कांग्रेसमा विशेष महाधिवेशन गर्दा के–के परिवर्तन हुन्छ ?
सारांश
- नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग जोडतोडले उठिरहेको छ, विधानको धारा १७ (२) अनुसार।
- ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापतिलाई पत्र बुझाएका छन्।
- विशेष महाधिवेशन भएमा नेतृत्व परिवर्तन हुने र सिंगो कार्यसमिति पनि परिवर्तन हुन सक्ने देखिन्छ।
काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग जोडतोडले उठिरहेको छ । पार्टीको विधानको धारा १७ (२) मा विशेष महाधिवेशनसम्बन्धी व्यवस्था छ ।
‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ’ विधानको धारा १७ (२) मा लेखिएको छ ।
कांग्रेसमा यसैअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहितको पत्र बुझाएका छन् । उनीहरूको मागअनुसार तीन महिनाभित्र विशेष महाधिवेशन गर्नै पर्ने विधानको व्यवस्थाले देखाउँछ ।
उनीहरूले हस्ताक्षर बुझाएको ३ महिना पुस २८ गते पुग्छ । त्यसबेलासम्म कि पार्टीको १५ औँ नियमित महाधिवेशन हुन पर्यो, नभए विशेष महाधिवेशन बाध्यकारी हुन्छ । यो समयसम्म नियमित महाधिवेशन गर्ने भएमा विशेष महाधिवेशनको एजेण्डा थाती राख्न सकिने वरिष्ठ अधिवक्तासमेत रहेका सिताराम केसी बताउँछन् । केसी कांग्रेसको केन्द्रीय निर्वाचन समितिमा पटक–पटकका सदस्य पनि हुन् ।
कांग्रेस विधानमा विशेष महाधिवेशनको व्यवस्था गरिए पनि कसरी गर्ने, के–के विषय समेट्ने भनेर व्याख्या नभएकाले धेरैमा अन्योल छ । विशेष महाधिवेशन भएमा नेतृत्वमात्रै परिवर्तन हुन्छ कि सिंगो केन्द्रीय समिति पनि परिवर्तन हुन्छ भन्नेमा धेरै अनभिज्ञ छन् ।
वरिष्ठ अधिवक्ता केसी जुन एजेण्डा राखेर माग गरिन्छ, विशेष महाधिवेशनले त्यही एजेण्डा सम्बोधन गर्ने बताउँछन् । ‘कांग्रेसमा विशेष महाधिवेशन जुन एजेण्डा राखेर माग गरिन्छ, त्यही एजेण्डा त्यो महाधिवेशनबाट सम्बोधन हुन्छ,’ केसीले रातोपाटीसँग भने, ‘सभापतिमात्रै परिवर्तन भनेमा त्यत्तिमात्र सम्बोधन गर्छ, सिंगो कार्यसमिति नै परिवर्तन भनेमा सिंगो कार्यसमिति नै परिवर्तन गर्छ ।’
अहिलेको अवस्था फरक रहेकाले विशेष महाधिवेशन भयो भने सिंगो कार्यसमिति नै परिवर्तन हुने केसीको भनाइ छ । ‘अहिलेको अवस्था अलि फरक छ । माग गर्दा पनि महाधिवेशन प्रतिनिधिहरूले नेतृत्वसहित कार्यसमिति नै परिवर्तन भनेका छन्,’ केसीले भने, ‘वर्तमान कार्यसमितिको म्याद सकिन एक महिना पनि बाँकी छैन । तसर्थ नेतृत्वसहित सिंगो कार्यसमिति नै परिवर्तन हुन्छ ।’
विशेष महाधिवेशनबाट आउने नयाँ कार्यसमितिले सिङ्गो कार्यकाल भने काम गर्न पाउँदैन । अहिलेको अवस्थामा एक वर्षमात्रै विशेष महाधिवेशनबाट आउने नेतृत्वले काम गर्न पाउने केसी बताउँछन् । ‘१४ औँ महाधिवेशनबाट आएको कार्यसमितिको म्याद सकिन लागेको छ । यो समितिले विधान अनुसार केन्द्रीय कार्यसमितिको बहुमतबाट एक वर्ष म्याद थप्न पाउँछ । विशेष महाधिवेशन भएर नयाँ नेतृत्वसहितको कार्यसमिति आयो भने पनि त्यसको म्याद त्यही समयसम्म मात्र हुन्छ,’ केसीले भने ।
विशेष महाधिवेशनबाट चुनिने नेतृत्व र कार्यसमितिले विशेष महाधिवेशन हुन अगाडि नियमित महाधिवेशनबाट आएको कार्यसमितिको म्याद जति हुन्छ, त्यति नै समय कार्यकालका रूपमा काम गर्न पाउने केसी बताउँछन् ।
केन्द्रमा विशेष महाधिवेशन भएमा केन्द्रीय समिति बाहेकका संरचना १४ औँ महाधिवेशनबाटै निर्वाचित हुन्छन् । उनीहरूमा केही पनि परिवर्तन हुँदैन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण