शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

कर्णाली प्रदेश सभा पुनर्निर्माणमा मुख्यमन्त्रीको जोड

मङ्गलबार, ११ कात्तिक २०८२, १८ : ३२
मङ्गलबार, ११ कात्तिक २०८२

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त प्रदेश सभा भवनको तत्काल पुनर्निर्माण कार्य सुरु गर्न निर्देशन दिएका छन् । 

‎प्रदेशको गौरव र राज्यको प्रतिष्ठासँग जोडिएको महत्त्वपूर्ण संरचनालाई लामो समयसम्म जीर्ण अवस्थामा राख्न नहुने भन्दै उनले शीघ्र मर्मत तथा सरसफाइ अभियान चलाउन जोड दिएका हुन् ।

‎मंगलबार प्रदेश सभाका सभामुख नन्दा गुरुङ र प्रदेश सभा सचिव जीवराज बुढाथोकीसँग प्रदेश सभा परिसरमा भएको भेटघाटका क्रममा कँडेलले हल बाहेकका अन्य संरचनाको पुनर्निर्माण कार्य नियमित बजेटबाटै थाल्न सुझाव दिए । 

‎उनले भने, 'बजेटको अभावलाई कारण बनाएर काम रोक्ने बेला छैन । तत्काल काम सुरु गर्नुहोस्, आवश्यकता परे प्रदेश सरकारले थप बजेटको व्यवस्था गर्छ ।’

‎मुख्यमन्त्री कँडेलले सुरुवाती चरणमा आवश्यक आधारभूत व्यवस्थापनहरू जस्तै प्लास्टिकका कुर्सीको प्रबन्ध, सामान्य सरसफाइ लगायतका काम १० दिनभित्र सम्पन्न गरी प्रशासनिक भवनको व्यवस्थापन मिलाउन निर्देशन दिए ।

‎गत भदौ २४ गतेको आन्दोलनपश्चात् करिब ५० दिन बितिसक्दा पनि प्रदेश सभा परिसरमा सरसफाइ र पुनर्संरचनाको काम सुरु नभएकोमा उनले असन्तुष्टि व्यक्त गरे । ‎

'कर्मचारीहरू हुनुहुन्छ, तर ढलेका बोर्डहरू, फोहोर र क्षतिग्रस्त वस्तुहरू उठाउने काममा पनि ध्यान पुगेको छैन,’ उनले भने, ’अब सबैले परिस्थिति सामान्य बनाउन अग्रसर हुनुपर्छ ।'

‎मुख्यमन्त्री कँडेलले प्रदेश सरकारको प्राथमिकतामा प्रदेश सभा भवनको पुनर्निर्माण, प्रशासनिक सेवाको सहजता र सभाको नियमित बैठक सञ्चालन सुनिश्चित गर्ने विषयहरू रहेको बताए ।‎

‎सभामुख गुरुङ र सचिव बुढाथोकीले मुख्यमन्त्रीको निर्देशनबमोजिम भवन पुनर्निर्माणका लागि आवश्यक सहयोग र प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।‎

‎जेनजी आन्दाेलनका क्रममा प्रदेश सभालाई पूर्ण रूपमा ध्वस्त पारिएको छ। प्रदेश सभाका अनुसार, आन्दोलनबाट सभाको झण्डै चार करोड आर्थिक क्षति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप