शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनले कांग्रेसलाई आत्ममूल्यांकन र पुनर्गठनको अवसर दिएको छ : एनपी साउद

बिहीबार, २० कात्तिक २०८२, १५ : ३३
बिहीबार, २० कात्तिक २०८२

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले जेनजी आन्दोलनले कांग्रेसलाई आत्ममूल्यांकन र पुनर्गठनको अवसर दिएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्दै साउदले जेनजी आन्दोलनले युवासम्म पुग्ने र उनीहरूको मुद्दा सम्बोधन गर्ने नयाँ अवसर दिएको बताए ।

‘जेनजी आन्दोलनले पार्टीका सभापति शेरबहादुर देउवा र उहाँको परिवारदेखि देशभरका कांग्रेस कार्यालय र नेताहरूको सम्पत्तिसम्म विध्वंस गरेको छ । तर यो आन्दोलनले हामीलाई युवासम्म पुग्ने र उनीहरूको मुद्दा सम्बोधन गर्ने नयाँ अवसर पनि दिएको छ,’ साउदले बैठकमा भने ।

पार्टी र देश दुवै गम्भीर सङ्कटमा रहेको भन्दै साउदले कांग्रेस नेतृत्वलाई सङ्गठन पुनःजीवनका लागि युवा–केन्द्रित पुनरुत्थानमा जोड दिन आग्रह गरे । आन्दोलनले मुलुकको सम्पत्ति, राजनीतिक स्थायित्व र पार्टी संरचनामा गहिरो असर पारेको बताए ।

बैठकमा साउदले विश्वका विभिन्न देशका जेनजी आन्दोलनहरूको तुलनात्मक उदाहरण दिएका थिए । ‘बङ्गलादेश, श्रीलङ्का, मेडागास्करदेखि इस्ट टिमोरसम्म कतै पनि जेनजी आन्दोलन संस्थागत भएर राज्य सञ्चालनमा पुगेको देखिँदैन । नेपालमा पनि अन्ततः राजनीतिक दलहरूकै माध्यमबाट परिवर्तन सम्भव हुन्छ,’ साउदले भने ।

नेपालमा अहिले अस्थिरता गहिरिँदै गरेको साउदले बताए । ‘नेपालमा अहिले पनि अस्थिरता गहिरिँदै छ। संसद् विघटन भइसकेको छ । सरकार ढलेको छ । हाम्रो पार्टी समेत त्यसको प्रभावबाट मुक्त छैन,’ साउदले भने ।

पछिल्ला वर्षहरूमा कांग्रेसभित्र ४० वर्ष मुनिका युवाको सहभागिता दयनीय भएको बताउँदै उनले भातृसंस्था र सङ्गठनहरू निष्क्रिय भएको बताए । जेनजी आन्दोलनले कांग्रेसका लागि युवासँग संवाद गर्ने नयाँ ढोका खोलेकाले यो मौका गुमाउन नहुने साउदको भनाइ छ ।

साउदले पार्टी विधानमा सभापति दुई कार्यकालभन्दा बढी हुन नपाउने प्रावधान रहेको बताउँदै अब विधानअनुसार समयमै अधिवेशन गर्नुपर्ने बताए । ‘चार वर्षभित्र अधिवेशन हुनुपर्ने व्यवस्थालाई पालना नगर्दा विवाद गुणक प्रभावका साथ फैलिएको छ । यही कारण अहिलेको बहसले पार्टी अस्तित्व र एकताको सङ्कट निम्त्याएको छ,’ साउदले भने ।

पार्टीभित्र असन्तुष्ट नेताहरूको मागलाई बेवास्ता गर्न नहुने सुझाव दिँदै साउदले भने, ‘केन्द्रीय समितिले आफ्ना कमजोरी महसुस गरेर हस्ताक्षर गर्ने युवा नेताहरूसँग वार्ता र छलफल ढिला गर्नु हुँदैन ।’

मंसिरभित्र महाधिवेशन सम्भव नदेखिए पनि फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको अवस्थाअनुसार महाधिवेशनको समय तय गर्न सकिने साउदको भनाइ छ ।

निर्वाचन र महाधिवेशन दुवैका लागि पार्टीका संरचनाहरू चलायमान बनाउनुपर्ने बताउँदै साउदले निर्णय नगर्दा पनि समस्या हुने र हतार गरेर पछुताउने गल्ती गर्न पनि नहुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप