गौर–चपुर सडक खण्डमा तीन सवारी आपसमा ठोक्किँदा ७ जना घाइते, होटलमा समेत क्षति
सारांश
- रौतहटको यमुनामाई गाउँपालिकामा तीन सवारीसाधन आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।
- दुर्घटनामा स्थानीय विजय साहको होटलमा क्षति पुगेको छ।
- घाइतेहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा भर्ना गरिएको छ, र घटनाको अनुसन्धान भइरहेको छ।
रौतहट । रौतहटको गौर चन्द्रपुर सडकखण्ड अन्तर्गत यमुनामाई गाउँपालिका–४ स्थित आज बिहान ८:३० बजे तीन सवारीसाधन आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्। दुर्घटनामा स्थानीय विजय साहको होटलसमेत क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार बडहर्वातर्फबाट आउँदै गरेको एचआर–२८–डी–७२२२ नम्बरको स्कार्पियोले चपुरबाट गौरतर्फ जाँदै गरेको विआर–०७–पिए–७५८४ नम्बरको स्कार्पियोलाई र बाटोमै रोकी राखिएको ना।२ह–६५२५ नम्बरको अटोलाई ठक्कर दिएपछि दुर्घटना भएको हो।
घाइतेहरुमा बारा आदर्श कोतवाल–७ का वर्ष ३० का पवन यादव, सर्लाही बरहथवा–१४ का वर्ष ११ का अंकित महतो, स्कार्पियो चालक गौर–२ का २४ वर्षीय सुरेन्द्र कुमार साह, राजदेवी–८ का वर्ष ५० का शिवजी साह, मुनामाई–५ का ३९ वर्षका मंगल पटेल र राजपुर–३ का वर्ष १० का तारिक वस्ता रहेका छन् ।
दुर्घटना भएपछि प्रहरी टोली तत्कालै घटनास्थल पुगेको र तीनैवटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा भर्ना गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण