बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

दक्षिणी थाइल्यान्डमा सुरक्षा चौकीमाथि आक्रमण, ५ जना सैनिकको मृत्यु

बिहीबार, ०७ साउन २०८३, १३ : ०१
बिहीबार, ०७ साउन २०८३

सारांश

  • दक्षिणी थाइल्यान्डको नाराथिवाट प्रान्तमा विद्रोहीहरूले सुरक्षा चौकीमा गरेको आक्रमणमा ५ जना अर्धसैनिकको मृत्यु भएको छ भने ६ जना सर्वसाधारण घाइते भएका छन् ।
  • आक्रमणकारीले सुरक्षा चौकीबाट तीनवटा एके-४७ राइफल, तीनवटा बुलेटप्रुफ ज्याकेट र केही मोबाइल फोन लिएर फरार भएको थाई सेनाले जनाएको छ ।
  • यो घटना हुनुभन्दा एक दिनअघि पनि नाराथिवाटकै अर्को क्षेत्रमा रहेको पूर्व तान्योङ प्रहरी चौकी बाहिर कार बम विस्फोट भएको थियो ।

बैंकक । दक्षिणी थाइल्यान्डको नाराथिवाट प्रान्तमा विद्रोहीहरूले सुरक्षा चौकीमा गरेको आक्रमणमा ५ जना अर्धसैनिकको मृत्यु भएको छ भने ६ जना सर्वसाधारण घाइते भएका छन् । थाई सेनाका अनुसार यो आक्रमण बुधबार साँझ बुकेटा सामी सुरक्षा चौकीमा भएको हो । 

सैन्य अधिकारीहरूका अनुसार करिब १० जना आक्रमणकारी कालो कपडा र कालो टोपी लगाएर पिकअप गाडी तथा मोटरसाइकलमा घटनास्थल पुगेका थिए । उनीहरूले सुरक्षा चौकीमा खटिएका टास्क फोर्स रेन्जर रेजिमेन्ट–४५ का सुरक्षाकर्मीमाथि स्वचालित हतियारबाट गोली प्रहार गर्नुका साथै पाइप बमसमेत प्रयोग गरेका थिए ।

आक्रमणपछि उनीहरूले चौकीबाट तीनवटा एके–४७ राइफल, तीनवटा बुलेटप्रुफ ज्याकेट र केही मोबाइल फोन लिएर फरार भएको थाई सेनाले जनाएको छ । सुरक्षाकर्मीहरूले पछि घटनास्थलबाट करिब २१ किलोमिटर टाढा आक्रमणमा प्रयोग गरिएको पिकअप गाडी फेला पारेका थिए । उक्त गाडी आगजनी गरेर छोडिएको अवस्थामा भेटिएको थियो । 

घटनाको जिम्मेवारी हालसम्म कुनै समूहले लिएको छैन भने प्रहरीले कसैलाई पक्राउ गरेको जानकारी पनि दिएको छैन ।

थाई सरकारले यस घटनालाई आतङ्कवादी आक्रमणको संज्ञा दिएको छ । सरकारी प्रवक्ता राचाडा धनादिरेकले जारी गरेको विज्ञप्तिमा यस्तो हिंसात्मक गतिविधिले राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न गर्नुका साथै दक्षिणी क्षेत्रमा शान्ति प्रक्रिया पुनः सुरु गर्ने प्रयासलाई कमजोर बनाएको उल्लेख गरिएको छ । 

थाई सेनाले आक्रमणमा ज्यान गुमाएका सैनिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको सेवा र बलिदान सधैँ सम्मानपूर्वक सम्झिने जनाएको छ । हालका वर्षहरूमा थाई सुरक्षाकर्मीमाथि भएको यो सबैभन्दा घातक आक्रमणमध्ये एक मानिएको छ । यसले दक्षिणी सीमावर्ती क्षेत्रमा फेरि हिंसा बढ्न थालेको चिन्ता पनि बढाएको छ ।

यो घटना हुनुभन्दा एक दिनअघि पनि नाराथिवाटकै अर्को क्षेत्रमा रहेको पूर्व तान्योङ प्रहरी चौकी बाहिर कार बम विस्फोट भएको थियो । त्यस घटनामा एक जना प्रहरी घाइते भएका थिए भने भवनमा क्षति पुगेको थियो । 

प्रहरीले कार बम विस्फोटपछि मोटरसाइकलमा भागेका दुई जना संदिग्धको खोजी गरिरहेको जनाएको छ । थाइल्यान्डको द नेसनका अनुसार यो वर्ष दक्षिणी सीमावर्ती क्षेत्रमा भएको यो पहिलो कार बम विस्फोट हो । 

नाराथिवाट, पट्टानी र याला प्रान्तमा मुख्य रूपमा मलाय मूलका मुस्लिम समुदायको बसोबास छ । यी क्षेत्र सन् २००४ देखि सशस्त्र पृथकतावादी आन्दोलनको केन्द्र बनेका छन् । त्यसयता जारी हिंसामा सर्वसाधारण, सुरक्षाकर्मी तथा विद्रोहीसहित सात हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप