शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
प्रधानमन्त्री-एमाले छलफल

चुनावमा सहभागी हुन प्रधानमन्त्रीको आग्रह, एमाले नेताले भने- वातावरण बनाए तयार छौं

बिहीबार, ११ मङ्सिर २०८२, २० : ००
बिहीबार, ११ मङ्सिर २०८२

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुन एमालेलाई आग्रह गरिन्।
  • एमाले नेताहरूले निर्वाचनको उचित वातावरण बने भाग लिन तयार रहेको बताए।
  • छलफलमा चुनावी सुरक्षा लगायतका विषयमा सरकारले गम्भीर काम गर्नुपर्ने सुझाव दिइयो।

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्रिय सहभागी हुने नेकपा एमालेका नेताहरुलाई आग्रह गरेकी छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्की र एमालेका नेताहरुबिच छलफल भएको थियो । प्रधानमन्त्री कार्कीले तोकिएको समयमा नै निर्वाचन गर्न सरकार गम्भीर भएर लागेको बताइन् । 

प्रधानमन्त्रीको आग्रहमा एमाले नेताहरुले निर्वाचनको उचित वातावरण बने आफ्नो पार्टी भाग लिन तयार रहेको बताएको नेता महेश बर्तौलाले जानकारी दिए । 

लोकतान्त्रिक मूल्यमान्यतालाई जीवन्त बनाउन लामो समय संघर्ष गरेको पार्टी जनताका बिचमा परीक्षण हुने कुरामा कहिल्यै विरोध नगर्ने जवाफ प्रधानमन्त्री कार्कीलाई दिएको बर्तौलाले बताए । चुनावी सुरक्षा लगायतका विषयमा सरकारले गम्भीर काम गर्नुपर्ने सुझाव दिएको उनको भनाइ छ । 

छलफलपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्रीले औपचारिक रुपमा निर्वाचनमा सहभागी हुन एमालेलाई आग्रह गरेको जानकारी दिए । 

‘एमाले नेताहरुले आफूहरु निर्वाचनबाट नभाग्ने र सरकारले निष्पक्ष रुपमा निर्वाचन गर्ने वातावरण बनाए भाग लिने बताउनुभयो,’ मन्त्री खरेलले भने । चुनावका सन्दर्भमा देखिएका आशंकाहरु एमाले नेताहरुसँगको भेटपछि धेरै कम भएको महसुस भएको पनि उनले बताए । 

छलफलमा एमालेका तर्फबाट महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता बर्तौला सहभागी थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप