मनमायाको मन
सारांश
- मनमाया नाम गरेकी एक महिला दसैँमा राजासाहेब आउने पर्खाइमा छिन्।
- मनमायाको जीवनमा राजासाहेबको आगमनको प्रतीक्षा र निराशाको कथा छ।
- लेखकले मनमायाको कथालाई एउटा मिथकको रूपमा चित्रण गरेका छन्।
‘थाहा छ बाबु, यो दसैँमा राजासाहेब आइसिन्छ रे !’
उनको मुहार साबिकभन्दा चम्किलो देखियो । थोरै हाँसिन् । चाउरी परेका गाला हाँस्दा केहीबेर तन्किए । केही दिन अघिसम्म नीला देखिने उनका दाँत आज अलि सेता भएका थिए, उनको कपालजस्तै । थोरै लजाएजस्तो गरिन् ।
परार साल पनि यस्तै भनेकी थिइन् मनमायाले । पोहोर दसैँमा उनीसँग भेट भएन । म घर जाँदा उनी कतै निस्किसकेकी थिइन् क्यारे ।
‘योपटक दसैँमा आउने भन्स्याथ्यो तर राजासाहेबको जरुरी काम परेछ । आइस्सेन’, पोहोर दसैँपछि भेट हुँदा यस्तो भनेकी थिइन् उनले, ‘अब अर्काे साल आइसिन्छ रे ।’
मनमायाका यस्ता थुप्रै दसैँ पर्खाइमा बितेका छन्, थुप्रै नयाँ वर्ष बितेका छन्, थुप्रै हिउँद र बर्खा बितेका छन्, थुप्रै दिन र थुप्रै रात बितेका छन् ।
ओहो ! यो पखाई ! यो माया ! यो विश्वास !
यसपालि पनि उनी पर्खाइमा छिन् । सायद यो वर्षको दसैँ पनि यत्तिकै जानेछ । जसरी कैयौँ दसैँहरू बितेका छन् । फगत पर्खाइ न हो ।
हरेक दसैँअघि सुनाउने उनको पर्खाइको उत्साहित कथा र दसैँपछि सुनाउने रेडिमेड वियोगान्त जवाफसँग म तीन वर्षदेखि अभ्यस्त छु ।
कुनै पुरानो कथाजस्तोे लाग्छ उनको पर्खाइ पनि । यस्तो लाग्छ— यो कुनै मिथक हो, कुनै राजकुमारी वा सुनकेशाको कथा हो ।
भुइँतलाको सानो अँध्यारो कोठा, साँघुरो पनि उत्तिकै छ ।
मनमायाको जिन्दगीजस्तै यो कोठामा उज्यालो छिरेको मैले कहिल्यै देखेको छैन ।
उज्यालो छिरोस् पनि कसरी ? पूर्वपट्टि झ्याल–ढोका केही छैन । पश्चिमतिर उनको ढोकाभन्दा ठिक अगाडि ठुलो घर छ । जसले मनमायाको कोठासम्म पस्ने उज्यालोलाई थुनेर राखेको छ । जस्तो, मनमायालाई आफ्नै पर्खाइले थुनेको छ यो अँध्यारो जिन्दगीमा ।
पश्चिमतर्फ भित्र–बाहिर गर्नलाई एउटा होँचो ढोका छ । झन्डै पौने पाँच फिटकी उनी भित्र–बाहिर गर्दा निहुरिनुपर्छ । नत्र उनको उचाइ ढोकाले घटाउने निश्चित छ ।
कोठाको उत्तरतिर सानो आँखीझ्याल छ । आँखीझ्यालको तल्लोपट्टि दुईवटा खापा छन् । यिनै खापा र आँखीझ्यालबाट मनमायाको कोठाभित्रको धुँवा बाहिर निस्किन झगडा गर्छ ।
बाँसको बेलनाले हम्कँदै धुवाँलाई बाहिर धकेल्न खोज्छिन् उनी तर धुवाँले कोठामै साम्राज्य जमाउन खोज्छ । बाहिर निस्किन मान्दै मान्दैन । सायद धुवाँका लागि खापा र आँखीझ्याल साँघुरा भए होलान् । धुँवालाई आफैँदेखि उकुसमुकुस हुन्छ ।
मैले धेरैचोटि देखेको छु, यस्ता दृश्य ।
के मनमायालाई यो साँघुरो कोठाबाट बाहिर निस्किन रहर छैन होला, यो धुँवाजस्तै ?
‘फेरि निस्किएर जा भने बाबु ! म कहाँ जाउँ तपाईं आफैँ भन्नुस् त !’ मनमाया बेलाबेला मसँग यस्तो गुनासो पोख्छिन् ।
उनको गुनासो सम्बोधन गर्न सक्ने ल्याकत मसँग छैन । उनको गुनासो मसँग सम्बन्धित पनि होइन । मनको बह न हो, पोख्न पाउँदा हलुङ्गो हुँदो हो उनलाई ।
थाहा छैन उनी के सम्झेर मलाई आफ्ना कुरा ‘सेयर’ गर्छिन् । कुरा गर्दागर्दै धेरैचोटि उनका आँखामा आँसु देखेको छु । जसलाई उनी बेलाबेला मजेत्रोको छेउभित्र लुकाउन खोज्छिन् ।
‘मेरा पनि छोराछोरी भएका भए तपाईंजत्रै हुन्थे होलान् बाबु !’ यस्ता दुःखेसो पोखेर मन हलुङ्गो बनाउन चाहन्थिन् सायद ।
आफ्ना दुःखका केही भारी बिसाउन पाउँदा उनी हलुङ्गी हुँदी हुन् । दुःखका भारीहरू हस्तान्तरण गर्न नपाए पनि कमसे कम बिसाउने ठाउँ छ । मैले फुर्सद भएसम्म उनका कुरा सुन्ने गरेको छु । सायद त्यही भएर पनि होला, प्रत्येकचोटि केही न केही कुरा सुनाइरहन्छिन् ।
मेरो अफिस आउने–जाने बाटोकै छेउमा छ उनको कोठा ।
पहिलोपटक तीन वर्षअघि म यो अफिसमा सरुवा भएर आउँदा उनलाई देखेको थिएँ ।
असरल्ल कपाल, गुजुमुज्ज परेको उनको धोती, एकछेउको तुना फाटेको मैलो चोलो, ठाउँठाउँबाट च्यातिएको मजेत्रो, कपालका केही हाँगाहरूमा झुन्डिएको पुरानो डोरी, कुनै मीठो प्रतीक्षा गरिरहेका जस्ता देखिने गहिरा आँखा र फुङ्ग उडेको अनुहार— यस्तै भेटेको थिएँ मैले उनलाई ।
‘बाबुसँग सलाई छ होला ?’ मसँगको पहिलो संवाद थियो, ‘आगो बालौँ भनेको सलाई सक्या रै’छ ।’
त्यसपछि के चाहियो र मनमायालाई । उनीमा खुसीको सञ्चार हुन्छ । आफ्ना नीला दाँत कोइलाले सफा गर्छिन् । दाँत भाँचिएको काँइयोले कपालका लट्टा निफन्न थाल्छिन् । पुराना कपडालाई धोइपखाली गर्छिन् । उनलाई डर छ, राजासाहेब आए भने हपार्नेछन्, ‘मनमाया यो कस्तो फोहोर गरेको ? तँ दाँत माझ्दिनस् ?’
मसँग सलाई थिएन । साथमा सलाई हुनलाई चुरोट हुनुपर्छ कि ! मलाई चुरोटमा रुचि थिएन । चुरोट नहुनेसँग संगत गर्न सलाईले त्यति रुचि पनि राख्दैन होला ।
मैले आफूसँग सलाई छैन भनेपछि उनको अनुहार केही मलिन देखियो । सायद मसँग सलाई छ भन्नेमा उनी विश्वस्त थिइन् । उनको विश्वास एकछिन पनि टिकेन । बरु योभन्दा धेरै त खहरेको भेल टिक्छ होला ।
धन्न उनको जिन्दगीको विश्वास अहिलेसम्म टिकिरहेको छ । विश्वासको कुन बुटी होला त्यस्तो, जसले मनमायालाई हरेक वर्ष टुटे पनि फेरि जोड्छ ।
‘आजै सकिएछ सलाई, पैसा पनि छैन । अब के गर्ने होला ?’ निराशा मिसिएको सानो स्वरमा बोलिन् उनी ।
उनको प्रश्नको जवाफ मैले १० रुपैयाँले दिएँ । त्यतिबेला मायाले भन्दा पनि दयाले त्यसो गरेको थिएँ । सोचेँ, यो पैसाले कम्तीमा उनले सलाई/लाइटर किन्नेछन् र बाल्नेछन् उनको प्रतीक्षाजस्तै चिसा भइसकेका दाउराहरू ।
०००
कोठाबाट बेस्सरी धुँवाको मुस्लो निस्किरहेको थियो ।
सोचेँ, मनमायाको कोठामा आगलागी भयो । दौडेर उनको कोठा पुग्दा उनी बेस्सरी आगो फुक्दै थिइन् ।
भुइँ चिसो र निकै ओसिलो थियो । कोठाको एउटा कुनामा पुराना ओढ्ने–ओछ्याउने थिए । चुलोको नजिकै केही थान पुराना भाँडावर्तन । जोसँग मनमायाको जिन्दगी यहाँसम्म आइपुगेको थियो । अर्काे कुनामा पानी राख्ने सानो आल्युनियमको गाग्री थियो ।
चुलोमा थोरै सल्लीपिर होलेकी थिइन् । केही थान साना झिँजा पनि थिए । सल्लीपिरको सहायताले झिँजा सल्काउने उनको सोच हुँदो हो । हेर्दै ओसिलो लाग्ने सल्लीपिर र झिँजा सितिमिति बल्ने सुरसारमा थिएनन् ।
सोचेँ, झिँजाले पनि उनलाई टेरेनन् । झिँजाले पनि बल्न झिजो माने ।
उनलाई टेर्ने को छ र यहाँ ? कैयौँपटक टोलका फटाहा बच्चाहरू आएर उनको ढोकामै पिसाब गरेर जान्छन् । कहिले कोठाभित्र पानी हुर्याइदिन्छन् । ‘लाटी’ भनेर जिस्काउँछन् ।
उनलाई न्याय दिलाउने कसले ? उनले कोसँग न्यायको आस गरुन् ? वा, आफूमा परेको अन्यायको प्रतिकार गरुन् ।
आगो फुक्दा फुक्दा मनमायाको आँखा रसाइसकेका थिए । नाकबाट सिँगान निस्किन खोज्दै थियो । अनुहार पिरो भइसकेको थियो । सिँक्क गर्दै उनले सिँगान फालिनन्, बरु नाकले भित्र तानेर निलिन् ।
उनको त्यो अवस्था देखेर केही भन्न सकिनँ, केही गर्न सकिनँ । पर्सबाट एक सय रुपैयाँको नोट निकालेर उनको हातमा थमाइदिएँ र भनेँ, ‘आमा जानुस्, मट्टीतेल किनेर ल्याउनुस् ।’
मनमाया आफैँमा एउटा इतिहास हुन् जस्तो लाग्छ ।
मनमायाको मस्तिष्क मात्र सुस्त भएको हो, शरीर होइन । शरीर उमेर अनुसार बढ्दै गयो । जवानीका चिह्नहरू प्रस्टै देखिन थाले । उनी गुलाबजस्तै बिस्तारै फक्रँदै गइन् । एकदिन ‘राजाका छोरा’ले त्यसलाई बिटुलो बनाइदिए ।
कति दुःख अटाएको होला यिनको जीवनमा ? कति आरोह र अवरोह होलान् यिनको जिन्दगीमा ? दुःखले मान्छेलाई इस्पात बनाउँछ भन्छन् । के मनमाया इस्पात बनिसकिन् ? वा बन्दै छन् ?
सानैबाट उनलाई एउटा समस्या छ । उनी सुस्त मनस्थितिकी छन् । बोल्दा जिब्रो लर्र्बरिन खोज्छ । र, उनको सबैभन्दा ठुलो कमजोरी भनेको अरुले जे भन्यो त्यही पत्याइदिन्छिन् । कसैले रातोलाई कालो भन्दियो भने पनि ‘ए हो र ? मेरा आँखा कमजोर भएछन् उसो भए’ भनेर चित्त बुझाउँछिन् ।
मनमाया यस्तै १४ वर्षकी थिइन् ।
गाउँबाट उनका बाले सदरमुकाम लिएर आए । सदरमुकामकै एकजना राजासाहेबको घरमा काम गर्न राखेर उनी फर्किए । सदरमुकामका ठकुरी, त्यसमा पनि राजाखलकमा भएपछि सान नै बेग्लै । उनीहरूलाई अरुले बोलाउँदा राजासाहेब भन्थे । उनीहरूलाई लाग्थ्यो होला, हामी नै राजा हौँ ।
राजासाहेबको घरमा छोरीलाई काम गर्न राख्न पाउनु मनमायाका बाबुका लागि गर्वको कुरा हुँदो हो । उनले छाती फुलाउँदै गाउँभरि भने होलान्— मेरी छोरी त राजाको घरमा छे ।
विडम्बना ! उनका बाबु त्यसपछि कहिल्यै छोरीको खबर बुझ्न आएनन् । मनमायाले पनि कहिल्यै घर जान पाइनन् ।
‘मैले आफ्नो घर कता हो भन्नेसम्म बिर्सिएँ, कसरी जानु ?’ मनमाया यस्तो भन्छिन् ।
मनमायाको मस्तिष्क मात्र सुस्त भएको हो, शरीर होइन । शरीर उमेर अनुसार बढ्दै गयो । जवानीका चिह्नहरू प्रस्टै देखिन थाले । उनी गुलाबजस्तै बिस्तारै फक्रँदै गइन् । एकदिन ‘राजाका छोरा’ले त्यसलाई बिटुलो बनाइदिए । त्यही दिनदेखि मनमायाका पर्खाइका दिनगन्ती सुरु भएका हुन् । उनले सुरुमा बिहे गर्छु भनेका थिए । मनमायाले सहजै पत्याइदिइन् ।
राजाका छोराभित्र लुकेको कामवासनालाई उनले सोच्नै सकिनन्, पापको घैँटोलाई देख्न सकिनन् । उनको प्रतिकार गर्ने त झन् उनको ‘हैसियत’ नै पुग्थेन ।
अहिले आएर पनि मनमायालाई राजाका छोराले गल्ती गरेका हुन् भन्ने चाहिँ लाग्दैन । ‘उहाँले त बिहे गर्छु भन्स्याथ्यो,’ मनमाया ती दिन सम्झिन्छिन्, ‘बुवा हजुर र मुवा हजुरले नमानिसेर मात्र हो ।’
उनी काम गर्न बसेको घर बिस्तारै रित्तियो । त्यसै गरी उनको जिन्दगी पनि रित्तियो । घर बुढो भयो, मनमाया पनि बुढी हुँदै गइन् ।
राजा साहेबका परिवार बसाइँ सरेर सहर पसे । जाने बेला राजासाहेबका छोराले भनेका थिए, ‘म अर्काे साल आउँछु तँलाई लिन, पर्खेर बस्नु ।’
त्यस्ता धेरै वर्ष बितिसकेका छन् तर अर्काे साल भने अहिलेसम्म आएको छैन । अहिले घरमा राजा खलकपट्टिका आफन्तहरू बस्छन् । मनमायालाई त्यही घरमा एउटा कोठा दिएका छन् । त्यही कोठाबाट पनि बेला बेला निस्केर गइहाल् भन्छन् । बिचरा मनमायाको प्रश्न जायज छ, ‘म निस्केर कहाँ जाउँ ?’
उनको भाग्यमै काम गर्न मात्रै लेखेको छ, सायद ।
बाँच्नलाई भए पनि काम नगरी सुख छैन । उनी मर्न पनि सक्दिनन् । मर्न यसर्थ सक्दिनन् कि उनलाई मर्ने सोँच नै आउँदैन । अर्काे कुरा, उनलाई लाग्छ राजासाहेब एक दिन फर्केर आउनेछन् ।
कहिले अरुको घरको माटो बोकिदिने, कहिले दाउरा बोकिदिने आलि काम गरेर मनमाया बाँचिरहेकी छन् । कैयौँपटक विलासपुरको उकालोमा दाउराको भारी बोक्न नसकेर उनलाई रिँगटा लागेको छ । थाहा छैन, उनले यसरी कति दिनसम्म बाँच्नुपर्ने हो ।
बेला बेला छिमेकीहरू सुनाइदिन्छन्, ‘यो दसैँमा राजासाहेबको सवारी हुन्छ रे ।’
त्यसपछि के चाहियो र मनमायालाई । उनीमा खुसीको सञ्चार हुन्छ । आफ्ना नीला दाँत कोइलाले सफा गर्छिन् । दाँत भाँचिएको काँइयोले कपालका लट्टा निफन्न थाल्छिन् । पुराना कपडालाई धोइपखाली गर्छिन् । उनलाई डर छ, राजासाहेब आए भने हपार्नेछन्, ‘मनमाया यो कस्तो फोहोर गरेको ? तँ दाँत माझ्दिनस् ?’
राजासाहेब अब फर्किंदैनन् भन्ने कुरा मनमाया पत्याउँदिनन् । थाहा छैन, किन उनको पर्खाइ यति एकोहोरो छ ?
मनमायाजस्ता राजासाहेबका थुप्रै मान्छे थिए, जसलाई उनले भोगेका थिए । कतिबाट बच्चा पनि भएका थिए । धन्न मनमायाबाट चाहिँ भएनन् । जिल्ला छाडेसँगै राजासाहेबले उनीहरूलाई छाडेर हिँडेका थिए । त्यतिबेलै पनि त राजासाहेबको बिहे भइसकेको थियो, जतिबेला उनी मनमायालाई भोग्थे । बिहे गरिसकेका मान्छेले ‘बिहे गर्छु’ भन्दा पनि पत्याइदिइन् मनमायाले ।
हरेक वर्ष राजासाहेब आउने खबर झुटो हो र आउन भ्याएनन् भन्ने खबर पनि झुटो हो भन्ने कुराको हेक्का राखिनन्, मनमाया यस्तैछिन् ।
सायद उनलाई सान्त्वना दिन होला, उनको लामो प्रतीक्षा देखेर होला । छिमेकीहरू हरेक दसैँअघि उनलाई भनिदिन्छन् कि राजासाहेब यसपालि दसैँमा आउँदै छन् भनेर ।
दसैँपछि उनीहरू नै खबर गर्छन्, ‘राजासाहेबको जरुरी काम पर्यो रे । अब अर्काे वर्ष सवारी हुन्छ रे ।’
ही ‘रे’ को डोरीमा विश्वासको गाँठो पारेर समय पर्खिन्छिन् मनमाया ।
०००
‘ए हो र ? ल गज्जबै भयो नि उसो भए ।’ उनको कुरा सुनेपछि मैले भनिदिएँ । अनि सोधँे, ‘राजासाहेबले के ल्याइदिने रे आमा तपाईंलाई ?’
‘खोइ एउटा रातो साडी ल्याइदिने भन्स्या छ रे,’ थोरै लजाएजस्तो गरिन्, ‘अरु कुरा त उहाँ यता सवारी भएपछि किन्दिसिन्छ होला ।’
बिचरा मनमाया ! उनको यो खुसी बालुवाको घर हो भन्ने उनलाई थाहा छैन । यसपालि पनि उनको पर्खाइ निस्तो हुनेछ भन्ने उनलाई हेक्कै छैन ।
फर्किने बेला एक हजारको नोट उनको हात थमाउँदै भनेँ, ‘ल आमा राजासाहेबले ल्याइदेको मिठाइ चाहिँ मलाई पनि चखाउनुपर्छ है !’
बजारमा दसैँको चहलपहल निकै भइसकेको छ, किन्नेहरू किनिरहेका छन्, बेच्नेहरू बेचिरहेका छन्, घर जानुपर्ने जाँदै छन्, आउनुपर्ने आइराखेकै छन् ।
मेरो पनि अफिस बिदा भइसकेको छ, अब दसैँपछि मात्र खुल्छ । दसैँ बिदामा पढ्नुपर्छ भनेर केही थान किताब पनि ल्याएको छु तर किताबमा त्यति रुचि गएन ।
किताबको पाना पल्टाउँदा पनि घरीघरी मनमायाको अनुहार सम्झिन्छु, उनका आँखा सम्झिन्छु, उनको पर्खाइ सम्झिन्छु र दसैँपछि अफिस जाँदा मलाई भेट्नेबित्तिकै मनमायाले भन्ने रेडिमेड जवाफ सम्झिन्छु ।
मनमायाका विषयमा एउटा कथा लेखौँ कि जस्तो नलागेको होइन तर कैयौँपटक ल्यापटप खोले पनि कथा कहाँबाट सुरु गर्ने भन्ने अन्र्तद्वन्द्वका कारण सकेको छैन । फेसबुक पनि कति चलाउनु ! तासप्रति रुचि छैन भन्दा हुन्छ । त्यही भएर होला, गाउँमा खास साथीभाइ पनि छैनन् ।
मलाई दसैँको यो पाँच–सात दिनको बिदा पनि निकै लामो र पट्टयारलाग्दो लाग्छ । दसैँ भनेकै जाँड–रक्सी र तास हो भन्नेलाई त निकै छोटो लाग्दो हो तर आफू त्यसमा परिएन । त्यसैले होला पाँच–सात दिनको पर्खाइ पनि बहुत लम्बेतान लाग्छ ।
त्यति नै बेला मनमायालाई सम्झिन्छु— साँच्चै उनलाई वर्षाैंदेखिको पर्खाइले अत्यास लाग्दैन होला ? सोध्नेछु कुनै दिन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण