप गम्भीरताका साथ क्रियाशील हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा प्रदेशसभाका सभामुख भिम भण्डारीले पनि जेनजी आन्दोलनबाट नेतृत्वले पाठ सिक्नुपर्ने र सङ्घीयतालाई थप बलियो बनाउनुपर्नेमा जोड दिए। प्रदेश प्रमुख नाजिर मियाको प्रमुख आतिथ्यतामा भएको यस कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टको समेत विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले राखेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप