छपकैया तरकारी तथा फलफूल थोक बजार सञ्चालनमा, विवादित जग्गा सार्वजनिक कायम
काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले वडा नम्बर २ रेल्वे रोडस्थित छपकैयामा निर्माण गरिएको ‘छपकैया तरकारी तथा फलफूल थोक बजार’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । यससँगै वीरगञ्जमा लामो समयदेखि खड्किएको व्यवस्थित थोक तरकारी बजारको अभाव हटेको छ ।
थोक बजार शुभारम्भ कार्यक्रममा बोल्दै महानगर प्रमुख राजेशमान सिंहले बजार निर्माण छपकैयावासीकै पहिचान र नाममा जोडिएको बताए । स्थानीय समुदायको भूमिका नै बजार सञ्चालनको मुख्य आधार हुने उल्लेख गर्दै उनले भने, ‘यो बजार छपकैयावासीकै नाममा बनाइएको हो । यसलाई सफा, सुरक्षित र व्यवस्थित राख्न यहाँका स्थानीय बासिन्दाको भूमिका महत्त्वपूर्ण छ । यो यहाँकै सम्पत्ति र धरोहर हो ।‘
मेयर सिंहका अनुसार बजार निर्माण अढाई वर्षअघि नै सुरु गर्ने योजना भए पनि बीपी उद्यानमा रहेका व्यवसायीका कारण ढिलाइ भएको हो । बीपी उद्यानलाई हरित पार्कका रूपमा विकास गर्दै त्यहाँ रहेको अव्यवस्थित बजार हटाइने र उनीहरूलाई छपकैया बजारमै स्थानान्तरण गर्न विकल्प दिइएको उनको भनाइ छ ।

‘हाम्रो लक्ष्य स्पष्ट छ वैभव वीरगञ्ज । व्यवस्थित बजार, हरित क्षेत्र, सेवा सुविधामा सुधार र कानुन कार्यान्वयनमा कडाइ । यही अवधारणामा महानगर अघि बढिरहेको छ,’ मेयर सिंहले भने ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बजार सञ्चालनले किसान र उपभोक्ता दुवै लाभान्वित हुने बताए । ‘अव्यवस्थित थोक बजारको अभावका कारण किसानलाई सडक छेउ वा अस्थायी ठाउँमा बिक्री गर्नुपर्ने बाध्यता थियो । अब किसानले सहज रूपमा उत्पादन ल्याउन पाउनेछन् भने उपभोक्ताले व्यवस्थित रूपमा खरिद गर्न सक्नेछन् । यसले सवारी आवागमन पनि सहज हुनेछ,’ उनले भने ।
वीरगञ्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार पहिलो चरणमा ७० लाख रुपैयाँ लागतमा निर्माण गरिएको १४ युनिटमा २८ वटा सटर सञ्चालनमा आएका छन् । बजार परिसरमा बिजुली, पानी, शौचालय, ढल निकास र सुरक्षा व्यवस्थासहित सबै आधारभूत सुविधा उपलब्ध छन् । आगामी चरणमा थप ७० लाख रुपैयाँ लगानी गर्दै युनिट सङ्ख्या र भौतिक संरचना विस्तार गर्ने योजना समेत रहेको कर्णले जानकारी दिए ।
उनका अनुसार खुद्रा र थोक कारोबारलाई अलग–अलग संरचनाबाट सञ्चालन गरिने भएकाले व्यवसायीलाई दीर्घकालीन योजनासहित कारोबार गर्न सहज हुनेछ । ‘यसले रोजगारीका अवसर पनि सिर्जना गर्छ,’ उनले भने ।
यस बजार निर्माण गरिएको जग्गा करिब तीन दशकदेखि विवादमा रहे पनि कानुनी प्रक्रियाबाट सार्वजनिक कायम भएको महानगरको दाबी छ । ताराचन्द केडिया, जगदीश नारायण साह कानु, इन्दु देवी, तारणीविक्रम शाह, शरदविक्रम शाह, हरिनारायण गुप्ता लगायतले स्वामित्व दाबी गरेपनि २०४६ सालको नयाँ नापीमा उक्त जग्गा ‘महल खाली’ रहेको र कुनै स्वामित्व नदेखिएको महानगरले स्पष्ट पारेको छ ।

विभिन्न पक्षले नक्कली कागजात तयार गरी जग्गा कब्जा गर्ने प्रयास गरेपछि २०८० असोज २६ गते महानगर बोर्ड बैठकले जग्गा सार्वजनिक कायम गर्ने निर्णय गर्दै मालपोत कार्यालय पर्सामा निवेदन दिएको थियो । मालपोत कार्यालयले २०८१ असोज १६ मा दाबीहरू खारेज गर्दै जग्गा सार्वजनिक कायम गर्ने र नेपाल सरकारको नाममा दर्ता गर्ने निर्णय गरेको हो । यससँगै बजार निर्माण कानुनी रूपमा सुरक्षित भएको महानगरको निष्कर्ष छ ।
उद्घाटन कार्यक्रममा सहभागी व्यवसायीहरूले बजार अब दीर्घकालीन रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरे । स्थायी संरचना बनेपछि लगानी, भण्डारण सुधार, गुणस्तरीय बिक्री प्रणाली र किसानसँगको सिधा कारोबार सहज हुने उनीहरूको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण