शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मच्छिमको तामाखानी उत्खननका लागि अध्ययन सुरु

आइतबार, ३० कात्तिक २०८२, १२ : ५४
आइतबार, ३० कात्तिक २०८२

सारांश

  • धवलागिरि गाउँपालिका-७ मच्छिममा रहेको तामाखानी उत्खननका लागि अध्ययन सुरु भएको छ।
  • एमएस दोङयी मिनरल्स प्रालिले तामाखानीको खोजतलास र उत्खननको लागि अध्ययन थालेको छ।
  • स्थानीयले खानी उत्खनन सुरु हुनुलाई स्वागत गरेका छन्, तर वातावरणीय पक्षमा ध्यान दिन आग्रह गरेका छन्।

म्याग्दी । धवलागिरि गाउँपालिका–७ मच्छिममा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएको छ । खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी ‘एमएस दोङयी मिनरल्स’ प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका लागि अध्ययन थालेको हो । मच्छिम गाउँदेखि नजिकै रहेको पाखोमा ६ ठाउँमा रहेका तामा खानी पाँच दशकदेखि बन्द अवस्थामा छन् । 

धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्रीले भूगर्भविद्हरूको टोली खानीमा तामाको मात्रा पहिचानका लागि अध्ययनका लागि आएको बताए । 

‘गत हप्ता आएको टोलीले पहिलो चरणमा तामा खानी भएको ठाउँको निरीक्षण गरेको थियो’, उनले भने- ‘टोलीले खानी भएको ठाउँसम्म जाने पहुँचमार्ग निर्माणका लागि पनि छलफल गरेको छ ।’ 

खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढाइने वडाध्यक्ष खत्रीले बताए । स्थानीयले खानी उत्खननका लागि अध्ययन थालिएकामा खुसी व्यक्त गरेका छन् ।

वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिनुपर्ने मच्छिमका बासिन्दा कुलबहादुर छन्त्यालले बताए । उनका अनुसार मच्छिमको खानीबाट विसं २०२८ सम्म स्थानीय प्रविधिको प्रयोग गरेर तामा निकाल्ने गरिन्थ्यो । 

प्रविधिको अभाव र आम्दानीभन्दा बढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामा खानी बन्द भएको छन्त्यालले बताए । तामा खानी उत्खननका लागि आएका छन्त्याल समुदायले मच्छिममा बस्ती बसाएको इतिहास छ । छन्त्याल समुदायको पुर्ख्यौली पेसा खानी खन्ने हो । 

त्यहाँ अझैसम्म पनि तामाका धाउ देख्न सकिन्छ । तामाखानीका सुरुङ छन् । स्थानीयहरूले त्यही सुरुङबाट भित्र छिरेर घन, छिनोको प्रयोग गरेर तामा निकाल्ने गरेका थिए । उक्त कम्पनीले मालिका गाउँपालिकाको ओखरबोट तामाखानीमा पनि सम्भाव्यता अध्ययन गरिरहेको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार म्याग्दीमा तामा, फलाम, क्वार्ज, कप्रक, चुनढुङ्गा, खरिढुङ्गा, स्लेटढुङ्गा, मार्बल र तातोपानीका मुहान (हटस्पिङ) पाइन्छन् । जिल्लामा बढी पाइने खनिज पदार्थमा तामा प्रमुख हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप