आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकामा हटेन ‘सटडाउन’, खर्च विधेयक पारित गर्ने प्रयास फेरि विफल

मङ्गलबार, २१ असोज २०८२, १५ : २१
मङ्गलबार, २१ असोज २०८२

सारांश

  • अमेरिकी सिनेटमा सरकारी कामकाज पुनः सुचारु गर्ने प्रयास पाँचौँ पटक असफल भयो।
  • राष्ट्रपति ट्रम्पले डेमोक्रेटहरूसँग सम्झौता गर्न तयार रहेको बताए, तर दुवै दलका प्रस्तावहरू विफल भए।
  • सरकारी कामकाज ठप्प पार्ने विषयमा डेमोक्रेट र रिपब्लिकनबीच आरोप प्रत्यारोप चलिरहेको छ, जसले देशभर असर पारेको छ।

वासिङ्टन डीसी । अमेरिकी सिनेटमा सोमबार पाँचौँ पटक पनि सरकारी कामकाज पुनः सुचारु गर्नुपर्ने खर्च विधेयक पारित गर्ने प्रयास असफल भएको छ। डेमोक्रेट र रिपब्लिकन दुवै दलका प्रस्तावहरू आवश्यक ६० मतको थ्रेसहोल्ड पार गर्न सकेनन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले दिनको सुरुवातमै अर्को मतदान पनि असफल भएमा सरकारी कर्मचारीहरूलाई सामूहिक रूपमा कामबाट निकाल्ने चेतावनी दोहोर्‍याएका थिए। पाँच दिनअघि बजेट सकिएपछि हजारौँ संघीय कर्मचारीहरूलाई अनिवार्य बिदामा बस्न वा बिना तलब काम गर्न आदेश दिइएको थियो।

राष्ट्रपति ट्रम्पले गतिरोध अन्त्यका लागि र स्वास्थ्य सेवा सम्बन्धी विषयमा डेमोक्रेटहरूसँग सम्झौता गर्न आफू तयार रहेको बताएका छन्। तर रिपब्लिकनहरू ‘स्वच्छ खर्च विधेयक’ पारित गर्न दबाब दिइरहेका छन्। सोमबार सिनेटमा डेमोक्रेट नेतृत्वको विधेयक ४५–५० मतले असफल भयो भने रिपब्लिकन पक्षले प्रस्तुत गरेको प्रस्ताव पनि ५२–४२ मतले अस्वीकृत भयो।

मतदानपछि ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै “सरकारी कामकाज ठप्प पार्ने जिम्मेवार डेमोक्रेटहरू हुन्” भन्दै आरोप लगाएका छन्। उनका अनुसार डेमोक्रेटहरूले कम आय भएका अमेरिकीहरूका लागि स्वास्थ्य सेवा विस्तारको नाममा बजेट अवरोध गरिरहेका छन्।

तर डेमोक्रेट नेताहरूले यो आरोप अस्वीकार गर्दै, रिपब्लिकन प्रस्तावले कम आय भएका अमेरिकीहरूका लागि चिकित्सा पहुँच घटाउने भएकाले आफूहरूले समर्थन गर्न नसकेको बताएका छन्।

रिपब्लिकनहरूले भने बारम्बार डेमोक्रेटहरूलाई कागजातविहीन आप्रवासीहरूलाई स्वास्थ्य सेवा दिनका लागि सरकारी कामकाज ठप्प पारेको आरोप लगाएका छन्।

यसबीच, सटडाउन जारी रहेकाले संघीय निकायका धेरै काम अत्यावश्यक सेवाबाहेक ठप्प भएका छन् र त्यसको असर देशभर परिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप