‘ताररहित सहर’ बनाउने प्राधिकरणको दुई आयोजना अन्तिम चरणमा
सारांश
- नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकामा विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको छ, जसको भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी पुगेको छ।
- रत्नपार्क वितरण केन्द्रअन्तर्गत तार भूमिगत गर्ने काम अन्तिम चरणमा पुगेको छ, तर सिंहदरबारभित्रको काम सुरु हुन ढिलाइ भएको छ।
- यस परियोजनाले सहरी सौन्दर्य बढाउनुका साथै विद्युत् प्रवाहलाई सुरक्षित र भरपर्दो बनाउने लक्ष्य राखेको छ, तर विभिन्न चुनौतीहरू छन्।
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय तार भूमिगत (अन्डरग्राउन्ड) गर्ने योजनाको काम तीव्र रूपमा भइरहेको जनाएको छ । प्राधिकरणले काठमाडौँ उपत्यकालाई ‘ताररहित र सुरक्षित सहर’ बनाउने उद्देश्यका साथ सात वर्ष पहिला २०७६ फागुन ५ गते विद्युतीय तार भूमिगत गर्ने काम सुरु गरेको थियो ।
काठमाडौँ उपत्यकालगायत सहरी क्षेत्रमा जेलिएका तार र ढल्न लागेका पुराना पोलले देखिएको कुरुपता हटाउने काम प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङकै पालामा सुरु भएको थियो ।
‘अन्डरग्राउन्ड केबुलिङ सिस्टम’ले काठमाडौँ उपत्यकालाई सौन्दर्य र विद्युत् प्रवाहलाई सुरक्षित र भरपर्दो समेत बनाउने विश्वास प्राधिकरणको छ । सहरको सुन्दरतालाई असर पारेको र सुरक्षामा जोखिम देखिएको भन्दै प्राधिकरणले एसियाली विकास बैंकको १०० मिलियन डलर सहुलियत ऋणमा तार भूमिगत गर्ने काम अगाडि बढाएको थियो । यो काम सुरुमा तीन वर्षभित्र सम्पन्न गर्ने भनिए पनि प्राधिकरणले म्याद थप्दै आएको छ ।
कोभिड, स्थानीय अवरोध, सरकारी निकायसँग समन्वयमा ढिलासुस्तीलगायत कारण तोकिएको समयमा काम सम्पन्न गर्न नसकेको प्राधिकरणको आयोजना विकास निर्देशनालयका प्रमुख तारा प्रधानले बताए । उनका अनुसार उपत्यकाका प्रमुख क्षेत्रमा विद्युतीय तार अन्डरग्राउन्ड गर्ने काम दुई योजनामा गरी ८० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ ।
प्रधानले विद्युतीय तार अन्डरग्राउन्ड गर्ने काममध्ये केही स्थानमा सम्पन्न भइसकेको र दुई प्याकेज अन्तिम चरणमा पुगेको जानकारी दिए । काठमाडौँको रत्नपार्क वितरण केन्द्रअन्तर्गत तार भूमिगत गर्ने काम अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।
प्रधानले रत्नपार्क वितरण केन्द्रअन्तर्गत क्षेत्रमा ठेक्का पाएको केईआई कम्पनीले काम अन्तिम चरणमा पु¥याएको बताए । अब त्यहाँ लाइन चार्ज गर्ने र बत्ती जडान गर्ने लगायतका केही काममात्र बाँकी रहेको उनको भनाइ छ ।
प्रधानले भने, ‘काठमाडौँ पश्चिम (बानेश्वर, कीर्तिपुर, कलङ्की, थानकोट, बालाजु, जोरपाटी) समेटिएको प्याकेजमा ७० देखि ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । कीर्तिपुर क्षेत्रमा पनि काम सम्पन्न भई लाइन चार्जसमेत भइसकेको छ ।’
त्यस्तै, आयोजना प्रमुख सुमन श्रेष्ठ भने वर्षायाममा सडक खन्न नपाइने भएकाले काम समयमा नसकिएको बताउँछन् । उनले वर्षा यामको ३ महिनामा सडक खन्न नपाउने हुँदा समस्या भएको बताए । तार भूमिगत गर्ने काम सुरुगरेसँगै कोभिड सुरु भएकाले आयोजनाका लागि आवश्यक सामग्री ल्याउन समस्या हुँदा पनि काम लम्बिएको उनले स्वीकार गरे ।
‘विद्युतीय तार भूमिगत गर्न सुरुगरेसँगै कोभिड सुरु भयो । त्यो समयमा सामग्री नहुँदा दुई वर्ष काम हुन पाएन, ‘प्रमुख श्रेष्ठले भने, ‘दुई वर्षपछि सरकारी निकायहरूबिच समन्वय नहुँदा थप समस्या भयो । सडक खनेर तार बिछ्याउनु पर्ने हुँदा सडकको अनुमति समयमा नपाउँदा पनि समस्या भयो ।’
श्रेष्ठले भूमिगत गर्ने ठाउँमा खानेपानी पाइपदेखि अन्य थुप्रै किसिममा समस्याले गर्दा आयोजना तोकिएको समयमा सम्पन्न गर्न नसकिएको बताए । उनले थप भएको समयमा काम सम्पन्न गर्ने गरी काम भइरहेको तर्क गरे ।
- रत्नपार्क र महाराजगञ्ज क्षेत्रको अन्तिम चरणमा
आयोजना प्रमुख सुमन श्रेष्ठका अनुसार रत्नपार्क वितरण केन्द्रअन्तर्गत २८३ किलोमिटर हाइटेन्सन लाइनमध्ये २८० किलोमिटर तार भूमिगत भइसकेको छ ।
यस्तै, लोटेन्सन लाइनमा ३८२ किलोमिटरमध्ये ३६५ किलोमिटर काम सम्पन्न भइसकेको छ । ‘बाँकी रहेको काम र म्याद थपको प्रक्रिया पुरा गरी आगामी ३ महिनाभित्र सबै काम सम्पन्न गर्ने लक्ष्य छ,’ श्रेष्ठले भने ।
कतिपय स्थानमा पोल हट्न बाँकी रहेकाले काम नसकिएको जस्तो देखिए पनि भूमिगत केबुलबाट ११ केभी लाइन चार्ज गर्ने काम निरन्तर भइरहेको उनले जानकारी दिए । ‘पोल हटाउन केही समय लाग्ने भए पनि लाइन चार्ज गर्ने काम भने भइरहेको छ,’ श्रेष्ठले भने ।
विशेष गरी न्युरोड क्षेत्रमा यो आयोजना पूर्ण रूपमा सफल देखिएको छ । त्यहाँ हाइटेन्सन र लोटेन्सन दुवै लाइन चार्ज भई भूमिगत प्रणालीबाटै विद्युत् प्रवाह भइरहेको छ ।
पर्यटकीय क्षेत्र ठमेल, नयाँ बजार, लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा पनि भूमिगत लाइन सञ्चालनमा आइसकेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, महाराजगन्ज क्षेत्रमा आयोजनाको काम पनि भारतीय ठेकेदार कम्पनी ‘केईआई इन्ड्रष्ट्रिज लिमिटेड’ले सन् २०१९ को मार्चमा ठेक्का सम्झौता गरी काम सुरु गरेको थियो ।
केन्द्र अन्तर्गतका बालुवाटार, पानीपोखरी, बुढानीलकण्ठ, टोखा, गोंगबु, सामाखुसी, धापासी, बसुन्धरा, शिवपुरी, चुनिखेल, सुकेधारा, धर्मस्थली र शिक्षण अस्पताल लगायतका स्थानहरूमा ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिएको छ । त्यहाँ करिब २१४ किलोमिटर हाइटेन्सन लाइन र ३५२ किलोमिटर लोटेन्सन लाइन भूमिगत भइसकेको छ ।
साथै, आधुनिक सञ्चार पूर्वाधारका लागि करिब २ सय किलोमिटर अप्टिकल फाइबर पनि सँगै बिछ्याइएको छ, जसले भविष्यमा ‘स्मार्ट ग्रिड’ र इन्टरनेट सेवा प्रवाहमा सहजता ल्याउने प्रमुख श्रेष्ठले बताए ।
- पश्चिम काठमाडौँमा तीव्र प्रगति
काठमाडौँको पश्चिमी क्षेत्र (बानेश्वर, कीर्तिपुर, कलङ्की, थानकोट, बालाजु, जोरपाटी) समेटिएको प्याकेजमा प्राधिकरणले ७० देखि ८० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । यो क्षेत्रमा एल एण्ड टी कन्स्ट्रक्सन कम्पनीले काम गरिरहेको छ ।
विशेषगरी कीर्तिपुर क्षेत्रमा काम सम्पन्न भई लाइन चार्जसमेत भइसकेको प्राधिकरणले जनाएको छ । त्रिवि प्रवेशद्वारदेखि कीर्तिपुर प्रवेशद्वार, त्रिवि वरिपरिका क्षेत्र, कीर्तिपुर रिङरोड, मैत्रीनगर, बल्खु कोरिडोर, भत्केपाटी, नगाऊँ र ढाल्पाचोक क्षेत्रमा अहिले भूमिगत तारबाटै विद्युत् उपलब्ध गराउन थालिएको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, कलंकी–थानकोट खण्डमा सडकको एकातर्फको काम सकिएको छ भने अर्कोतर्फ काम भइरहेको छ । बालाजु क्षेत्रको काम पनि अन्तिम चरणमा पुगेको छ । कालिमाटी चोकबाट बल्खु चोक हुँदै चोभार गेटसम्मको क्षेत्रमा पनि नयाँ प्रणाली जडान भइसकेको प्रमुख प्रधानले जानकारी दिए ।
यता, प्रमुख प्रधानका अनुसार पश्चिम क्षेत्रकै गौशाला–शङ्खमुल खण्डमा भने केही ढिलाइ भएको छ । त्यस्तै, गौशाला–शङ्खमुल खण्डमा भने सडक खन्न अनुमति आएको तर पैसा जम्मा गर्न बाँकी रहेकाले काम सुरु हुन नसकेको उनले बताए । काम सुरु भएमा यो खण्डको काम ५ देखि ६ महिनामा सकिने अनुमान रहेको उनको भनाइ छ ।
- सिंहदरबारभित्र अनुमति नपाउँदा ढिलाइ
प्राधिकरणले काठमाडौँ, ललितपुर र भक्तपुरका केही क्षेत्रमा विद्युतीय तारलाई भूमिगत गर्ने थालनी गरे पनि देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र भने काम सुरु गर्न केही ढिलाइ गरेको छ ।

प्रक्रियागत अल्झन र सुरक्षा संवेदनशीलताका कारण सिंहदरबारभित्रको १८ किलोमिटर तार भूमिगत गर्ने काम अघि बढ्न नसकेको प्रमुख प्रधानले जानकारी दिए । उनले लामो समय अघि अनुमति मागे पनि अहिलेसम्म अनुमति नपाउँदा काम सुरु गर्न नपाएको बताए ।
प्रमुख प्रधानले भने, ‘सिंहदरबारभित्रका मन्त्रालय र सम्पूर्ण क्षेत्रलाई अन्डरग्राउन्ड गर्नका लागि हामीले सिंहदरबार सचिवालयसँग अनुमति मागिरहेका छौँ । अनुमति पाउने प्रक्रियामा छ, अनुमति पाएको २–३ महिनाभित्र सिंहदरबारभित्रको काम पनि सकिन्छ ।’
यसबाहेक माइतीघर लगायतका क्षेत्रमा सडक विभागबाट अनुमति आउन बाँकी रहेकाले केही ढिलाइ भएको र यो प्याकेजको सम्पूर्ण काम सक्न अझै ६ देखि ७ महिना लाग्ने उनले बताए ।
त्यस्तै, आयोजनाका सिंहदरबार क्षेत्र आयोजना प्रमुख अभिषेक अधिकारीले भने सिंहदरबारभित्र तार व्यवस्थापनको काम सुरु गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिए । अधिकारीका अनुसार ठेकदार कम्पनीसँग कामदारहरूको विवरण (लेबर लिस्ट) माग गरिएको र गृह मन्त्रालय वा सम्बन्धित निकायबाट पास जारी हुने बित्तिकै काम सुरु गर्ने तयारी छ ।
उनले भने, ‘सिंहदरबार संवेदनशील क्षेत्र भएकाले सुरक्षा पासको आवश्यकता पर्दछ । ठेकदार कम्पनीसँग कामदारहरूको विवरण माग गरिएको छ र पास जारी हुने बित्तिकै काम सुरु गरिनेछ ।’
प्राधिकरणले यो हिउँदभरि काम गरेर वर्षायाम सुरु हुनुअघि नै (आगामी ३ महिनाभित्र) सिंहदरबारभित्रको काम सम्पन्न गर्ने लक्ष्य राखेको उनको भनाइ छ ।
- भक्तपुर–ललितपुरमा सुस्त
उपत्यकालाई विभिन्न प्याकेजमा बाँडेर काम गरिरहेको प्राधिकरणले काठमाडौँ पश्चिम (बानेश्वर, कीर्तिपुर, कलङ्की, थानकोट, बालाजु, जोरपाटी) क्षेत्रमा ७० देखि ८० प्रतिशत प्रगति हासिल गरेको छ ।
तर काठमाडौँको तुलनामा ललितपुर र भक्तपुरमा पनि काम भइरहेको प्रमुख प्रधानले बताए । उनका अनुसार काठमाडौँको तुलनामा भक्तपुर र ललितपुरमा भने आयोजना सुस्त देखिएको छ ।
_d4GLyvFuly.jpg)
दुई जिल्लामा अहिलेसम्म ५० देखि ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ । काम नसकिएपछि ती क्षेत्रका लागि आयोजनाको म्याद एक वर्ष थप गरिएको उनको भनाइ छ ।
- चुनौतीका चाङः काम सकियो, तर पोल हट्दैनन् !
प्राधिकरणले सुरु गरेको उक्त आयोजना कार्यान्वयनमा चुनौतीपूर्ण देखिएको छ । सहरवासीले विगत ३ वर्षदेखि धुलो र खाल्टाखुल्टीको सास्ती भोगिरहेका छन् । त्यस्तै, विद्युत, खानेपानी, टेलिकमको तार जमिन मुनि हुँदा अर्को थप समस्या भोग्नु परेको आयोजना प्रमुख सुमन श्रेष्ठले बताए ।
उनले भने, ‘काठमाडौँको भित्री सहरी क्षेत्र भएकाले काम गर्न निकै चुनौतीपूर्ण छ । एउटै सडकमा खानेपानी, टेलिकम, ढल र विद्युतका संरचना छन् । त्यसमाथि फुटपाथ साँघुरो छ ।’

आयोजना अघि बढाउन सरकारी निकायबिचको समन्वय अभावमा चुनौतीपूर्ण बनिरहेको उनको भनाइ छ ।
सडक विभागले वर्षायामका तीन महिना (असार, साउन र भदौ) सडक खन्न अनुमति दिँदैन । अर्कोतर्फ, मेलम्ची खानेपानीको पाइप बिछ्याउने काम र विद्युतको तार बिछ्याउने काम एकै पटक नहुँदा एउटै सडक पटक–पटक खन्नु परेको उनले बताए ।
‘हामीलाई सुरुमा त सडक विभागबाट जमिन खन्नका लागि अनुमति लिन नै सकस प¥यो,’ श्रेष्ठले भने, ‘कोभिड महामारी, स्थानीय अवरोध र सरकारी निकायसँग समन्वयमा ढिलासुस्ती लगायत कारण तोकिएको समयमा काम सम्पन्न गर्न सकिएन ।’
उनका अनुसार प्राधिकरणले न्युरोड, ठमेल, कीर्तिपुर लगायतका क्षेत्रमा भूमिगत तारबाट विद्युत् प्रवाह (चार्ज) सुरु गरिसकेको भए पनि ती ठाउँमा अझै पनि पुराना पोलहरू र तारका हट्न नसकेको छैन । प्राधिकरणका अनुसार बसन्तपुर बाहेक अन्य क्षेत्रमा बिजुलीका पोल र यसअघिका तार पूर्ण रूपमा हटाउन सकिएको छैन ।
विद्युतका पोलमा टेलिकम, इन्टरनेट सेवा प्रदायक र केबल टिभीका तारहरू पनि झुन्डिएका छन् । विद्युतको तार भूमिगत भए पनि अन्य सेवा प्रदायकका तार व्यवस्थापन नहुँदासम्म पोल हटाउन सम्भव नदेखिएको प्रमुख श्रेष्ठको भनाइ छ । प्राधिकरणले अर्बौं लगानी गरेर तार भूमिगत गर्दा पनि सहरको कुरुपता तत्कालै नहट्ने देखिएको छ ।
- सहरी सौन्दर्य र सुरक्षामा आधुनिक फट्को
प्राधिकरणले गरिरहेको विद्युतीय तार भूमिगतको मुख्य उद्देश्य केवल तार लुकाउनुमात्र नभएको जनाएको छ । सिङ्गो विद्युत् वितरण प्रणालीलाई ‘स्मार्ट’ र सुरक्षित बनाउनु पनि भएको उल्लेख गरेको छ ।
_nwc7vazlij_FwPO9Okb4t.jpg)
जमिनमाथिको (ओभरहेड) वितरण प्रणालीभन्दा भूमिगत प्रणाली कैयौँ गुणा सुरक्षित हुने विश्वास प्राधिकरणको छ । त्यस्तै, हावाहुरी, भारी वर्षा, चट्याङ वा रुखका हाँगा खसेर तार चुँडिने र विद्युत् अवरोध हुने समस्या भूमिगत प्रणालीमा हुँदैन ।
विद्युत् आपूर्तिलाई निरन्तर र गुणस्तरीय बनाउँछ भने विद्युतीय दुर्घटनाबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्ने छ । प्राधिकरणले काठमाडौँ उपत्यका बाहेक पोखरा र भरतपुरमा पनि तार भूमिगत गर्ने काम गरिरहेको छ, जसले देशका प्रमुख सहरहरूलाई आधुनिक, सुरक्षित र सुन्दर बनाउने अभियानले गति लिएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण