काठमाडौँमा १२ वटा ‘हाई मास्ट लाइट’ जडान
सारांश
- काठमाडौँ महानगरपालिकाले उज्यालो महानगर योजनाअन्तर्गत १२ वटा हाई मास्ट लाइट जडान गरेको छ।
- महानगर प्रमुख बालेन्द्र शाहले ६२ वटा हाई मास्ट लाइट जडान गर्ने कार्य अगाडि बढेको जानकारी दिए।
- दसैँअघि नै बाँकी लाइट जडान गरिसक्ने र करिब ८५ करोडको स्ट्रिट लाइट खरिद तथा जडानको काम भइरहेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र १२ वटा ‘हाई मास्ट लाइट’ जडान गरिएको छ । काठमाडौँ महानगरपालिकाले उज्यालो महानगर योजनाअन्तर्गत हाल १२ स्थानमा ‘हाई मास्ट लाइट’ जडान गरेको हो ।
महानगरप्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरपालिकाको लगानीमा करिब रु १० करोडको लागतमा ६२ ‘हाई मास्ट लाइट’ जडान गर्ने कार्य अगाडि बढाइएको जानकारी दिए ।
उनका अनुसार आजसम्म १२ वटा जडान भइसकेको र बाँकी लाइट पनि दसैँअगाडि नै जडान गरिसकिनेछ । महानगरपालिकाले मुलुकको राष्ट्रिय बसपार्क नयाँ बसपार्कमा दुई वटा ‘हाई मास्ट लाइट’ जडान गरिसकेको छ ।
नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउदेश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले नयाँ बसपार्कभित्र तीन वटा ‘हाई मास्ट लाइट’ जडान गर्ने भनिएकामा हालसम्म दुई वटा लाइट जडान भइसकेको जानकारी दिए ।
महानगर प्रमुख शाहले अघिल्लो कार्यकालमा राखिएका तर बत्ती नबलेका दुई हजारभन्दा बढी सोलार स्ट्रिट लाइटलाई इलेक्ट्रिकलमा विस्थापित गरी हाल बलिरहेको बताए ।
महानगरपालिकाले करिब रु ८५ करोडको स्ट्रिट लाइट खरिद तथा जडानको काम अन्तिम चरणको पुर्याएको छ । उक्त लाइट जडान सम्पन्न भएसँगै उज्यालो महानगर निर्माण हुने महानगर प्रमुख शाहले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण