आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
राष्ट्रिय सुरक्षा परिषद् बैठक

निर्वाचनमा सेना परिचालन गर्न सुरक्षा परिषद्को सिफारिस

बिहीबार, ०४ मङ्सिर २०८२, १७ : ५४
बिहीबार, ०४ मङ्सिर २०८२

सारांश

  • आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालनका लागि सरकारलाई सिफारिस गरिएको छ।
  • राष्ट्रिय सुरक्षा परिषद् बैठकले निर्वाचनमा सेना परिचालनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।
  • बाराको सिमरामा एमाले कार्यकर्ता र स्थानीय युवाहरूबीचको तनावका कारण कर्फ्यु जारी गरिएको छ।

काठमाडौँ । सरकारले आगामी फागुन २१ गतेका लागि तोकेको प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन हुने भएको छ । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद् बैठकले निर्वाचनमा सेना परिचालनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

परिषद्का सदस्यसचिव रक्षा सचिव सुमनराज अर्यालले संविधानले दिएको अधिकार प्रयोग गरी निर्वाचनमा सेना परिचालनका लागि सरकारलाई सिफारिस गर्ने निर्णय परिषद्ले गरेको जानकारी दिए ।

‘परिषद् बैठकमा आगामी निर्वाचनमा सेना परिचालनबारे छलफल भयो । संविधानले दिएको अधिकार प्रयोग गरी सरकारलाई सेना परिचालनका लागि सिफारिस गर्ने निर्णय भएको छ,’ सदस्यसचिव अर्यालले रातोपाटीसँग भने ।

नेपालको कानुनमा सुरक्षा परिषद्ले परिस्थिति हेरेर सेना परिचालनका लागि सरकारलाई सिफारिस गर्ने र मन्त्रिपरिषद्ले रामचन्द्र पौडेललाई परिचालनका लागि निर्णय सिफारिस गर्ने प्रावधान छ ।

यसअघि गत शुक्रबार बसेको राष्ट्रिय सुरक्षा समिति बैठकले निर्वाचनमा सेना परिचालनका लागि रक्षा मन्त्रालयमा लेखि पठाउने निर्णय गरेको थियो । 

निर्णय बमोजिम रक्षा मन्त्रालयमा पत्र पनि पुगिसकेको थियो । त्यो पत्र बिहीबारको परिषद् बैठकमा छलफल भएको थियो । त्यसपछि परिचालनका लागि सिफारिस गर्ने निर्णय गरिएको हो ।

परिषद् बैठकमा बारामा उत्पन्न तनावबारे पनि छलफल भएको छ । एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत कार्यक्रममा सहभागी हुन जान लागेपछि बुधवारदेखि बाराको सिमरा क्षेत्रमा सुरु भएको तनाव अझै साम्य भएको छैन ।

एमालेसँगको विवादका कारण सिमरास्थित विमानस्थलमा बुधवार जेनजी युवाहरूले तोडफोड गरेका थिए ।

त्यसपछि त्यहाँ कर्फ्यु आदेश जारी भएको छ । त्यो कर्फ्यु बिहीबार राति ८ बजेसम्मका लागि लम्ब्याइएको छ । बुधवारदेखि सुरु तनाव नरोकिएपछि आज पुनः कर्फ्यु जारी गरिएको हो ।

सेना परिचालनका लागि सुरक्षा परिषद्ले निर्णय गर्नुपर्ने भएकाले त्यसबारे पनि आज छलफल भइरहेको सम्बद्ध स्रोतले जानकारी दियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप