शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

म झुट बोल्ने मानिस

शुक्रबार, १९ मङ्सिर २०८२, ११ : ३४
शुक्रबार, १९ मङ्सिर २०८२

आमा सँग झुट बोले,
प्रमाणित गर्न चाहन्न वा सक्दिन,
बुवा सँग झुट बोले,
झुट नबोल्ने को होला र ?
साथी सँग झुट बोले,
बाध्यता वा आफू अरू भन्दा फरक बन्न,

पाठशालामा झुट बोले,
गृहकार्य नगरी र पुस्तकै नपढी सबै आउँछ भनेर,
अर्धाङ्गिनी सँग झुट बोले, 
स्थिति ,परिस्थिति र मनस्थिति अनुसार भनेर,
सन्तति सँग झुट बोले 
चिन्ता नगर बाबु पढे पछि देशमै राम्रो हुन्छ भनेर,

९० बर्से हजुरबुबा हजुरआमा सँग झुट बोले संसार नियम यस्तै हो, 
सबैलाई पीडा र दु:ख छ, भनेर कार्यालयमा झुट बोले,
तलब,भूमिका निर्वाह र नियमै यस्तै छ भनेर,

टोल,समाज र देशमा आँखै अगाडि धेरै गुणस्तरहीन विकास भयो, 
त्यसमा पनि राम्रो बन्यो भनी झुट बोले,

देशमा विद्रोह र विश्वास सङ्कट पर्‍यो,
अब त सबैको चेतना खुल्यो,

अब त साँच्चै देश राम्रो हुन्छ भनेर झुट बोले,

नेता, कार्यकर्ता, समाजसेवी र बुद्धिजीवीहरूको भाषण, शासन र आश्वासन धेरै सुनियो,

अझै  सुनाउँदै छन्,
अब त देशमा सुशासन आउँछ र भ्रष्टाचार निर्मूल हुन्छ भनी झुट बोले,

अब पासपोर्ट बनाउन लाइन बस्नु पर्दैन, 
हाम्रो पासपोर्ट पनि अरू देशको जस्तै बलियो हुन्छ,
यो देश हामीले बनाउने हो,
अब नेपाल स्वीजरल्याण्ड जस्तै देश बन्छ भनेर झुट बोले,

आयोग, आयुक्त, न्यायमूर्ति ,सञ्चार जगत, सामाजिक सञ्जाल धेरै आए र गए, 
सधैँ भन्ने गर्थे र अझै भन्दै छन्, हामी सत्य,निष्पक्ष,देश र जनताको लागि मात्र हो भनेर, 
सोचेँ अब असत्यको हार र सत्य को जित हुन्छ भनेर झुट बोले,

"पैसा, पावर, माया ,सम्मान, इज्जत र सामाजिक हैसियत प्राप्त गर्न सधैँ भोको भई हरेक पल पल झुट बोले"
मेरो तन,मन र वचनलाई प्रभावमा पारी,
झुट बोल्न बाध्य पार्ने लाइसेन्स उपलब्ध गराउने समाज, जनता, 
देशी र विदेशी शक्तिको अगाडी अब उपरान्त झूट नबोल्ने शपथ खान्छु, 
उही "म झुट बोल्ने मानिस"
 
नागरिकताले दुई बिस चानचुन कटायो, 
आँखै अगाडि समयले धेरै नाटक देखायो,
मुतको तातो, परालको आगो र झूटको बाटोको यात्रा जोखिम पूर्ण हुन्छ भन्ने विश्वास समयले बतायो।

"झुटलाई प्रमाणित गर्न झन् धेरै झुट बोले" कदापि मनलाई ढाँट्न सकिन"

"म अब झुट नबोल्ने मानिस"

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पुरुषोत्तम लोहनी
पुरुषोत्तम लोहनी
लेखकबाट थप