अन्तरपार्टी जनवाद र पार्टी लोकतन्त्रीकरणबारे ईश्वरको २५ बुँदे प्रस्ताव
सारांश
- वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी जीवनको लोकतान्त्रिकरणका लागि २५ बुँदे योजना प्रस्तुत गरेका छन्।
- उनले पार्टीभित्र खुला बहस र छलफल, प्रतिस्पर्धा र दुई कार्यकालको प्रावधानलाई जोड दिएका छन्।
- एमालेको ११औँ महाधिवेशनमा पोखरेल र केपी शर्मा ओलीबीच नेतृत्वका लागि प्रतिस्पर्धा हुने सम्भावना छ।
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अन्तरपार्टी जनवाद र पार्टी जीवनको लोकतन्त्रीकरणका सवालमा २५ बुँदे योजना अघि सारेका छन् । मङ्सिर २७ देखि २९ सम्म हुने एमालेको ११ औँ महाधिवेशनको बन्द सत्रमा पेस गर्ने अवधारणा-पत्रमा नेता पोखरेलले यस्तो प्रस्ताव अघि सारेका हुन् ।
‘अन्तरपार्टी जनवाद र पार्टी जीवनको लोकतन्त्रीकरण कुनै पनि निर्णय लिनु अगाडि खुला बहस र छलफल गर्ने, मत राख्ने, असहमति दर्ज गर्ने, मतदान प्रक्रिया अवलम्बन गरेर अल्पमत बहुमतबाट निर्णयमा पुग्ने तर निर्णय गरिसकेपछि सबैले पालना गर्नुपर्ने पद्धति नै जनवादी पद्धति हो’,पोखरेलको अवधारणा-पत्रमा भनिएको छ ।
साथै उनले काम कारबाहीमा एकरूपता विचारमा विविधता नै मार्क्सवादी पार्टी निर्माणको बाटो भएकाले यही पद्धतिबाट अघि बढेरै पार्टी निर्माण गरेको स्मरण गराएका छन् । पोखरेलले अवधारणा–पत्रमा प्रतिस्पर्धाको माध्यमबाट पार्टीमा नेतृत्व विकास गर्ने बाटो स्वीकार गरेको भन्दै पार्टीको आन्तरिक जीवनलाई लोकतान्त्रिक मान्यता अनुसार गतिशील बनाउन २५ बुँदे प्रस्ताव गरेका हुन् ।
पोखरेलको अवधारणा पत्रमा वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको लोकतन्त्रीकरणका सम्बन्धमा पार्टीको सातौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्नुभएको, आठौँ र नवौँ महाधिवेशन मार्फत अभ्यास गरिएको अवधारणालाई केन्द्रदेखि स्थानीय तहसम्म नयाँ सन्दर्भमा थप परिमार्जन गरी लागू गरिनुपर्नेमा जोड दिएका छन् ।
‘जस अन्तर्गत पार्टीका पदाधिकारीहरूमा दुई कार्यकालको प्रावधानलाई पार्टी विधानमा पुनर्स्थापित गरिनुपर्दछ’, पोखरेलले भनेका छन्, ‘व्यक्तिको योग्यता अनुसार जिम्मेवारी, जिम्मेवारी अनुसार कार्यसम्पादन र कार्यसम्पादन अनुसार मूल्याङ्कन गरिने परिपाटी हुनुपर्छ ।’
त्यस्तै संसदीय फाँटका उम्मेदवारको छनोटमा पार्टी सदस्य र आम नागरिकको अभिमतलाई आधार मान्नुपर्ने भन्दै उनले समानुपातिक उम्मेदवार तथा लाभका अवसरहरूमा श्रमिक वर्गीय पक्षधरता, विषय विज्ञता, पार्टीप्रतिको प्रतिबद्धता, स्वच्छ छवि र आचरणलाई आधार मानेर स्पष्ट र पारदर्शी मापदण्डलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।
‘पार्टीका तहगत अधिवेशन र जनसङ्गठनका अधिवेशनमा उच्चतम सहमतिको प्रयत्नका साथै प्रतिस्पर्धालाई मर्यादित, स्वच्छ र पारदर्शी बनाउनुपर्दछ’, पोखरेलले आफ्नो अवधारणा पत्रमा भनेका छन् ।
एमालेको नेतृत्व चयनका लागि ११ औँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म हुँदैछ । उक्त महाधिवेशनमा पोखरेल र केपी शर्मा ओलीबिच प्रतिस्पर्धा हुने निश्चित जस्तै रहेको छ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण