मुख्यमन्त्री नियुक्तिबारे एमाले प्रमुख सचेतक नै बेखबर, महतो भन्छन्– यसले एमालेलाई फाइदा गर्दैन
सारांश
- एमाले मधेस प्रदेशका प्रमुख सचेतकले सरोजकुमार यादव मुख्यमन्त्री नियुक्तिको विषय संस्थागत निर्णय नभएको बताए।
- यादवको नियुक्ति र शपथ प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै कांग्रेसलगायतका दलले जनकपुरमा विरोध प्रदर्शन गरे।
- मुख्य सचेतकका अनुसार, यो घटनाले मधेस प्रदेशमा तनाव निम्त्याएको छ, जसले नेकपा एमालेलाई फाइदा गर्दैन।
काठमाडौँ । नेकपा एमाले मधेस प्रदेश सभाका प्रमुख सचेतक हरिनारायण महतोले नेता सरोजकुमार यादव मुख्यमन्त्री हुने विषय संस्थागत निर्णय नभएको बताएका छन् । उनले संस्थागत निर्णयविनै यादव मुख्यमन्त्री नियुक्त भएको घटनाले आफैँ आश्चर्यमा परेको बताए ।
संविधानको धारा १६८ (३) बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन् । यादवको नियुक्ति र शपथ यसरी भयो कि कोही नउठ्दै एकाबिहानै जंगलमा रहेको रिसोर्टलाई प्रदेश प्रमुखको कार्यालय बनाइयो ।
महतोले हिजो बेलुकासम्म उपधारा २ अनुसार नै नयाँ सरकार गठन गर्नेबारे छलफल भएको भन्दै उनले एक्कासि बिहान कसरी निर्णय परिवर्तन भयो भन्ने कुरा आफूलाई कुनै जानकारी नभएको बताए ।
गत २२ गते नेकपा एमालेको संसदीय दलको बैठकबाट तत्कालीन जितेन्द्र सोनल नेतृत्वको सरकारलाई विश्वासको मत नदिने र विपक्षमा बस्ने निर्णय भएको भन्दै उनले यादवलाई मुख्यमन्त्री बनाउने एमालेको कुनै संस्थागत निर्णय नभएको र यसले समग्र एमालेलाई नै फाइदा नहुने दाबी गरे ।
‘एकातिर जनेजीका नाममा भएको आन्दोलनले देश नै गम्भीर अवस्थामा पुगेको छ’, उनले भने, ‘यही बेला मधेस पनि तनावग्रस्त बन्न पुग्यो । यसले हामी कसैलाई फाइदा पुग्दैन । एमालेलाई पनि फाइदा हुँदैन । ’
घटनाबारे थाहा पाएपछि आफूले एमाले केन्द्रीय नेता रघुवीर महासेठसँग सम्पर्क गरेको भन्दै उनले बताए । अध्यक्ष केपी शर्मा ओलीले समेत १६८ (२) अनुसार नै जानुपर्छ भनेर आफूलाई भनेको भनेर महासेठले जानकारी गराएको महतोले बताए । ‘ तर कहाँ के भयो ? कसरी गरे, कसबाट निर्देशन आएर यसरी यो काम भयो ? त्यो कुरा मलाई थाहा भएन’, महतोले रातोपाटीसँग भने, ‘त्यो पनि एउटा जङ्गल (पानस कटेज)मा गएर मुख्यमन्त्री र मन्त्रीहरूको शपथ गराउनु कति उचित होला, जनतामा सन्देश के जाला ? गर्न खोजेको के हो ? मलाई नै थाहा भएन ।’
यादवको नियुक्तिको विरोधमा नेपाली कांग्रेसलगायतका अन्य दलले सोमबार जनकपुरमा विरोध प्रदर्शन र तोडफोड गरेका छन् । मुख्यमन्त्री कार्यालय, प्रदेश प्रमुखको कार्यालयमा तोडफोड गर्नुका साथै मधेस प्रदेशका केही मन्त्रालयमा तालाबन्दी समेत गरेका छन् । उनीहरूले मुख्यमन्त्री कार्यालय महत्त्वपूर्ण फाइल जोगाउन पुगेका कर्मचारीलाई समेत कुटपिट गरेका छन् ।
मुख्यमन्त्री नियुक्तिको विषयमा केन्द्रीत रहेर हामीले एमाले मधेस प्रदेशका प्रमुख सचेतक महतोसँगको कुराकानी गरेका छौँ । प्रस्तुत छ, उनीसँग टेलिफोनमा गरिएको कुराकानी ः
- मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयले मधेसमा तनावसँगै सरकारी कार्यालयहरू तोडफोड भएका छन्, यी घटनालाई कसरी हेर्नुभएको छ ?
मेरो व्यक्तिगत सल्लाह संविधानको धारा १६८ (२) अनुसार नै गएर सरकार गठन गरौँ भन्ने हो । तर आज बिहान ३ मा गएर सरकार बनाइयो । यो धारा अन्तर्गत पनि विश्वासको मत त लिनैपर्छ । सबै पार्टी एकातिर र एमाले अर्कोतिर भएको छ । यसो भइरहे भोलि विश्वासको मत लिनेबेला त सङ्ख्या पुग्दैन ।
- यो अवस्था हुनसक्छ भनेर पार्टी वा संसदीय दलमा कुरा भएको थिएन ?
हिजो राति मलाई बोलाएका थिए । त्यहाँ मैले नयाँ सरकार गठन गर्दा हामी १६८ को धारा २ मै जानुपर्छ भनेको हो । यसबाहेक अरुमा हामी प्रेसर नगरौँ, बरु कुनै एउटा दललाई फकाऔँ, उसैलाई मुख्यमन्त्री दिऔँ भनेको हो । मैले यस्तो सुझाव दिएपछि ल हुन्छ यही बाटोमा जाऔँ भन्ने सहमति भएको थियो ।
- तपाईँले यो सुझाव दलको नेता सरोजकुमार यादवलाई नै दिनुभएको हो ?
हो । सरोजकुमार यादवसँग नै यो कुरा भएको हो । उहाँले पनि म पनि यही कुरा चाहन्छु समेत भन्नुभएको थियो । त्यसपछि उहाँले मलाई कांग्रेससँग कुरा गर्नुस् भन्नुभयो । मैले कांग्रेस संसदीय दलको नेतासँग गएर पनि यही कुरा गरेको थिएँ । उहाँ (कांग्रेस संसदीय दलको नेता) ले पनि स्विकार्नुभएको थियो । तर, पछि के गरे ? कसरी यो कदम चाले ? मलाई कुनै जानकारी पनि भएन । मलाई सोधीखोजी पनि कसैले गरेन ।
- सरोजकुमार यादवलाई प्रदेश प्रमुखले बाटोमा लगेर नियुक्ति र शपथ गरेसँगै मधेस प्रदेश तनावग्रस्त भएको छ नि ?
मैले पनि सुन्दै छु । तर म ढल्केबरमा छु ।
- मुख्यमन्त्री यादव शपथ लिएर कहाँ जानुभयो भन्ने थाहा छ ?
थाहा छैन, जानकारी पनि छैन । तर सुनेअनुसार उहाँ घर (महोत्तरी) जानुभएको छ रे ।

- जेनजी आन्दोलनपछि मुलुक नतङ्ग्रिँदै मधेसमा यो किसिमका तमासा भयो, अव यसको निकास के हुनसक्छ त ?
अहिले नै यसको निकास केही देखिँदैन । अबको २८ दिनपछि प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ला । त्यसवेला बहुमत सिद्ध हुन नसक्ला । अनि छाड्नुपर्ला । त्यसपछि फेरि सरकार गठनको विषय संविधानको उपधारा ५ मा जान्छ । जसले मधेस प्रदेशलाई झनझन सङ्कट थप्दै जाने देखियो ।
- यो घटनाले प्रदेश संरचनाको औचित्यमाथि नै प्रश्न उठ्न पुग्यो नि ?
एकातिर जनेजीका नाममा भएको आन्दोलनले देश नै गम्भीर अवस्थामा पुगेको छ । यही बेला मधेस पनि तनावग्रस्त बन्न पुग्यो । यसले हामी कसैलाई फाइदा पुग्दैन । एमालेलाई पनि फाइदा हुँदैन ।
- यो घटनाबारे केन्द्रका नेताहरूसँग कुनै संवाद या छलफल गर्नुभएको छ कि छैन ?
मैले रघुवीर महासेठसँग सम्पर्क भएको थियो । उहाँले अध्यक्ष केपी शर्मा ओलीलाई पनि २ अनुसार नै जानुपर्छ भनेको छु भन्नुहुन्थ्यो । तर कहाँ के भयो ? कसरी गरे, कसबाट निर्देशन आएर यसरी यो काम भयो ? त्यो कुरा मलाई थाहा भएन । त्यो पनि एउटा जङ्गल (पानस कटेज)मा गएर मुख्यमन्त्री र मन्त्रीहरूको शपथ गराउनु कति उचित होला, जनतामा सन्देश के जाला ? गर्न खोजेको के हो ? मलाई नै थाहा भएन ।
- एमालेका अरू सबै सांसदले चाही सरोजलाई साथ दिएका हुन् कि असन्तुष्ट नै छन्, तपाईंलाई के लाग्छ ?
केही असन्तुष्ट पनि होलान् । त्यसमा मुख्य कुरा त समग्र पार्टीलाई नै घाटा हुने काम भयो । को सन्तुष्ट को असन्तुष्ट, अव के होला ? अव के बन्ला त्यो पछिको कुरा हो । संस्थागत कुनै निर्णय भएको छैन । अस्ति २२ गते बैठक बसेर हामीले विश्वासको मत लिने दिन हामी विपक्षमा मतदान गर्ने र प्रमुख प्रतिपक्षको भूमिकामा बस्ने भन्ने तयारी मात्र थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण