बारामा थपिए २५ हजार नयाँ मतदाता
सारांश
- बारा जिल्लामा २४ हजार ६६४ नयाँ मतदाता थपिएका छन्।
- फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन गरिएको थियो।
- १८ वर्ष पूरा गरेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था छ।
बारा । बारा जिल्लामा करिब २५ हजार नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय बाराले शुक्रवारसम्म सङ्कलन गरेको अन्तिम तथ्याङ्कका आधारमा राष्ट्रिय परिचयपत्र र नागरिकताका आधारमा बारामा २४ हजार ६६४ नयाँ मतदाता थपिएका हुन् ।
सरकारले अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर असोज १० गतेदेखि बारामा नयाँ मतदाता नामावली सङ्कलन सुरु गरेको थियो ।
कानुनी रूपमा निर्वाचन घोषणा भएपछि मतदाता सङ्कलन बन्द रहने भए पनि निर्वाचन आयोगले जेनजी समूहको मागलाई ध्यानमा राखेर अध्यादेश मार्फत मंसिर ५ गतेसम्मका लागि नयाँ मतदाता नामावली सङ्कलन सञ्चालन गरेको थियो ।
नेपाली नागरिकता प्राप्त गरेर १८ वर्ष उमेर पुरा भएका नेपाली नागरिकहरूले आफ्नो नाम मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था छ ।
जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख नवीन चौधरीले शुक्रबारसम्म २४ हजार ६६४ जना नयाँ मतदाता थपिएको बताए ।
‘उमेर धेरै पहिला नै पुगेपनि विभिन्न कारणले विदेशमा काम गर्ने, पढाई र कामको सिलसिलामा बाहिर रहेर मतदाताहरूले मंसिर ५ गतेसम्म नाम दर्ता समय थियो’, निर्वाचन अधिकृत चौधरीले भने, ‘विगतमा नामावली दर्ता भएर मतदाता परिचयपत्र हराएकाहरूको हकमा नागरिकता वा परिचय खुल्ने अन्य सरकारी कार्यालयबाट वा सरकारी कार्यालयबाट जारी भएको परिचयपत्रबाट पनि मतदान गर्न सक्ने व्यवस्था छ ।’
यसअघि २०७८ को निर्वाचनमा मतदाता नामावलीमा नाम दर्ता भएर परिचयपत्र नभएका नेपाली नागरिकलाई जग्गाधनी प्रमाण पुर्जालाई समेत आधार मानेर निर्वाचनमा सहभागी भएका थिए ।
प्रमुख निर्वाचन अधिकृत चौधरीले आयोगको निर्देशन अनुसार मतदाता नामावली सङ्कलन सकिएको र अव आयोगमा नयाँ दल दर्ताको लागि परेका निवेदनहरूको सन्दर्भमा जिल्लाबाट सनाखत गर्ने काम मंसिर १० गतेसम्म समयसीमा रहेको बताए ।
बारामा २०८२ असार मसान्तसम्म ४ लाख ४० हजार ५१५ जनाले मतदाता नामावली दर्ता गरेका थिए । जसमा महिला मतदाता १ लाख ९९ हजार ३४३, पुरुष मतदाता संख्या २ लाख ४१ हजार १६१ र अन्य मतदाता ११ जना रहेका छन् । पछिल्लो पटक थपिएका २४ हजार ६६४ नयाँ मतदातहरुमा महिला/पुरुष नछुट्टाइएको कार्यालयले जनाएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण