शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
खेलकुद

एनपीएलः बलियो विराटनगरलाई चितवनले रोक्ला ?

बुधबार, १० मङ्सिर २०८२, १२ : १३
बुधबार, १० मङ्सिर २०८२

सारांश

  • आजको एनपीएल टी-२० क्रिकेट प्रतियोगितामा चितवन राइनोज र विराटनगर किङ्स भिड्दैछन्।
  • विराटनगर किङ्सले राम्रो प्रदर्शन गरिरहेको छ, तर चितवनले सोचेअनुसार खेल्न सकेको छैन।
  • कमेन्टेटर सुमित तिमल्सिनाले विराटनगरको जित्ने सम्भावना औंल्याएका छन्, तर नतिजा जे पनि आउन सक्छ।

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज चितवन राइनोज र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दैछन् । विराटनगर किङ्सले अहिलेसम्म खेलेका तीन वटै खेलमा जित हासिल गरेको छ र उत्कृष्ट लयमा देखिएको छ ।

विराटनगर किङ्स र उसका सबैजसो खेलाडी राम्रो लयमा छन् । विशेषगरी टप अर्डरका ब्याट्सम्यानहरू लोकेश बम, जज मुन्सी र मार्टिन गुप्टिलले राम्रो प्रदर्शन गरिरहेका छन् । तर, मध्यक्रमका ब्याट्सम्यानले अपेक्षाकृत प्रदर्शन गर्न सकिरहेका छैनन् ।

शुभम रन्जनले राम्रो खेलिरहेका छन् । यद्यपि उनीहरूबाट अझै राम्रो प्रदर्शनको अपेक्षा गरिएको छ ।

क्रिकेट कमेन्टेटर सुमित तिमल्सिनाले आजको प्रि–म्याच एनलाइसिसमा विराटनगर भारी हुने सम्भावना औँल्याए । तर, चितवन पनि ‘अन पेपर’ बलियो भएका कारण नतिजा जे पनि आउन सक्ने उनको भनाइ छ ।

तिमल्सिनाका अनुसार आजको खेलमा मार्टिन गुप्टिललाई कुशल मल्लले चुनौती दिन सक्छन् । कुशलले यसअघि पनि गुप्टिलको विकेट लिइसकेका छन् । गुप्टिल लेफ्ट आर्म स्पिनरविरुद्ध कमजोर देखिएको भन्दै उनले पावर प्लेमा कुशल बलरका रूपमा आउनुपर्ने सुझाव दिए । यदि गुप्टिलको विकेट चाँडै लिन सकेमा विराटनगरको टप अर्डर दबाबमा आउन सक्ने उनको तर्क छ ।

विराटनगरको बलिङ सन्दीप लामिछानेको नेतृत्वमा निकै बलियो देखिएको छ । नरेन भट्टले पनि राम्रो बलिङ गरिरहेका छन् भने प्रतिश जिसीले पनि उनलाई राम्रो साथ दिइरहेका छन् ।

biratnagar

चितवन राइनोजमा अनुभवी खेलाडी भए पनि उनीहरूले सोचे अनुसारको प्रदर्शन गर्न सकेका छैनन् । रवि बोपाराले राम्रो खेलिरहेका छन्, तर कुशल मल्लले ब्याटिङमा कप्तानी पारी खेल्न सकेका छैनन् । तिमल्सिनाले टिम विदेशी खेलाडीहरूमा बढी निर्भर देखिए कुशल मल्ल र देव खनालजस्ता नेपाली खेलाडीहरूले अझै राम्रो प्रदर्शन गर्नुपर्ने बताए ।

डेभिड मलानले पनि अहिलेसम्म खासै राम्रो प्रदर्शन गर्न सकेका छैनन् । यदि उनले आज राम्रो प्रदर्शन गरेमा चितवनलाई राम्रो सुरुवात मिल्न सक्नेछ । देव खनालले पनि उनलाई साथ दिनुपर्नेछ ।

chitwan

विराटनगरको तुलनामा चितवनको मिडल अर्डर कमजोर छ । त्यसैले, आजको खेलमा चितवनले राम्रो प्रदर्शन गर्न आफ्ना ब्याट्सम्यानहरूलाई राम्रोसँग प्रयोग गर्नुपर्ने देखिन्छ ।

सुमित तिमल्सिनाका अनुसार विराटनगरका बसिर अहमद आजको खेलमा निर्णायक खेलाडी सावित हुन सक्छन् । उनले मध्यक्रममा राम्रो ब्याटिङ गर्न सक्ने क्षमता राख्छन् । त्यस्तै, चितवनका लागि सेफ जइब महत्त्वपूर्ण खेलाडी हुन सक्छन् ।

तिमल्सिनाले विराटनगर किङ्स आफ्नो लयमा रहेको र उसले नै जित्ने सम्भावना रहेको बताए । तथापि, क्रिकेट अनिश्चितताको खेल भएकाले चितवन राइनोजले अप्रत्यासित नतिजा ल्याउन सक्ने सम्भावनालाई पनि नकार्न नसकिने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप