बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मतपेटिका हराएपछि तनहुँ-१ मा केन्द्रको हस्तक्षेप, सहमतिमै चुनिए एमालेका प्रतिनिधि

बुधबार, १७ मङ्सिर २०८२, ०७ : ५८
बुधबार, १७ मङ्सिर २०८२

सारांश

  • नेकपा एमालेको प्रतिनिधि छनोट निर्वाचनमा विवाद भएपछि केन्द्रले हस्तक्षेप गर्यो।
  • बन्दीपुरमा मतपेटिका लुटिएपछि केन्द्रले उम्मेदवारहरूसँग छलफल गरी ५ जनाको नाम टुंगो लगायो।
  • मतगणनामा धाँधली भएको गुनासो गर्दै उम्मेदवारहरूले केन्द्रको निर्णय स्वीकारे।

पोखरा । नेकपा एमालेको प्रतिनिधि छनोट निर्वाचनमा विवाद भएपछि तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधि छनोटमा केन्द्रले हस्तक्षेप गरेको छ । देवघाट, भानु र आँबुखैरेनीको मत गनिसकेपछि बन्दीपुरमा पुग्दा विवाद भएको थियो । उक्त विवाद जिल्ला स्तरले मिलाउन नसकेपछि केन्द्रबाटै प्रतिनिधिको टुङ्गो लगाइएको हो ।

सोमबार र मंगलबार उम्मेद्वारहरुसँग छलफल गरेर ५ जनाको नाम केन्द्रमा पठाउने निर्णय भएको छ । खुलातर्फ जिल्ला अध्यक्ष हरिराज कँडेल र प्रेमकुमार राना, महिलातर्फ मनुमाया श्रेष्ठ र फुलमती थापाको नाम टुङ्गियो । यस्तै, ४० वर्ष मुनीका युवाबाट मदन तिमिल्सेनालाई सिफारिस गरिएको छ ।

बन्दीपुर गाउँपालिकाको मत गन्ने क्रममा विवादपछि मतपेटिका नै लुटिएको अध्यक्ष कँडेलले बताए । ‘प्रक्रिया रोक्ने कुरा भएन । महाधिवेशनमा सहभागी नहुने भन्ने पनि भएन,’ उनले भने, ‘जे भयो घटना नराम्रो भयो । यसबारे पछि छानबिन हुन्छ ।’

मतपेटिका हराएको र पुनः मतदानको समय पनि बाँकी नभएपछि सहमतिमै नाम टुङ्ग्याउने जिम्मा केन्द्रीय सदस्यहरूलाई दिइएको कँडेलले जानकारी दिए । पोलिटब्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्यद्वय भगवती न्यौपाने र सविता रसाइली तथा केन्द्रीय सल्लाहकार प्रतापलाल श्रेष्ठले त्यसको जिम्मा पाएका थिए । सहमतिका लागि सबै उम्मेदवारलाई केन्द्रले गरेको निर्णय स्विकार्ने प्रतिबद्धता गराइएको थियो ।

प्रतिनिधिका उम्मेदवार रामबहादुर गुरुङ निर्णय स्विकार्ने सहमति गरिएको बताउँछन् । ‘छलफल भएको थियो । टुङ्ग्याउनुस्, स्विकार्छु भनेर निस्किएको हुँ,’ उनले भने, ‘मतपत्र नै खरिद गरेर मनपरी भोट हालिएको छ । त्यस्तो भोट गनेर पनि कुनै अर्थ थिएन, सहमति गरेपनि उही हो ।’ मतगणनाका क्रममा नै धाँधली भएको उनको गुनासो छ ।

यस अघि तनहुँ क्षेत्र नम्बर १ बाट खुल्ला तर्फ श्रीप्रसाद श्रेष्ठ, राजेश्वर ढकाल र विष्णुभक्त सिग्देल, महिला तर्फ बिर्सना श्रेष्ठ र विष्णुमाया अधिकारी पराजुली र युवाबाट उज्वल खनाल तथा दलित क्लस्टरमा भरत लामगादे सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप