शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा

शुक्रबार, १९ मङ्सिर २०८२, २१ : १६
शुक्रबार, १९ मङ्सिर २०८२

सारांश

  • पोखरामा जारी आइटिएफ वर्ल्ड टेनिस टुर जुनियर्स जे-३० प्रतियोगिताको सेमिफाइनल खेल सम्पन्न भयो।
  • पुरुष एकलतर्फ कोरियाका युल हो जुङ र श्रीलङ्काका गानुका फर्नान्डो फाइनलमा प्रवेश गरे।
  • महिला एकलतर्फ नेपालकी शिवाली गुरुङ र चाइनिज ताइपेइकी केचि सु उपाधि नजिक पुगे।
  • प्रतियोगितामा १६ देशका ८० खेलाडीको सहभागिता रहेको छ।

कास्की । पोखरामा यही मङ्सिर १५ गतेदेखि आइटिएफ वर्ल्ड टेनिस टुर जुनियर्स जे–३० प्रतियोगिता सञ्चालन भइरहेको छ । पोखरा रङ्गशालाको टेनिस सेन्टरमा जारी प्रतियोगिताको आज सम्पन्न सेमिफाइनल खेलमा पुरुष एकलतर्फ कोरियाका युल हो जुङ र श्रीलङ्काका गानुका फर्नान्डो फाइनलमा प्रवेश गरेका छन् ।

त्यसैगरी, महिलातर्फ नेपालकी शिवाली गुरुङ र चाइनिज ताइपेइकी केचि सु उपाधि नजिक पुगेका छन् । पुरुषतर्फ कोरयाका युलले प्रतियोगितामा जुनियर शीर्ष वरियताका चाइनिज ताइपेइका टिङ हो याङलाई ३–६, ६–३, ७–६ (१) ले पराजित गरी जित निकाल्दै फाइनलमा स्थान बनाएका हुन् । त्यस्तै, आजै भएको सेमिफाइनल खेलमा श्रीलङ्काका गानुकाले नेपालका प्रणव मानन्धरलाई ६–४, ६–२ को सोझो सेटमा हराउँदै फाइनल स्थान सुरक्षित गरेका छन् ।

महिला एकलतर्फ चाइनिज ताइपेइकी सुले भारतकी अनन्या जैनलाई ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउकी छिन् भने अर्काे सेमिफाइनलमा नेपालकी गुरुङले भारतकी जुनियर दोस्रो वरियताकी कार्तिकालाई ६–२, ३–६, ६–१ ले हराउँदै फाइनलमा प्रवेश गरेकी हुन् ।

प्रतियोगितामा ‘पुरुष डबल्स’तर्फ कोरियाका हियोजिन हा र युल हो जुङको जोडीले भारतका फजल अली मिर र हङकङका सेल्विन युएन वङको जोडीलाई ३–६, ६–३, १०–८ ले हराउँदै उपाधि जित्न सफल भएका छन् । महिला डबल्सतर्फ शिवाली गुरुङ र केचि सुको जोडीले भारतकी सौम्या चटर्जी र रञ्जना सग्रामको जोडीलाई ६–२, ६–२ ले पराजित गर्दै उपाधि जितेका छन् ।

जारी प्रतियोगिताको सर्किट–१ अन्तर्गतको फाइनल खेल शनिबार हुने आयोजक कास्की टेनिसका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिएका छन् । यही दुई सातासम्म सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे ३० सर्किट–१ र २ अन्तर्गत १६ देशका ८० खेलाडीको सहभागिता रहेको छ । जसमा पुरुषतर्फ ५५ र महिलातर्फ २५ जना रहेका छन् ।

प्रतियोगितामा नेपालसहित भारत, चीन, अमेरिका, न्युजील्याण्ड, ताइवान, बङ्गलादेश, क्यानाडा, अस्ट्रेलिया, कोरिया, बेलायत, सिङ्गापुर, मलेसिया, श्रीलङ्का, इजरायल र हङकङका खेलाडीको सहभागिता छ । प्रतियोगितामा विभिन्न चार विधामा प्रतिस्पर्धा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप