शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

रास्वपाले जेनजी आन्दोलन हुनुको कारकमा औँल्यायो पाँच विषय

शुक्रबार, २१ कात्तिक २०८२, १४ : २१
शुक्रबार, २१ कात्तिक २०८२

सारांश

  • रास्वपाले जेनजी पुस्ताको आन्दोलनका ५ कारण औँल्याएको छ, जसमा दलहरूको अस्थिरता, भ्रष्टाचार, र सुशासनको कमी मुख्य छन्।
  • पुराना दलहरूको नेतृत्वमा भएका सरकारका भ्रष्टाचार काण्ड र सुशासनको अभावले असन्तुष्टि बढ्यो, जसले जेनजी पुस्तालाई आक्रोशित बनायो।
  • युवा पुस्ताले देशमा रोजगारीको अवसर नपाउँदा विदेश पलायन हुनुपरेको र यसै कारणले जेनजी आन्दोलन भयो।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भदौ २३ गते जेनजी पुस्ताले आन्दोलन गर्नु र देशको राजनीति नयाँ मोड पुग्नुमा पाँच वटा कारणको प्रमुख भूमिका रहेको औँल्याएको छ । शुक्रबार चितवनमा सुरु भएको रास्वपा केन्द्रीय समितिको विस्तारित बैठकमा पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन पेस गर्दै ती पाँच विषयबारे चर्चा गरेका छन् ।

दुई ठुला दल नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकारले नागरिकका जायज आवाजसमेत नसुनी तिनको स्वतन्त्रता खुम्च्याएर लोकतन्त्रको आवरणमा नभएर दलीयकरण र निरंकुशता लाद्ने प्रयत्न गरेपछि बढेको आक्रोश जेनजीको नाममा विस्फोट भएको अर्यालको राजनीतिक प्रतिवेदनमा उल्लेख छ ।

  • जेनजी आन्दोलनको कारक रहेका पाँच विषय

कार्यवाहक सभापति अर्यालले पहिलो बुँदामा २०६२/०६३ को राजनीतिक परिवर्तनले गणतन्त्र स्थापित गरेपछि कांग्रेस, एमाले र माओवादी केन्द्रले पटक–पटक सरकारको नेतृत्व गरे पनि उनीहरूबिचको कटुतापूर्ण प्रतिस्पर्धा, अस्वाभाविक मिलन, अविश्वासको राजनीति र सत्ता स्वार्थका कारण सरकारहरू स्थिर हुन नसकेको उल्लेख गरेका छन् ।

‘बारम्बार सरकार परिवर्तन हुँदा नीतिगत स्थिरता भएन र विकास निर्माणमा बाधा पुग्यो । जनताको अपेक्षा अधुरै रहे । सत्ताको कुरा भए । सरकारको कुरा गरिए, तर जनताको कुरै भएन,’ जेनजी पुस्तामा असन्तुष्टि बढ्नुको पहिलो कारकका रूपमा उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

यस्तै, दोस्रो बुँदामा उनले पुराना दलहरूले सरकारको नेतृत्व गर्दाका ठुला–ठुला भ्रष्टाचार काण्ड बाहिर आए पनि प्रभावकारी छानबिन नभएका कारण असन्तुष्टि चुलिएको चर्चा गरेका छन् । त्यस्ता काण्डमा संलग्नलाई कारबाही नहुनु वा राजनीतिक प्रभावमा परेर उन्मुक्ति पाउनुले दण्डहीनतालाई प्रश्रय दिएको उल्लेख गर्दै अर्यालले आफ्नो प्रतिवेदनमा भनेका छन्, ‘जनता चरम भ्रष्टाचारका शृंखला र तिनमा राजनीतिक संरक्षणका कारण आजित भइसकेका थिए ।’

उनले तेस्रो बुँदामा पुराना दलहरूको नेतृत्वमा रहेका सरकारले सुशासन कायम र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन नसकेको विषय समेटेका छन् ।

कार्यवाहक सभापति अर्यालले राजनीतिक प्रतिवेदनमा भनेका छन्, ‘राज्यका सबै संरचना र निकायमा ढिलासुस्ती, अनियमितता र बिचौलियाको बिगबिगी कायम रह्यो । आधारभूत सेवा सुविधा प्राप्त गर्न पनि राजनीतिक भनसुन गर्नुपर्ने वा घुस नै खुवाउनु पर्ने परिस्थितिले जनतालाई आक्रोशित बनाउँदै ल्याएको थियो ।’

चौथो बुँदामा उनलले पुराना दलहरूले परम्परागत राजनीतिक शैलीलाई नै निरन्तरता दिएको चर्चा गर्दै गुटबन्दी, नातावाद, कृपावाद हावी भएको उल्लेख गरेका छन् । ‘नयाँ विचार र नयाँ पुस्ताका लागि ती पार्टीभित्र खासै स्थान बन्न सकेन । जनताले पुरानै अनुहार, पुरानै भाषण र पुरानै शैलीको राजनीतिबाट देशले गति लिन नसक्ने महसुस गरे,’ उनले राजनीतिक प्रतिवेदनमा भनेका छन् ।

पाँचौँ बुँदामा कार्यवाहक सभापति अर्यालले दशकौँको शासनकालमा पनि पुराना दल नेतृत्वको सरकारले देशभित्र पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न नसकेको विषय उल्लेख गर्दै यसलाई पनि जनतामा निराशा बढाउने कारकका रूपमा चित्रण गरेका छन् ।

‘युवा पुस्ताले आफ्ना अग्रज र समकालीनले पढाइ सकेर पनि देशमा भविष्य नदेखेर विदेशिएको देखे । शासकहरूले अफ्नो भविष्य बर्बाद पारे भन्ने तीव्र असन्तुष्टिले उनीहरू परिवर्तनको हिस्सामात्र होइन, निर्णायक शक्ति नै बन्न अगाडि सर्दा जेनजी आन्दोलन भयो,’ अर्यालले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप