शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

पारम्परिक चिकित्सासम्बन्धी दोस्रो डब्लुएचओ ग्लोबल समिट बुधबारदेखि आयोजना हुँदै

मङ्गलबार, ०१ पुस २०८२, १५ : ४५
मङ्गलबार, ०१ पुस २०८२

सारांश

  • भारतले डिसेम्बर १७-१९, २०२५ मा नयाँ दिल्लीमा दोस्रो डब्ल्यूएचओ ग्लोबल समिट आयोजना गर्दैछ।
  • आयुष राज्यमन्त्रीका अनुसार, यस सम्मेलनले परम्परागत चिकित्सालाई मुख्य प्रवाहमा ल्याउनेछ।
  • सम्मेलनको विषय 'सन्तुलन पुनर्स्थापित गर्दै: स्वास्थ्य र कल्याणको विज्ञान र अभ्यास' रहनेछ, जसमा नेपालसहित १०० भन्दा बढी देशको सहभागिता हुनेछ।

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीस्थति भारत मण्डपम्मा डिसेम्बर १७ देखि १९ सम्म पारम्परिक चिकित्सासम्बन्धी दोस्रो विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ग्लोबल समिट आयोजना हुँदैछ।

आयुष राज्यमन्त्री (स्वतन्त्र प्रभार) प्रतापराव जाधवका अनुसार सन् २०२३ मा गुजरातमा पहिलो संस्करण सफल आयोजना गरिसकेपछि भारत दोस्रो ग्लोबल समिटको आयोजना गर्न पाएकोमा गौरवान्वित छ। उनले यो शिखर सम्मेलन पारम्परिक चिकित्सालाई मुख्य प्रवाहमा ल्याउने प्रयासहरूमा एक महत्त्वपूर्ण कोसेढुङ्गा भएको र यो भारतको ‘सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः’ को दृष्टिकोणसँग मेल खाएको बताए।

जाधवका अनुसार यस वर्षको सम्मेलनको विषय "सन्तुलन पुनर्स्थापित गर्दै: स्वास्थ्य र कल्याणको विज्ञान र अभ्यास" रहेको छ। यस विषयले मन्त्रीहरू, नीति निर्माताहरू, विश्वव्यापी स्वास्थ्य नेताहरू, अनुसन्धानकर्ताहरू, उद्योग प्रतिनिधिहरू र चिकित्सकहरू समावेश भएका छलफलहरूलाई मार्गदर्शन गर्नेछ। सम्मेलनमा नेपालसहित १०० भन्दा बढी देशहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

‘भारत र नेपालले ज्ञान, विशेषज्ञता आदानप्रदान र क्षमता निर्माणमार्फत आयुर्वेदमा सहयोग प्रवर्द्धन गर्न विभिन्न पहलहरू गरिरहेका छन्,’ नेपालस्थति भारतीय दूतावासले आफ्नो सामाजिक सञ्जालमा भनेको छ ।

मन्त्री जाधवका अनुसार आयुष मन्त्रालयले भारतको सबैभन्दा प्रसिद्ध औषधीय वनस्पति अश्वगन्धा माथि एउटा विशेष साइड इभेन्ट आयोजना गर्नेछ, जसमा परम्परागत ज्ञान र आधुनिक वैज्ञानिक अनुसन्धान दुवै प्रदर्शन गरिनेछ।

उनले आयुर्वेद, योग र नेचुरोप्याथी, युनानी, सिद्ध, सोवा-रिग्पा र होमियोप्याथी जस्ता आयुष प्रणालीहरूले विश्वव्यापी मान्यता प्राप्त गरिरहेकोले भारतले पारम्परिक चिकित्सामा विश्वव्यापी प्रयासहरूको नेतृत्व गरिरहेको बताए। उनले जामनगरमा डब्ल्यूएचओ ग्लोबल ट्रेडिशनल मेडिसिन सेन्टरको स्थापनाले भारतको पारम्परिक ज्ञान प्रणालीमाथि अन्तर्राष्ट्रिय विश्वास झल्काएको पनि बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप