शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रौतहट–२ मा कांग्रेसबाट फिरदोश एकल सिफारिस, तीन क्षेत्रको टुङ्गो लाग्न बाँकी

शुक्रबार, २६ मङ्सिर २०८२, ०९ : १८
शुक्रबार, २६ मङ्सिर २०८२

सारांश

  • फागुन २१ मा हुने निर्वाचनका लागि रौतहट २ मा डाक्टर फिरफोश आलमको एकल नाम सिफारिस गरियो।
  • क्षेत्रीय कार्यकर्ता भेलाले आलमको सक्रियता, नेतृत्व क्षमता र क्षेत्रप्रतिको जिम्मेवारीलाई मूल्याङ्कन गर्‍यो।
  • २०७९ को निर्वाचनमा आलम स्वतन्त्र उम्मेदवारसँग पराजित भएका थिए, र समानुपातिक तर्फ ५ जनाको नाम सिफारिस गरियो।

रौतहट । आगामी फागुन २१ हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट संसदीय निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेस पार्टीबाट प्रत्यक्ष तर्फ डाक्टर फिरदोश आलमको एकल नाम सिफारिस गरिएको छ ।

क्षेत्र २ को राजपुरमा बिहीबार आयोजित क्षेत्रीय कार्यकर्ता भेलाले  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डा फिरदोश आलमको एकल नाम सर्वसहमतिमा उम्मेदवारको रुपमा सिफारिस गर्ने निर्णय भएको कांग्रेस जिल्ला सभापति सुनिल कुमार यादव (जितेन्द्र)ले रातोपाटीलाई बताए।

स्थानीय तहका पदाधिकारी, वडा प्रतिनिधि, क्षेत्रीय समिति सदस्य तथा कार्यकर्ताहरूको भेलाले डा आलमले संगठनमा देखाउँदै आएको निरन्तर सक्रियता, जनसमस्याका विषयमा लिएको पहल, विकास अभियानमा देखिएको नेतृत्व क्षमता तथा क्षेत्रप्रतिको जिम्मेवारीलाई उच्च मूल्याङ्कन गरेको जिल्ला सभापति यादवले जानकारी दिए।डाक्टर फिरदोश आलम स्वर्गीय नेता पूर्व मन्त्री अहमद आफताब आलमका जेठा छोरा हुन्।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस पार्टीबाट उम्मेदवार आलम स्वतन्त्र उम्मेदवार किरण साहसँग पराजित भएका थिए।

त्यसै गरी भेलाले क्षेत्र २ बाट समानुपातिक तर्फ पाँचजनाको नाम सिफारिस गरेको छ। समानुपातिक तर्फ रामलोचन कलवार, रामचन्द्र गिरी, शेख लालबाबु, ग्रीस नन्दन कुमार सिंह र शोभा कुमारीको नाम सिफारिस गरेको जिल्ला सभापति यादवले जानकारी दिएका छन्।

रौतहटको ४ निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर १ ,३, ४ मा एक दुईदिन भित्रै क्षेत्रीय भेलाहुने र भेलाबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्ने योजना रहेको नेपाली कांग्रेस जिल्ला कमिटी रौतहटका सचिव रामचन्द्र गिरीले जानकारी दिएका छन्। उक्त क्षेत्रहरूमा प्रत्यक्ष तथा समानुपातिक तर्फ बढी आकांक्षी देखिएकाले केही ढिलाइ भएको एकजना कांग्रेस नेताले बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप