शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

अहिलेको जस्तो अराजकता त दरबार हत्याकाण्डका बेला पनि थिएन : हरि शर्मा

बुधबार, १० मङ्सिर २०८२, १६ : ५०
बुधबार, १० मङ्सिर २०८२

काठमाडौँ । राजनीतिक विश्लेषक हरि शर्माले अहिलेको जस्तो अराजकता दरबार हत्याकाण्डका बेलामा पनि नभएको बताएका छन् । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले काठमाडौँमा बुधबार आयोजना गरेको विशेष भेलामा शर्माले अहिले राज्य भत्केको नभई पग्लेको बताए । 

‘अहिलेको जस्तो अराजकता त दरबार हत्याकाण्डका बेला पनि थिएन । यो राज्य भत्केको होइन, पग्लेको हो,’ शर्माले भने । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि  नेपालको ‘गणतन्त्र’ राष्ट्रपति रामचन्द्र पौडेलले बचाएको शर्माले बताए । ‘राष्ट्रपतिले जोगाएको हो हामीलाई, नत्र आज नेताहरू नख्खु जेलमा हुन्थे’ उनले भने ।

जेनजीहरू रक्षा बमलगायतले प्रधान सेनापतिलाई तपाईंले ‘कू’ गर्न खोजेको हो भनेर गरेको प्रश्नले लोकतन्त्र जोगाएको शर्माको भनाइ थियो । उनले प्रश्नले लोकतन्त्र जोगाउने बताए ।

शर्माले लोकतन्त्र बचाउन, चुनाव गराउन र नागरिकलाई चयनको अधिकार दिन पनि सरकारसँग आग्रह गरे । कांग्रेसले निर्वाचनमा जाने निर्णय गरेर अरू पार्टीलाई पनि त्यसतर्फ डोहोर्याएको बताउँदै शर्माले पार्टीको नयाँ नीति र नेतृत्व चुन्न आग्रह गरे । नयाँ पुस्तालाई भरोसा लाग्ने पार्टी बनाउन शर्माले आग्रह गरे ।

आफू कांग्रेसको सदस्य नभएको तर पार्टीको छहारीमा हुर्केको मान्छे भएको शर्माको भनाइ छ । ‘म यो पार्टीको सदस्य छैन तर पार्टीको छहारीभित्र हुर्केको नागरिक हुँ,’ शर्माले भने ।

शर्माले लोकतन्त्रमा कुनै किसिमको कालो बादल आयो भने आफ्नो नागरिक चेत खलबलिने बताए । ‘लोकतन्त्रमा कुनै किसिमको कालो बादल आयो भने मेरो नागरिक चेत खलबलिन्छ । कुनै समयमा हामीले नेताको विवेकमा पार्टीलाई छाडेको हो । तपाईंहरूले बढो मेहनत गरेर आफ्नो अधिकार आफ्नो हातमा लिनुभएको छ, म यहाँ तपाईंहरूलाई सलाम गर्न आएको हो,’ शर्माले भने ।

विधानमा व्यवस्था भएअनुसार विशेष महाधिवेशन माग्दा सुन्न नसके लोकतन्त्र बलियो नहुने शर्माले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप