महामन्त्री थापा नेतृत्वको समितिले गर्यो केन्द्रीय समितिको निर्णय नै परिवर्तन
सारांश
- नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता नवीकरणको समय परिवर्तन गरेको छ।
- महामन्त्री गगन थापाको नेतृत्वमा रहेको समितिले नवीकरणको सूची बुझाउने म्याद बढाएको छ।
- नयाँ क्रियाशील सदस्यता वितरणमा पनि कार्यतालिका मिचिएको छ, धेरै क्षेत्रमा फाराम पुगेको छैन।
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गतेको बैठकले क्रियाशील सदस्यता नवीकरणका सम्बन्धमा गरेको निर्णय महामन्त्री गगन थापा नेतृत्वको समितिले परिवर्तन गरेको छ ।
महामन्त्री थापा संयोजकत्वको पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिले नवीकरणका सम्बन्धमा केन्द्रीय समितिले तोकेको समय सीमा परिवर्तन गरेको हो ।
समिति संयोजकको हैसियतले महामन्त्री थापाले सबै जिल्लाका पार्टी सभापतिलाई क्रियाशील सदस्यता सम्बन्धमा अत्यन्त जरुरी परिपत्र गर्दै नवीकरणको सूचीको अन्तिम नामावली केन्द्रमा बुझाउने समय परिवर्तन गरेका हुन् ।
मंसिर १५ गतेको केन्द्रीय समिति बैठकले मंसिर २५ गते (भोलि)सम्म नवीकरणको सूचीको अन्तिम नामावली र रकम केन्द्रमा पठाउने अन्तिम अवधि तोकेको थियो ।

बैठकको त्यो निर्णयमा उल्लेखित मिति परिवर्तन गर्दै महामन्त्री थापाले मंसिर २९ गतेसम्म पठाइसक्न निर्देशन दिएका छन् । थापाले गरेको परिपत्र रातोपाटीले प्राप्त गरेको छ । परिपत्रमा लेखिएको छ, ‘क्रियाशील सदस्यता नवीकरण नभएका र विवरण पठाउन बाँकी रहेका जिल्लाले अविलम्ब तहगत समन्वय गरी नवीकरण विवरण र संकलन गरी वडादेखि जिल्ला कार्यसमितिको बैठकको निर्णयसहित नवीकरणको सूचीको अन्तिम नामावली र केन्द्रलाई बुझाउनुपर्ने सदस्यता शुल्कसहित २०८२ मंसिर २९ गतेसम्म केन्द्रमा पठाइसक्नु पर्नेछ ।’

समिति सदस्य सीता गुरुङले केन्द्रीय कार्यसमितिलाई मिति सच्याउन अनुरोध गर्नेगरी नवीकरण सूची र शुल्क केन्द्रमा बुझाउने मिति परिवर्तन गरी सबै जिल्लालाई परिपत्र गरिएको जानकारी दिइन् । ‘आगामी केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन गर्न आग्रह गर्नेगरी अघिल्लो केन्द्रीय कार्यसमिति बैठकको निर्णयमा परिवर्तन गरेर आज (बुधबार) परिपत्र गरिएको छ,’ कांग्रेस केन्द्रीय समिति सदस्यसमेत रहेकी गुरुङले रातोपाटीसँग भनिन्, ‘कार्यतालिकामा असर गरेपनि काम नभ्याइएकाले परिवर्तन गुर्नपर्यो ।’
महामन्त्री थापा नेतृत्वको समितिमा तीन केन्द्रीय सदस्यहरू गुरुङ, प्रकाश स्नेही रसाइली र योगेन्द्र चौधरी सदस्य छन् । तीमध्ये गुरुङ र चौधरी पाटीभित्र संस्थापन निकट मानिन्छन् भने रसाइली महामन्त्री थापाका विश्वासपात्र हुन् ।
रसाइलीले भने आन्तरिक कार्यतालिका परिवर्तनको विषय त्यति ठुलो नभएको भन्दै सामान्यीकरण गरे । ‘मूल मिति परिवर्तन हुँदैन । आन्तरिक रूपमा तलमाथि त भइहाल्छ नि । यो त्यति ठुलो विषय होइन,’ रसाइलीले रातोपाटीसँग भने ।
कांग्रेसभित्र संस्थापन फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन पछाडि पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने बताउँदै आएको थियो । महामन्त्री थापा र अर्का महामन्त्री थापा भने जसरी भए पनि निर्वाचन अगाडि नै महाधिवेशन गर्नुपर्ने बताउँदै आएका थिए ।
उनीहरूकै जोडबलमा मंसिर १५ गतेको केन्द्रीय कार्यसमिति बैठकले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने मितिसहितको कार्यतालिका ल्याएको थियो । त्यो कार्यतालिका अनुसारको काम अगाडि बढाउन महाममन्त्री थापा नेतृत्वकै समिति असफल बनेको छ ।
थापाले परिपत्रमा मंसिर २९ गतेभित्र मृत्यु भएका, पार्टी परित्याग गरेका, केन्द्रीय अनुशासन समितिले अन्तिम कारबाही गरेर निष्कासन गरेका तथा क्रियाशील नवीकरण नगरिदिनु भनी लिखित वा मौखिक आग्रह गरेकाहरूबाहेक सबै सदस्यहरूको नवीकरण अनिवार्य रूपमा गर्ने आवश्यक व्यवस्था गर्न निर्देशन दिएका छन् । क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण नरोक्ने गरी आवश्यक व्यवस्था र मातहतका समितिमा समन्वय गर्न पनि थापाले परिपत्रमार्फत जिल्ला सभापतिहरूलाई निर्देशन दिएका छन् ।
‘नवीकरणका लागि योग्य व्यक्तिको कुनै कारणले नवीकरण रोकिएमा निजले सदस्यता नम्बर र शुल्कसहित सदस्यता व्यवस्थापन केन्द्रीय समितिमा निवेदन दिएमा केन्द्रीय कार्यालयबाट नै सदस्यता नवीकरण गर्न सक्ने निर्णय भएको हुँदा कसैको पनि नवीकरण नरोक्ने गरी आवश्यक व्यवस्था र मातहतका समितिमा समन्वय गर्नु गराउनु होला,’ थापाले गरेको परिपत्रमा लेखिएको छ ।
नयाँ क्रियाशील सदस्यता वितरणका लागि प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई नै सिधै सदस्यता फारम पठाइएको उल्लेख गर्दै थापाले परिपत्रमा एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाले १० पुसभित्र र दुईभन्दा बढी निर्वाचन क्षेत्र भएकाले जिल्लाले ११ पुसमा सम्पूर्ण प्रक्रिया पूरा गरेर नामावली प्रकाशन गरी केन्द्रमा पठाउन भनेका छन् ।
- नयाँ क्रियाशील सदस्यतामा पनि थापाले मिचे कार्यतालिका
थापा नेतृत्वको समितिले क्रियाशील सदस्यता नवीकरणमा मात्रै होइन नयाँ क्रियाशील सदस्यताको फाराम पठाउने विषयमा पनि कार्यतालिका मिचेको छ ।
केन्द्रीय कार्यसमितिले पार्टीको केन्द्रबाट मंसिर २० गतेभित्र नया क्रियाशील सदस्यता वितरण गरिसक्ने उल्लेख छ । तर, बुधबार यो समाचार तयार पार्दासम्म १५ बढी निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको फाराम पुगेको छैन । समिति सदस्य गुरुङले मंगलबार नयाँ क्रियाशील सदस्यताको फाराम पुर्याउन नसकेका १९ निर्वाचन क्षेत्रमध्ये केहीले मात्रै लगेको जानकारी दिइन् ।

‘मंलबार फाराम नपुगेका भन्दै सार्वजनिक भएका १९ मध्य केहीले मात्रै लगेका छन् । अरुको बाँकी नै छ,’ गुरुङले भनिन्, ‘धेरैको सदस्यता शुल्क पनि आउन बाँकी देखिएको छ ।’
समितिले मंगलबार रातोपाटीलाई उपलब्ध गराएको तथ्यांक अनुसार १४ जिल्लाका १९ निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यताको फाराम पुगेको छैन ।
एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको ताप्लेजुङ, झापाका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २, ३, ४ र ५, मोरङको क्षेत्र नम्बर ३, खोटाङमा क्रियाशील सदस्यताको फाराम नपुगेको समितिले जनाएको छ ।
त्यस्तै सप्तरीको क्षेत्र नम्बर ३, सिरहाको क्षेत्र नम्बर ४, रौतहटको क्षेत्र नम्बर ३, बाराको क्षेत्र नम्बर २ र ४, पर्साको क्षेत्र नम्बर १ मा फाराम पुगेको छैन । रामेछाप, मुस्ताङ, नवलपुरको क्षेत्र नम्बर १ र २, स्याङ्जा क्षेत्र नम्बर १ तथा डोल्पा र जुम्लामा क्रियाशील सदस्यताको फाराम पुगेको छैन ।
पठाउन बाँकी रहेका निर्वाचन क्षेत्रमा पठाउने प्रयास भइरहेको समितिका अर्का सदस्य चौधरीले जानकारी दिए ।
त्यस्तै केन्द्रीय समितिले पारित गरेको कार्यतालिकामा मंसिर २४ गतेसम्म प्रतिनिधि सभा क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यताको फारम पठाउने अवधि तोकेको थियो । त्यो काम पनि अहिलेसम्म पूरा हुन नसकेको चौधरीले बताए । त्यो कार्यलाई अन्तिम रूप दिन आफूहरू निरन्तर बैठकमा नै रहेको चौधरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण