शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

कम्पनीले झुक्किएर एकै कर्मचारीलाई सबै सहकर्मीको तलब हालिदिएपछि.....

आइतबार, १६ कात्तिक २०८२, १३ : ४२
आइतबार, १६ कात्तिक २०८२

सारांश

  • रुसको एक कम्पनीले सफ्टवेयर गडबडीका कारण खातामा जम्मा भएको रकम फिर्ता नगरेको भन्दै एक कामदारविरुद्ध मुद्दा दायर गरेको छ।
  • कामदारले गल्तीले प्राप्त गरेको ७० लाख रुबल फिर्ता गर्न अस्वीकार गरेपछि कम्पनीले अदालतमा मुद्दा दायर गर्यो।
  • अदालतले सुरुमा कम्पनीको पक्षमा फैसला गरे पनि, कामदारले सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् र मुद्दा विचाराधीन छ।

मस्को । रुसको खान्टी–मानसिस्कस्थित एक कारखानामा कार्यरत कामदारविरुद्ध कम्पनीले मुद्दा हालेको छ । मुद्दा हाल्नुको कारण भने अचम्मको छ । 

कम्पनीको सफ्टवेयर गडबडीका कारण गल्तीले ती कर्मचारीको खातामा कारखानाका सबै कर्मचारीको खातामा हाल्न भनेर राखिएको ७० लाख रुबलभन्दा बढीको रकम गयो । तर ती कर्मचारीले सो रकम फिर्ता दिन अस्वीकार गरेपछि कम्पनीसामु मुद्दा लड्नुबाहेकको अरू उपाय रहेन ।

यो वर्षको शुरुमा भ्लादिमिर रिचागोभको खातामा उनले मासिक रुपमा पाउने ४६,९५४ रुबल बाहेक अरू ७१ लाख १२ हजार २५४ रुबल पनि आयो । कारखानामा सहकर्मीहरूमाझ कम्पनीले एक महिनाको बोनस दिन लागेको चर्चा थियो । तर उनले पाएको रकम असामान्य थियो ।

 खातामा यति धेरै पैसा आउने भनेर उनले कहिल्यै कल्पना नै गरेका थिएन । तर उनको यो खुसी अस्थायी थियो । चाँडै कम्पनीको लेखा विभागबाट तारन्तार फोन आउन थाल्यो । फोनमा उनलाई गल्तीलाई ७० लाख रुबलभन्दा बढीको पैसा पठाइएको र त्यो पैसा फिर्ता गर्न भनिएको थियो । तर भ्लादिमिरले सो पैसा फिर्ता गर्न मानेनन् ।

अनलाइनमा खोजबिन गरेपछि प्राविधिक त्रुटिका कारण आफूले पाएको पैसा फिर्ता गर्ने कि नगर्ने भन्ने कुरा आफैँमाथि भर पर्ने भनेर उनले कतै भटे । ‘बिलिङ त्रुटि थियो भने, म यसलाई फिर्ता गर्न बाध्य थिएँ,’ उनले च्यानल ५ लाई भने । यो त प्राविधिक त्रुटि भएको आफूले थाहा पाएको अनि पैसा आफैँसँग राख्ने अधिकार आफैसँग भएको पनि उनले बताए ।

 भ्लादिमिरको रोजगारदाताले पेस गरेको अदालती कागजातअनुसार, पैसा पूर्णतया फरक शाखामा रहेका ३४ कर्मचारीका तलब तिर्नका लागि थियो । यद्यपि, सफ्टवेयर त्रुटिको कारण उत्तर रकम गल्तीले भ्लादिमिरको खातामा स्थानान्तरण भयो । त्यसैले उनी यो रकम फिर्ता गर्न बाध्य हुनु पर्ने कम्पनीको तर्क छ । तर आफूले पैसा कम्पनीको नामबाट पाएको अनि यसमा कुनै विशेष शाखाको नाम नभएको र भुक्तानी आदेशमा ‘तलब’ भनेर लेखिएकोले आफू सो रकमको हकदार भएको भ्लादिमिरको जीकिर छ ।

तर पैसा कम्पनीलाई फिर्ता गर्ने अनुरोध चाँडै धम्कीमा परिणत भएको अनि त्यसैले उनले पैसा नयाँ कार किन्न र आफ्नो परिवारसँग अर्को शहरमा बसाई सर्न प्रयोग गरेको भ्लादिमिरको भनाइ छ ।

 नयाँ घर सर्नै लाग्दा कम्पनीले भ्लादिमिरविरुद्ध मुद्दा हाल्यो अनि उनको बैंक खाताहरू रोक्का गरियो । आफू विरुद्ध मुद्दा दायर गरिएको तर प्रमाणको अभावमा यसलाई खारेज गरिएको भ्लादिमिरले बताएका छन् । कम्पनी पनि पैसा फिर्ता नलिइ नछाड्ने दाउमा थियो । त्यसैले लामो कानूनी लडाई चल्यो । शुरुमा अदालतले कम्पनीको पक्षमा फैसला सुनायो । भ्लादिमिरलाई दिएको रकम तलब नभएको अनि सो रकम फिर्ता गर्न आदेश दिइएको थियो । 

भ्लादिमिर पुनरावेदन अदालतमा गएपनि त्यसले पनि अघिल्लो सुनवाइलाई नै समर्थन गर्‍यो । तर ७० लाख रुबलको लडाई सकिएको छैन । उनी फेरि सर्वोच्च अदालतमा गए । सर्वोच्चले पनि उनको मुद्दालाई विचाराधीनमा राखेको छ । तर उनी अझै पनि कम्पनीले झुक्किएर हालेको पैसाको हकदार आफैँ भएको ठान्छन् र यसलाई फिर्ता गर्ने उनको कुनै मनाशय छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप