शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
एमाले महाधिवेशन

एमाले महाधिवेशन: कर्णालीका लागि सुखद, इतिहासमै पहिलो पटक पदाधिकारीमा स्थान

२४ केन्द्रीय सदस्य पाउँदा जिल्लामा भने कतै ८ वटासम्म, कतै रित्तो
शुक्रबार, ०४ पुस २०८२, १० : १०
शुक्रबार, ०४ पुस २०८२

सारांश

  • एमालेको ११औँ महाधिवेशनमा कर्णाली प्रदेशले केन्द्रीय राजनीतिमा बलियो उपस्थिति जनाएको छ, जसमा एक पदाधिकारी र २४ केन्द्रीय सदस्य निर्वाचित भए।
  • कर्णाली प्रदेशबाट यामलाल कँडेल सचिवमा निर्वाचित भएसँगै एमालेको केन्द्रीय पदाधिकारीमा स्थान सुरक्षित भएको छ।
  • महाधिवेशनमा कर्णालीका अधिकांश उम्मेदवारले अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट टिकट पाएर जित हासिल गरे, तर केही नेताहरू पराजित भए।

सुर्खेत । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशन कर्णाली प्रदेशका लागि ऐतिहासिक र सुखद रह्यो । बिहीबार सार्वजनिक मतपरिणाम अनुसार एमालेको केन्द्रीय राजनीतिमा एक पदाधिकारी र २४ केन्द्रीय सदस्यसहित बलियो उपस्थिति जनाएको हो ।

इतिहासमै पहिलो पटक कर्णाली प्रदेशले एमालेको पदाधिकारीमा स्थान पाएको छ । एमाले कर्णालीका नेता यामलाल कँडेल सचिव पदमा निर्वाचित भएसँगै कर्णालीले केन्द्रमा पदाधिकारी सुरक्षित गरेको हो । अन्य प्रदेशले एमालेको केन्द्रीय पदाधिकारीमा स्थान ओगटिसक्दा कर्णालीले अहिलेसम्म स्थायी कमिटी र केन्द्रीय सदस्यमै सीमित थियो । 

एमालेको लामो इतिहासमा यो पटक कर्णालीले स्थान पायो भने केन्द्रीय पदाधिकारीमा पुग्ने कँडेल कर्णालीका पहिलो नेता बनेको बताउँछन्, एमाले प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाह । 

उनका अनुसार, यो पटक सुरुवातदेखिनै कर्णालीले सशक्त रूपमा पदाधिकारीका लागि आवाज उठाउँदै आएको थियो । सोही अनुसार, सिङ्गो कर्णाली पार्टी अध्यक्ष केपी शर्मा ओलीकै लाइनमा थियो । परिणाम स्वरूप अधिकांशले ओली प्यानलबाटै टिकट पाएर लडे भने सचिव पद कर्णालीले सुरक्षित गर्न सफल भएको उनी बताउँछन् ।

केन्द्रीय सदस्यमा विजयी भएका रुद्रबहादुर शाही एमालेको ११ औँ महाधिवेशन कर्णालीका लाई सुखद रहेको बताउँछन् ।

‘कर्णाली हिजोदेखि पछाडि पारिएको क्षेत्र हो, अन्य राजनीतिक दलमा कर्णाली नेताहरूको सशक्त स्थान हुँदा एमालेको थिएन,’ उनी भन्छन्, ‘यो पटक पार्टीभित्रको राष्ट्रिय राजनीतिमा पाइला टेक्यो, कर्णालीले । आगामी दिनमा अझ सशक्त बनाउने अवसर हामीलाई आएको छ ।’

महाधिवेशनले कर्णालीमा एमालेलाई साङ्गठनिक र जनमतका हिसाबले अझै बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्न हौसला प्रदान गरेको पनि उनी बताउँछन् ।

कर्णाली प्रदेशको भूगोलतर्फको कोटामा एमाले संस्थापन पक्षले ‘क्लिन स्वीप’ नै गर्‍यो । भूगोलतर्फका खुला, महिला र ४० वर्ष मुनिको खुला केन्द्रीय सदस्य पदमा ओली प्यानलका सबै उम्मेदवार फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

महाधिवेशनमा कर्णालीबाट निर्वाचित सबै प्रतिनिधिहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीको संस्थापन प्यानलका हुन् । अध्यक्ष ओलीको समूहबाट टिकट पाएका कर्णालीका २७ जना उम्मेदवारमध्ये २५ जनाले जित हासिल गरे । जसमा १ पदाधिकारी (सचिव), २३ केन्द्रीय सदस्य र १ जना लेखा आयोगका सदस्य रहेका छन् ।

कर्णाली प्रदेशको भूगोलतर्फको कोटामा एमाले संस्थापन पक्षले ‘क्लिन स्वीप’ नै गर्‍यो । भूगोलतर्फका खुला, महिला र ४० वर्ष मुनिको खुला केन्द्रीय सदस्य पदमा ओली प्यानलका सबै उम्मेदवार फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

यद्यपि, खुला केन्द्रीय सदस्यतर्फ प्रतिस्पर्धा गरेका कर्णालीका दुई नेताहरू लक्ष्मी प्रसाद पोखरेल र धर्मराज रेग्मी भने पराजित भए । उनीहरू यसअघि केन्द्रीय सदस्य भइसकेका नेताहरू हुन् ।

निर्वाचित केन्द्रीय सदस्यहरूमा भूगोल, समावेशी (आदिवासी/जनजाति, दलित, पिछडिएको क्षेत्र) र खुला क्षेत्रबाट प्रतिनिधित्व रहेको छ ।

कर्णालीबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पूर्ण विवरण

पदाधिकारी (सचिव)

१) यामलाल कँडेल

केन्द्रीय सदस्य—कर्णाली भूगोल (खुला) तर्फ

२) जित बहादुर मल्ल (१९५६ मत)

३) विष्णु रिजाल (१७९० मत)

४) नवराज रावत (१७४८ मत)

५) दल फडेरा (१६०९ मत)

६) डम्बर बहादुर सिंह (१५८८ मत)

केन्द्रीय सदस्य—कर्णाली भूगोल (महिला) तर्फ

७) मोहनमाया ढकाल (भण्डारी) (१९२३ मत)

८) इन्दिरा कुमारी पन्थी (सञ्ज्याल) (१८५२ मत)

९) मिनासिंह रखाल (१८१४ मत)

केन्द्रीय सदस्य—कर्णाली भूगोल (४० वर्ष मुनि)

१०) रुद्रबहादुर शाही (१४१६ मत)

केन्द्रीय सदस्य (आदिवासी/जनजाति)

११) सीपी घर्ती (१४७५ मत)

१२) गोविन्द पुन (१४३२ मत)

केन्द्रीय सदस्य (दलित)

१३) दानसिंह परियार (१४७५ मत)

१४) पार्वती विशुंखे (१८९५ मत)

केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र/खुला)

१५) नागिन्द्र शाही (नेशनल) (१५०२ मत)

१६) वद्मीकुमारी बोहोरा (निर्विरोध)

केन्द्रीय सदस्य (खुला क्षेत्र)

१७) निरज आचार्य (१३५६ मत)

१८) गोरख बोगटी (१३४५ मत)

१९) दल रावल (११९३ मत)

२०) मीनबहादुर शाही (१०२७ मत)

२१) राजबहादुर बुढाक्षेत्री (१०२७ मत)

केन्द्रीय सदस्य (युवा)

२२) सुशील थापा (निर्विरोध)

केन्द्रीय सदस्य (महिला)

२३) सूर्यकुमारी श्रेष्ठ (१७६१ मत)

२४) पद्मा खड्का (१७५२ मत)

केन्द्रीय लेखा आयोग (सदस्य)

२५) नन्दा कुमारी आचार्य (१६६० मत)

दैलेखको दबदबा, रुकुम पश्चिम र जुम्ला खाली

कर्णाली प्रदेशका १० जिल्लामध्ये एमाले महाधिवेशनमा प्रतिनिधित्वको असमान दृश्य देखिएको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको दैलेख जिल्लालाई अध्यक्ष केपी ओली समूहले १० वटा टिकट दियो, जसमा ८ जनाले केन्द्रीय सदस्य पद जिते । दुई जनाले हारे । तर, भौगोलिक र रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने जुम्ला र रुकुम पश्चिमले भने केन्द्रीय समितिमा कुनै स्थान पाएनन् । यसप्रति स्थानीय नेताहरूले गम्भीर गुनासो पोखेका छन् ।

माओवादी केन्द्रको आधार इलाका मानिने रुकुम पश्चिममा एमालेको सङ्गठन विस्तार गर्न पार्टी केन्द्रले विशेष भूमिका खेल्नुपर्नेमा स्थानीय नेताहरूको जोड थियो । तर, महाधिवेशनबाट एक जना पनि केन्द्रीय सदस्य नसमेटिएपछि त्यहाँका नेता–कार्यकर्ता निराश बनेका छन् ।

तथ्याङ्क हेर्दा, सुर्खेतले एक पदाधिकारीसहित ३ केन्द्रीय सदस्य, कालिकोट, जाजरकोट र हुम्लाले ३/३ सदस्य पाएका छन् भने मुगुले दुई तथा सल्यान र डोल्पाले १/१ सदस्यमा चित्त बुझाएका छन् ।

जुम्लाका एक नेताका अनुसार, सुरुमा दैलेखको कोटा घटाएर जुम्लालाई समेट्ने चर्चा चले पनि अन्तिममा त्यो निर्णय कार्यान्वयन भएन । विद्यार्थी राजनीतिबाट उदाएकी जुम्लाकी युवा नेतृ मेनका पछाईले १०औँ महाधिवेशनदेखि नै केन्द्रीय सदस्यको तयारी गरेकी थिइन् । तर, यसपटक उनले ओली समूहको आधिकारिक सूचीमा स्थान पाइनन् ।

टिकट नपाए पनि उनले कर्णाली भूगोल (महिला) तर्फ उम्मेदवारी दिइन् । तर, १०९२ मत ल्याए पनि जित्न सकिनन् । उक्त क्लस्टरमा ओली समूहबाट टिकट पाएका सुर्खेतकी मोहनमाया ढकाल, कालिकोटकी इन्दिरा कुमारी पन्थी र दैलेखकी मिना रखाल भने निर्वाचित भए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप