बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

गल्फर अवानी राईलाई भारतमा प्रशिक्षण, आरसीएचजीसँग छात्रवृत्ति सम्झौता

बुधबार, १२ कात्तिक २०८२, २० : २०
बुधबार, १२ कात्तिक २०८२

काठमाडौँ । रोटरी क्लब अफ हिमालयन गल्फर्स (आरसीएचजी) र उदयिमान युवा गल्फर अवानी राईबिच बुधबार सम्झौता भएको छ । अवानीको व्यावसायिक गल्फ तालिम तथा अध्ययनका लागि उनका अभिभावक मनोज खालिङ र क्लबका अध्यक्ष दमन घलेबिच सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार, आरसीएचजीले अवानीलाई भारतको बेङ्गलोरस्थित तरुण सरदेसाई गल्फ एकेडेमीमा एक वर्षको प्रशिक्षणका लागि छात्रवृत्ति प्रदान गर्नेछ । यस अवधिमा उनको अध्ययन पनि सँगै अघि बढ्नेछ । उनको तालिम र अध्ययनमा लाग्ने कुल खर्चमध्ये ८० प्रतिशत आरसीएचजीले र बाँकी २० प्रतिशत परिवारले व्यहोर्नेछ ।

आरसीएचजीको प्रमुख परियोजना ‘गल्फ फर अल’ अन्तर्गतको यो पहिलो कार्यक्रम हो, जसको उद्देश्य देशभरका युवाहरू, विशेषगरी महिलाहरूलाई, गल्फ खेलप्रति आकर्षित गर्दै अवसर सिर्जना गर्नु रहेको छ ।

क्लबका अध्यक्ष दमन घलेले यो सम्झौता नेपालका युवा प्रतिभामा लगानी गर्ने आरसीएचजीको प्रतिबद्धताको प्रतीक भएको बताए । उनले यो साझेदारी अवानीको सम्भावना र नेपाली गल्फको उज्ज्वल भविष्यप्रति क्लबको विश्वासको अभिव्यक्ति भएको उल्लेख गरे ।

अवानीका पिता मनोज खालिङले क्लबप्रति आभार व्यक्त गर्दै अवानीको समर्पणलाई पहिचान गरी उनको सपना पूरा गर्न सहयोग गरेकोमा धन्यवाद दिए ।

क्लबकी निर्वाचित अध्यक्ष आरती राणाले यो साझेदारीले गल्फ क्षेत्रमा महिलाको सशक्तीकरणतर्फ क्लबको दीर्घकालीन दृष्टिकोणलाई बलियो बनाएको बताइन् ।

उनले यसलाई आर्थिक सहयोग मात्र नभई सम्भावनामा विश्वास गर्ने क्लबको दृष्टिकोणको प्रतिबिम्ब भएको उल्लेख गरिन् ।आरसीएचजीले आगामी नोभेम्बर १ मा गोकर्ण फरेस्ट रिसोर्टमा ‘द हिमालयन स्विङ ओपन २०२५’ च्यारिटी गल्फ प्रतियोगिता आयोजना गर्दैछ ।

क्लबले यस प्रतियोगिताबाट ४० देखि ५० लाख रुपैयाँ सङ्कलन गर्ने योजना बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप