मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

दुई ‘पावरहाउस’को भिडन्त : के भन्छ तथ्याङ्क ?

शुक्रबार, २२ असार २०७५, १० : २८
शुक्रबार, २२ असार २०७५

एजेन्सी । ब्राजिल र बेल्जियम, फिफा बरियतामा दोस्रो र तेस्रो स्थानमा रहेका दुई टोली, आज विश्वकपको दोस्रो क्वाटरफाइनल खेलमा आमने सामने हुँदैछन् । विश्वको ध्यान आज यी दुई पावरहाउसको खेलमा अडिएको हुनेछ ।

बेल्जियम : प्रतियोगिताको उत्कृष्ट अट्याक

कम्तिमा गोलको आधारमा मापन गर्ने हो भने । रेड डेभिल्सले हालसम्म अन्य टोलीको तुलनामा सर्वाधिक १२ गोल गरेको छ । 

यसमध्ये विश्वकै छैटौँ महङ्गो खेलाडी रोमेलु लुकाकुले ४ गोल गरेका छन् । आजको खेलमा उनले गोल गर्न सक्ने छैनन् भनेर सायदै कसैले बाजी राख्ला । 

राउण्ड अफ १६ मा जापानबिरुद्ध २–० ले पछि परेको अवस्थामा गरेको ३–२ को उत्कृष्ट पुनरागमनले बेल्जियमको यसपटकको मनस्थितिलाई दर्शाउँछ । विश्वकपको इतिहासमा कुनै पनि टोलीले दुईले पछि परेको स्थिति उल्टाउँदै खेल जितेको यो ४८ वर्षमा पहिलो पटक हो ।

तर ब्राजिलविरुद्ध यो उत्कृष्ट आक्रमणले उत्कृष्ट डिफेन्सको सामना गर्नेछ । यसअघि ब्राजिलको फुटबल भनेको ‘केयर फ्रि’ र साम्बा स्टाइल भनेर चिनिन्थ्यो । उनीहरुले पाँच गोल गर्दा चार गोलसम्म खाँदा खुसी हुन्थे । तर, अहिले परिस्थिति बदलिएको छ ।

अवश्य पनि ब्राजिलसँग उत्कृष्ट अट्याकिङ खेलाडी छन् । तर, यो टोली डिफेन्सको वरिपरी बनेको छ, पछिल्लो २५ खेलमध्ये १९ खेलमा एक पनि गोल खाएको छैन । यो विश्वकपमा पनि यो टोलीले हालसम्म मात्र एक गोल मात्र खाएको छ ।

सबैको आँखा नेयमारमा

यो त सधैँ भइरहेकै हो । ब्राजिलका फरवार्ड यो विश्वकपमा सबैको केन्द्रविन्दु बनेका छन् – कहिले उत्कृष्ट प्रदर्शनले त कहिले नाटकीय प्रदर्शनले ।

घाइते हुँदै तीन महिना मैदानबाहिर रहेपछि विश्वकपमा फर्किएका नेयमारले यो विश्वकपमा २४ वटा गोलका प्रयास गरेका छन्, यो कुनै पनि खेलाडीभन्दा धेरै हो । र, उनले दुई गोल गरिसकेका छन् । 

राउण्ड अफ १६ मा मेक्सिकोबिरुद्ध उनले एक गोल गर्दै र अर्को गोलको अवसर सृजना गर्दै आफ्नो उत्कृष्ट खेलको केही झलक देखाए ।

लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो बाहिरिसकेको अवस्थामा अब यो विश्वकपको स्टेज उनी एक्लैको हो । तर, उनको चर्चा उनको खेलको लागि भन्दा अहिले उनको नाटकीय प्रस्तुतिका लागि भइरहेको छ । कयौँ मिम बनेका छन् । वास्तवमा मैदानमा एकपछि अर्को बल्ड्याङ खाने नेयमार कसैले हेर्न चाहँदैनन् । जब उनले राम्रो खेल्छन् उनी उत्कृष्ट देखिन्छन् । नाटकीय अभिनयले उनको खेलमा ग्रहण लाग्न दिनुहुँदैन ।

ब्राजिलको चुनौती डि ब्रुयना

यो खेलमा ब्राजिलसँग ‘मिडफिल्ड इनफोर्सर’ कासिमेरो छैनन् । दुईवटा पहेँलो कार्ड खाएपछि रियल म्याड्रिडका यी मिडफिल्डरले आजको खेल खेल्न पाउने छैनन् ।

म्यान्चेस्टर सिटीमा जस्तै केभिन डि ब्रुयनाले यस विश्वकपमा खेल देखाउन सकेका छैनन् । जापानविरुद्धको खेलमा उनी लामो समय निश्क्रिय जस्तै थिए । तर, जब टोलीलाई उनी चाहिएको थियो उनले आफ्नो पेनाल्टी बक्सबाट बल अघि बढाउँदै निर्णायक गोलका लागि अवसर सृजना गरे ।

कासिमेरोको अनुपस्थितिमा ब्राजिलले डि ब्रुयनालाई रोक्न फर्नान्डिन्होको भरोसा गर्नेछ । किनभने दुई खेलाडी एउटै क्लबबाट खेल्छन् । डि ब्रुयना पनि दोस्रो पहेँलो कार्ड खाएर अर्को खेल गुमाउने खतरामा छन् ।

टोलीमा फेरबदल

कासिमेरोको स्थानमा फर्नान्डिन्होले खेल्ने प्रशिक्षक टिटेले जानकारी दिइसकेका छन् । यता, गत खेलमा पूर्णरुपमा ठीक हुन नसकेका मार्सेलो यो खेलका लागि तयार छन् । उनले फिलिपे लुइजसँग शुरुवाती ११ का लागि प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै विङ्गर डगलस कोस्टा पनि चोटमुक्त हुँदै टोलीमा फर्किएका छन् ।

यता, बेल्जियम पनि अडान जानुजाज फिट हुनेमा आशावादी छ । उनले पछिल्लो खेल चोटका कारण गुमाएका थिए ।

यसबाहेक टोलीमा चोटबारे कुनै समस्या नरहेको प्रशिक्षक रोबर्टो मार्टिनेजले बताएका छन् ।

के भन्छन् प्रशिक्षक ?

ब्राजिलका प्रशिक्षक टिटे – यो उत्कृष्ट खेल हुनेछ । दुवै टोलीले राम्रो फुटबल खेलिरहेको छ । बेल्जियमसँग राम्रो खेलाडी र प्रशिक्षक छ । मैले सधैँ बेल्जियमलाई उपाधिको दाबेदारको रुपमा हेर्ने गरेको छु ।

बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेज – हामीलाई शक्ति चाहिनेछ । हामीले राम्रो रक्षात्मक खेल देखाउनुपर्नेछ र हामीसँग बल हुँदा उनीहरुलाई चोट दिन सक्नुपर्नेछ ।

केही तथ्य

– दुई टोलीबीच यो पाँचौ भिडन्त हुनेछ । पहिलो पटक दुई टोली सन् १९६३ मा मैत्रिपूर्ण खेलमा भिडेका थिए । उक्त खेल बेल्जियमले ५–१ ले जितेको थियो । तर, त्यस यता तीन खेल ब्राजिलले जितेको छ ।

– दुई टोली पछिल्लो पटक सन् २००२ को अन्तिम १६ मा भिडेका थिए । उक्त खेलमा ब्राजिल सन् २–० ले विजयी बनेको थियो ।

ब्राजिल

– ब्राजिल विश्वकपको क्वाटरफाइनलमा पुगेको यो लगातार सातौँ पटक हो । यसक्रममा क्वाटरफाइनलमा ब्राजिल दुईपटक मात्र पराजित भएको छ । सन् २००६ मा फ्रान्स विरुद्ध र सन् २०१० मा नेदरल्याण्डबिरुद्ध ।

– ब्राजिल पछिल्लो ६ पटक विश्वकपमा युरोपियन टोलीबाट नै पराजित भएको छ ।

– पछिल्लो पटक ब्राजिलले नकआउट चरणमा युरोपियन टोलीबिरुद्ध हासिल गरेको जीत भनेको सन् २००२ को विश्वकपको फाइनलमा जर्मनीबिरुद्ध हो ।

– ब्राजिल पछिल्लो १५ खेलमा अपराजित रहेको छ । यसक्रममा ११ जीत र ४ बराबरी खेल्दै ब्राजिलले मात्र ३ गोल खाएको छ ।

– टिटेको नेतृत्वमा ब्राजिलले २५ खेलमध्ये २० जीत जितेको छ ( चार बराबरी, एक हार) । यसमा १९ खेलमा क्लिन सिट राखेको छ ।

– पछिल्ला १९ खेलमा नेयमार ब्राजिलको २० गोलमा संलग्न छन् । यसक्रममा उनले ११ गोल तथा ९ वटा गोलको अवसर सृजना गरेका छन् ।

बेल्जियम
– बेल्जियमको पछिल्लो दुई विश्वकप अभियान दक्षिण अमेरिकी टोलीले अन्त्य गरेको थियो । सन् २००२ मा ब्राजिल र सन् २०१४ मा अर्जेन्टिनाले ।

– आजको खेलमा जीत हासिल गरे बेल्जियम सन् १९८६ पछि पहिलो पटक र इतिहासमा दोस्रो पटक सेमिफाइनलमा पुग्नेछ ।

– टोलीले विश्वकपमा १२ गोल गरिसकेको छ । सन् १९८६ मा पनि बेल्जियमले यति नै गोल गरेको थियो ।

– रोबर्टो मार्टिनेजको टोली पछिल्ला २३ खेलमा अपराजित रहेको छ । यसक्रममा १८ जीत र ५ बराबरी गरेको छ ।

– बेल्जियमले पछिल्ला १० मध्ये ९ विश्वकप खेलमा पहिलो हाफमा गोल गर्न असफल बनेको छ ।

– बेल्जियमले नकआउट खेलमा क्लिन सिट नराखी सबैभन्दा धेरै १२ खेल खेलेको छ । यसक्रममा टोलीले २८ गोल खाएको छ ।

– बेल्जियमका लागि १८ खेलमा एडिन हजार्ड १९ गोलमा संलग्न रहेका छन् । यसक्रममा उनले १० गोल गर्नका साथै ९ वटा गोलको अवसर सृजना गरेका छन् ।

– रोमेलु लुकाकुले आफ्नो पाँच प्रहार मध्ये चारलाई गोलमा परिणत गरेका छन् ।

खेल समय : राती ११ः४५ बजे ।



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप