शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

महामन्त्री थापा नआएपछि सुरु भएन कांग्रेसको कार्यसम्पादन समिति बैठक

शुक्रबार, २८ कात्तिक २०८२, १४ : ५२
शुक्रबार, २८ कात्तिक २०८२

काठमाडौँ । महामन्त्री गगन थापा उपस्थित नभएपछि नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक सुरु हुन सकेको छैन ।

दिउँसो १ बजेका लागि ललितपुरको धोविघाटमा बोलाइएको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन । १ बजेबाट नेताहरू बैठकस्थलमा पुगेका थिए । तर महामन्त्री थापा २ बजेसम्म पनि नपुगेपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्री थापालाई टेलिफोन गरेका थिए । 

टेलिफोनमा सवा दुई बजेसम्म पुग्छु भनेका थापा अहिलेसम्म आइपुगेका छैनन् । उनी नआएपछि बैठक सुरु हुन सकेको छैन । पार्टीको १५ औँ महाधिवेशन कहिले गर्ने भन्ने टुङ्ग्याउन गत असोज २८ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक जारी छ ।

केन्द्रीय समितिको कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए ।

त्यसैदिन उनको कार्यतालिकालाई काउन्टर दिँदै सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेका थिए । 

थापाको कार्यतालिकालाई पार्टीभित्रको इतर समूहका नेताहरू र यादवको कार्यतालिकालाई संस्थापनका नेताहरूले केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दा समर्थन गरेपछि विवाद मिल्न सकेको छैन । 

बिहीबारसम्म केन्द्रीय कार्यसमितिमा केन्द्रीय सदस्यहरू र पदाधिकारीले धारणा राख्ने क्रम सकिएको छ । महाधिवेशन कहिले गर्ने सन्दर्भमा दुई पक्षबिच विवाद मिल्न नसकेपछि केन्द्रीय कार्यसमिति बैठक आज रोकेर शनिबारका लागि बोलाइएको छ । 

विवाद मिलाउने प्रयास गर्न कार्यवाहक सभापति खड्काले शुक्रबार कार्यसम्पादन समिति बैठक बोलाएका हुन् । अर्कोतर्फ महामन्त्री थापाले बिहीबारको बैठकमा धारणा राख्दै विशेष महाधिवेशनका लागि मङ्सिर २७ गतेको मिति प्रस्ताव गरेका छन् ।

विशेष महाधिवेशन माग गर्दै २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति खड्कालाई असोज २९ गते हस्ताक्षर बुझाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप