बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
एमाले महाधिवेशन

कर्णालीबाट ‘ओली समूह’का ५ नेता खुला केन्द्रीय सदस्यमा निर्वाचित, लक्ष्मी र धर्मराज पराजित

बिहीबार, ०३ पुस २०८२, १८ : ०३
बिहीबार, ०३ पुस २०८२

सारांश

  • नेकपा एमालेको महाधिवेशनबाट कर्णाली प्रदेशका ५ जना नेता खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
  • निर्वाचित हुनेमा गोरख बोगटी र निरज आचार्य लगायत छन् भने लक्ष्मीप्रसाद पोखरेल र धर्मराज रेग्मी पराजित भए।
  • जाजरकोटका निरज आचार्यले सर्वाधिक मत प्राप्त गरे भने यामलाल कँडेलको विरोधी खेमाका गोरख बोगटी पनि निर्वाचित भए।

सुर्खेत । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट कर्णाली प्रदेशका ५ जना नेताहरू खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 

बिहीबार सार्वजनिक मत परिणामअनुसार अध्यक्ष केपी शर्मा ओलीको समूहबाट खुला केन्द्रीय सदस्यमा टिकट पाएर उम्मेदवारी दिएका कर्णालीका ७ जना नेतामध्ये ५ जनाले बाजी मारेका छन् भने २ जना पराजित भएका छन् ।

निर्वाचित हुनेमा गोरख बोगटीदेखि युवा नेता निरज आचार्यसम्म रहेका छन् भने दैलेखका पाका नेता लक्ष्मीप्रसाद पोखरेल र पूर्व माओवादी खेमाका धर्मराज रेग्मीले हार व्यहोरेका छन् ।

कर्णालीबाट उम्मेदवार बनेकाहरू मध्ये जाजरकोटका निरज आचार्यले सबैभन्दा बढी मत प्राप्त गरेका छन् । उनले १,३५६ मतसहित शानदार जित हासिल गरे ।

यस्तै, एमाले कर्णालीको राजनीतिमा यामलाल कँडेलको विरोधी खेमाको नेतृत्व गर्ने प्रभावशाली नेता गोरख बोगटी पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । 

यसअघि स्थायी कमिटी सदस्य रहेका बोगटीलाई महाधिवेशनमा पदाधिकारीकै रूपमा चर्चा गरिए पनि अन्ततः उनले केन्द्रीय सदस्यको टिकट पाएका थिए । बोगटीले १,३४५ मत प्राप्त गरेका छन् ।

यसैगरी, हुम्लाका दल रावलले १,१९३ मत ल्याएर आफ्नो जित सुनिश्चित गरे । उनी यसअघि पनि केन्द्रीय सदस्य थिए ।

त्यस्तै, दैलेखका राजबहादुर बुढाक्षेत्री र कालिकोटका मिनबहादुर शाहीले समान १,०२७ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । बुढाक्षेत्री यसअघि पनि पार्टीको केन्द्रीय सदस्य रहेका थिए ।

ओली समूहबाटै उम्मेदवार बने पनि दैलेखका पाका नेता लक्ष्मी प्रसाद पोखरेल फराकिलो मतान्तरले पराजित भए । यसअघि केन्द्रीय सदस्य तथा दैलेख जिल्ला इन्चार्ज समेत रहेका पोखरेलले मात्र ८४३ मत प्राप्त गरे ।

यस्तै, पूर्व माओवादी पृष्ठभूमि भएका नेता धर्मराज रेग्मी पनि केन्द्रीय सदस्य बन्न सकेनन् । उनले ९९२ मत प्राप्त गरे पनि जितका लागि त्यो पर्याप्त भएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप