शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार

शुक्रबार, १९ मङ्सिर २०८२, २० : ३८
शुक्रबार, १९ मङ्सिर २०८२

सारांश

  • कृषि मन्त्री मदनप्रसाद परियारले शहरी माटोको संरक्षण र गुणस्तर वृद्धि आवश्यक रहेको बताए।
  • उनले अम्लीय माटोको उर्वराशक्ति घट्दा उत्पादनमा ह्रास आउने र स्वस्थ माटो बनाउन जोड दिए।
  • मन्त्री परियारले माटो नक्सा अद्यावधिक गर्ने र किसानको क्षमता अभिवृद्धि गर्ने बताए।

काठमाडौँ। कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियारले खेतीयोग्य गाउँको माटोजस्तै सहरी क्षेत्रको माटो पनि मूल्यवान् रहेको भन्दै त्यसको संरक्षण र गुणस्तर अभिवृद्धि अपरिहार्य रहेको बताएका छन्।

बाह्रौँ विश्व माटो दिवसका अवसरमा कृषि विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री परियारले माटो कृषि उत्पादनको प्रमुख साधन हुनुका साथै सम्पूर्ण पारिस्थितिक प्रणाली सन्तुलनको महत्त्वपूर्ण अवयव भएकाले यसको संरक्षणसँगै गुणस्तर बढाउनु जरुरी रहेकोमा जोड दिए। उनले भने, ‘खेती हुने गाउँको माटोजस्तै सहरको माटो पनि मूल्यवान् छ। त्यसैले यसको संरक्षण एवं गुणस्तर अभिवृद्धि गर्नतर्फ सबै केन्द्रित हुनुपर्ने आवश्यकता छ।’

मन्त्री परियारले व्यावसायिक र सघन खेती प्रणाली अपनाउँदा नेपालको अधिकांश माटो अम्लीय हुन गएको उल्लेख गरे। विशेष गरी, पूर्वी नेपालको माटो पश्चिम नेपालको तुलनामा बढी अम्लीय रहेको जानकारी दिँदै उनले अम्लीय माटोको उर्वराशक्ति घट्दा उत्पादनमा ह्रास आउने बताए।

उनले उत्पादन बढाउन र माटोको संरक्षणका लागि उर्वराशक्ति बढाउनुपर्नेमा जोड दिँदै माटोको सही उपयोगमार्फत दिगो कृषि उत्पादन वृद्धि गर्नुका साथै सम्पूर्ण पारिस्थितिक प्रणाली सन्तुलन गर्नका लागि माटो स्वस्थ बनाउन, सुधार गर्न र संरक्षण गर्न जरुरी रहेको बताए।

ग्रामीण क्षेत्रमा असन्तुलित रासायनिक मल तथा अत्यधिक विषादीको प्रयोग, अव्यवस्थित खेती गरिनु चुनौतीका रूपमा रहेका छन् भने सहरमा अत्यधिक प्लास्टिकको प्रयोग, औद्योगिक तथा घरायसी फोहर पनि चुनौतीको रूपमा रहेका मन्त्री परियारले बताए। उनले बढ्दो सहरीकरणले खुला क्षेत्रको माटो कङ्क्रिट र सडकले ढाकिँदै जाँदा माटोको पानी सोस्ने र बिरुवा उमार्ने क्षमता कम हुँदै गएको र यही कारणले माटोको गुणस्तरमा ह्रास आएको उल्लेख गरे।

मन्त्री परियारले माटो नक्सालाई अद्यावधिक गर्ने कार्य भइरहेको र त्यसबाट किसानले आफ्नो जमिन र माटोको खाद्यतत्वको अवस्था जानकारी लिई सोहीबमोजिम सन्तुलित मलखाद प्रयोग गर्नसक्ने बताए। मन्त्रालयले सरोकारवाला निकायसँगको समन्वयमा माटो परीक्षण, सन्तुलित मलखाद प्रयोगलगायत विषयमा प्राविधिक तथा किसानको क्षमता अभिवृद्धि गर्ने, रासायनिक र प्राङ्गारिक मलको सही प्रयोग एवं नियमनसम्बन्धी कार्यहरू नियमित गर्दै आएको उनले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप