शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
सम्पादकहरूसँग ओली

प्रचण्डलाई प्रमाण सार्वजनिक गर्न चुनौती दिँदै सुशीलाको सिफारिसबारे ओलीले के भने ?

आइतबार, ०२ कात्तिक २०८२, १५ : २९
आइतबार, ०२ कात्तिक २०८२

सारांश

  • एमाले अध्यक्ष केपी शर्मा ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्रीको रूपमा सिफारिस गरेको भन्ने दाबीलाई असत्य बताए।
  • ओलीले आफ्नो सिफारिस पत्रमा कसैको नाम उल्लेख नगरिएको र राष्ट्रपतिलाई आवश्यक निर्णय लिन आग्रह गरेको बताए।
  • प्रचण्डले ओलीकै सिफारिसमा कार्की प्रधानमन्त्री भएको दाबी गरेपछि ओलीले प्रमाण सार्वजनिक गर्न चुनौती दिए।

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सुशीला कार्कीलाई प्रधानमन्त्रीको रूपमा सिफारिस गरेको भन्ने दाबी असत्य रहेको बताएका छन्।

उनले त्यो प्रसङ्गमा आफ्नो सिफारिस पत्रको भाषा स्पष्ट रहेको बताउँदै भ्रम फैलाउनेलाई प्रमाण सार्वजनिक गर्न चुनौती दिएका छन्।

ओलीका अनुसार, उक्त सिफारिसपत्रमा कुनै व्यक्तिको नाम उल्लेख गरिएको थिएन। उनले भने, ’मेरो सिफारिसको भाषा के छ भने — वर्तमान असहज र असाधारण अवस्थामा संविधान र लोकतान्त्रिक परिपाटीलाई पुनः शान्तिपूर्ण स्थितिमा फर्काउन आवश्यक कदम चाल्नका लागि सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक भएकाले संविधानभित्रैबाट आवश्यक निर्णय लिन सिफारिस गर्दछु।’

उनले थपे, ’त्यसमा सुशीला कार्की भन्ने वा अरू कोही भन्ने कुरा छैन। संविधान र संसद् नचलाउनुपर्ने भन्ने कुरा राष्ट्रपतिको उपस्थितिमा, म कार्यवाहक प्रधानमन्त्री र प्रधानसेनापति भएको बैठकमै मैले सिफारिस गरेको थिएँ।’

ओलीले आफ्नो सिफारिसको प्रतिलिपि अहिले आफूसँग नभए पनि आधिकारिक अभिलेखमा त्यसको प्रमाण रहेको दाबी गरे। ’परेको बेला प्रति त निस्किहाल्छ। राष्ट्रपतिसँग त छ नि। प्रचण्डसँग प्रमाण छ भने निकाले हुन्छ,’ ओलीले चुनौती दिँदै भने। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीकै सिफारिसमा कार्की प्रधानमन्त्री भएको दाबी गर्दै आएका बेला ओलीले प्रमाण सार्वजनिक गर्न चुनौती दिँदै यस्तो बताएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप