शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण, कुन प्रदेशमा कहाँ ?

बुधबार, ०२ पुस २०८२, २१ : ०७
बुधबार, ०२ पुस २०८२

काठमाडौँ । निर्वाचन आयोग नेपालले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकेको छ । आयोगले आज सातवटै प्रदेशका लागि मतदानस्थल निर्धारण गरिएको सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । 

उनले भने, “आयोगले सातवटै प्रदेशको राजधानी रहेका जिल्लामा मतदानस्थल रहनेगरी स्थान तोकिसकेको छ, तोकिएका मतदानस्थलमा दुई–दुई वटा मतदान केन्द्र रहने व्यवस्था मिलाइएको छ ।” जसमा निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचन मण्डलले मतदान गर्ने व्यवस्था रहेको छ भने मतदान केन्द्र ‘क’ प्रदेशसभाका सदस्यका लागि र मतदान केन्द्र ‘ख’ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि तोकिएको छ ।

आयोगद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका वडा ४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका–४ मकवानपुर, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा कास्कीमा प्रदेशको मतदान केन्द्र तोनिएको छ ।”

त्यसैगरी, आयोगले लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र, घोराही, दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी, कैलालीमा तोकिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप