स्वास्थ्य मन्त्रालयमा हटलाइन सेवा पुनः सुरु
सारांश
- स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा सम्बन्धी गुनासो सुन्न हटलाइन सेवा पुन: सुरु गरेको छ।
- सेवा प्रवाहमा ढिलासुस्ती, कर्मचारीको लापरबाही लगायतका समस्याको गुनासो सुन्न यो हटलाइन प्रयोग गर्न सकिनेछ।
- यो सेवा कोभिड महामारीको समयमा सञ्चालन भएको संयन्त्रलाई थप सुदृढ बनाउन पुनःस्थापित गरिएको हो।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हटलाइन सेवा पुनः सुरु गरेको छ । स्वास्थ्य सेवा प्रवाहमा हुने ढिलासुस्ती, कर्मचारीको लापरबाही वा अन्य कुनै पनि समस्याका लागि गुनासो सुनुवाइका लागि मन्त्रालयले हटलाइन सेवा सुरु गरेको हो ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा.प्रकाश बुढाथोकीले आज एक सूचना जारी गर्दै आम नागरिकलाई स्वास्थ्य सेवा सम्बन्धी कुनै पनि गुनासो, सुझाव वा प्रतिक्रिया भए तोकिएका माध्यमबाट जानकारी गराउन अनुरोध गरेका छन् ।
यो संयन्त्र मन्त्रालय तथा यस मातहतका विभाग, केन्द्र र अस्पतालहरूबाट प्रवाह हुने सेवामा केन्द्रित हुने जनाइएको छ । कर्मचारीले गर्नुपर्ने काम नगरेको, नगर्नुपर्ने काम गरेको वा अनुचित कार्यका लागि दबाब दिएको तथा सेवा प्रवाहमा परेका कठिनाइहरूबारे यो सेवामार्फत सर्वसाधारणसँग प्रत्यक्ष संवाद हुनसक्ने जनाइएको छ ।
कोभिड महामारीको समयमा समेत प्रभावकारी रूपमा सञ्चालनमा रहेको यो संयन्त्रलाई पारदर्शिता र जबाफदेहिता थप सुदृढ बनाउन पुनः स्थापित गरिएको मन्त्रालयले जनाएको छ ।
गुनासो, सुझाव वा प्रतिक्रिया दिनका लागि निम्न माध्यमहरू प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ ।
हटलाइन नम्बर: १११५
भाइवर तथा ह्वाट्सएप नम्बर: ९८५१३३०५९२
इमेलः [email protected]
प्रवक्ताको सम्पर्क नम्बर: ९८५१२५५८३८
सूचना अधिकारीको सम्पर्क नम्बर: ९९५१३६३७५६
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण