रामपुर खाप नाका सञ्चालनको माग गर्दै अनिश्चितकालीन आमरण अनशन सुरु
सारांश
- रौतहटको परोहा नगरपालिकामा छोटी भन्सार कार्यालय पुनः सञ्चालनको माग गर्दै सिमाना सङ्घर्ष समितिले आमरण अनशन सुरु गरेको छ।
- स्थानीयका अनुसार, कोरोना महामारीका बेला बन्द भएको नाका लामो समय बितिसक्दा पनि नखुलेपछि स्थानीयहरूले गुनासो गरेका छन्।
- छोटी भन्सार सञ्चालन नहुँदा साना व्यापारीहरू अवैध रूपमा सामान ल्याउन बाध्य छन् भने ठुला व्यापारीहरू सदरमुकाम पुग्न बाध्य छन्।
रौतहट। भारतसँग सीमा जोडिएको रौतहटको परोहा नगरपालिका–९ रामपुर खापमा रहेको छोटी भन्सार कार्यालय पुनः सञ्चालन र सहज रूपमा सवारी साधन आवागमनको माग गर्दै सिमाना सङ्घर्ष समितिले अनिश्चितकालीन आमरण अनशन सुरु गरेको छ।
समितिका अध्यक्ष तथा पूर्व शिक्षक हाजी शेख तजमुल हकले आइतबार बेलुका करिब ३ बजेदेखि रामपुर खाप छोटी भन्सार कार्यालयको प्राङ्गणमा आमरण अनशन सुरु गरेका हुन्। समितिले सोमबारदेखि पूर्व गाविस उपाध्यक्ष जगत लाल यादव र समाजसेवी साहेब शाह कानु पनि अनशनमा सहभागी हुने कार्यक्रम रहेको बताएको छ।
स्थानीयका अनुसार कोरोना महामारीको समयमा सशस्त्र प्रहरी बलको बीओपी रामपुर खाप र भारतीय सीमा सुरक्षा बल एसएसबीले सो नाकाबाट चारपाङ्ग्रे सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द गरेका थिए। महामारी समाप्त भएको लामो समय बितिसक्दा पनि सीमा नाका सञ्चालन नभएको भन्दै स्थानीयले गुनासो व्यक्त गरेका छन्।
रामपुर खाप नाकाबाट भारततर्फ चारपाङ्ग्रे सवारी आवतजावत सहज नहुँदा सीमावर्ती गाउँका बासिन्दाहरू विवाह, काजक्रिया, उपचार, घरायसी कामकाज तथा दैनिक किनबेचका लागि समस्यामा परिरहेको समितिको भनाइ छ।
दशकौँदेखि सञ्चालनमा रहेको रामपुर खाप छोटी भन्सार सरकार र माओवादी द्वन्द्वको समयमा असुरक्षाको कारण देखाउँदै जिल्ला भन्सार कार्यालय गौरमा गाभिएको थियो। छोटी भन्सार हटेको झन्डै दुई दशक बित्न लाग्दा पनि पुनः स्थापना हुन सकेको छैन।

उक्त स्थानमा छोटी भन्सार सञ्चालन नहुँदा साना व्यापारीहरू बाध्य भएर भारतीय सामान अवैध रूपमा नेपाल भित्र्याउने गरेका छन्। त्यस्तै ठुला व्यापारी भारतीय सामानको भन्सार कटाउन ३० किलोमिटर टाढा सदरमुकाम गौर पुग्नुपरेको स्थानीयले बताएका छन्। रामपुर खापमा भन्सार सञ्चालन नहुँदा एकातर्फ सरकारी राजस्व चुहावट भइरहेको र अर्कोतर्फ सो क्षेत्रको व्यापार व्यवसाय प्रभावित भएको उनीहरूको गुनासो छ।
यसअघि गत वर्ष पनि सोही माग राख्दै स्थानीयले आमरण अनशन सुरु गरेका थिए। तर तत्कालीन सहायक सिडिओ, नेपाल प्रहरीका एसपी, सशस्त्र प्रहरीका एसपीले मौखिक आश्वासन दिएपछि अनशन तोडिएको थियो। करिब एक वर्ष बितिसक्दा पनि कुनै ठोस पहल नभएपछि पुनः आमरण अनशन गर्न बाध्य भएको समितिले जनाएको छ।
आइतबारदेखि सुरु भएको अनशनप्रति सरोकारवाला निकायबाट कुनै चासो नदेखाइएको भन्दै स्थानीय सर्वसाधारणले असन्तुष्टि व्यक्त गरेका छन्। समयमै ध्यान नदिए मानवीय क्षति हुन सक्ने चेतावनी दिँदै त्यसको सम्पूर्ण जिम्मेवारी जिल्ला प्रशासन कार्यालयका प्रमुखले लिनुपर्ने समितिको माग छ।
यसैबिच, क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा प्रत्याशी तथा पार्टीबाट एकल सिफारिस उम्मेदवार डा. फिरदोश आलमले भारतसँग जोडिएको रामपुर खापस्थित छोटी भन्सार नाका तत्काल पुनः सञ्चालन गर्न सरकारसँग जोडदार माग गरेका छन्। आइतबार दिउँसो धर्नास्थल पुगेर आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै डा. आलमले उक्त नाका खोल्न तथा चारपाङ्ग्रे सवारी साधनको आवतजावत पुनः सुचारु गराउन स्थानीय प्रशासन र केन्द्र सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण